सर्वनाम शिक्षालयमा ४ जिपिए ल्याउने विद्यार्थी १ लाख सहित सम्मानित



२४ असार २०७६, काठमाडौं

सर्वनाम शिक्षालय जोरपाटीले आफ्नो विद्यालयबाट जिपिए ४ ल्याउने छात्र टासी छिरिङ शेर्पालाई रु एक लाख सहित सम्मान गरेको छ ।

एसइइ परिक्षा २०७५ मा सहभागी सर्वनाम शिक्षालयका विद्यार्थी टासी छिरिङ शेर्पालाई विद्यालयले रु ५० हजार नगद र रु ५० हजार बराबरको छात्रवृत्ति दिने भएको हो । उक्त विद्यालय अन्तर्गत रहेको सर्वनाम कलेजमा शेर्पाले अध्ययन गर्न चाहेमा ५० हजार बराबरको छात्रवृत्ति पाउने जानकारी प्रधानाध्यापक डिएन (दुर्गानाथ) शिवकोटीले परिवर्तन खबरलाई बताए ।

मंगलबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रमेश अर्यालले सर्वनाम विद्यालय वडा मात्र नभएर नगरपालिकाको उत्कृष्ट विद्यालय बनेकोमा विद्यालय परिवारलाई बधाई दिएका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष अर्यालले जिपिए ४ ल्याउने विद्यार्थीलाई नगद रु ५० हजार पुरस्कार हस्तान्तरण गर्दा अत्यन्त खुशी भएको बताए ।

वडाध्यक्ष अर्याल भन्छन्, ‘विद्यालयबाट मात्र नभएर गोकर्णेश्वर नगरपालिकाबाट समेत उत्कृष्ट विद्यार्र्थीलाई सम्मान गरिनुपर्छ यो नगरको आवश्यकता हो ।’

पुरस्कर वितरण समारोहमा सर्वनामका प्रिन्सिपल दुर्गानाथ सिवाकोटीले आउने दिनमा विद्यालयले मात्र नभएर कलेजले समेत उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,‘आगामी दिनमा विद्यार्थीको शैक्षिक उन्नतिका लागि हरेक राम्रा कार्यक्रम राख्न आफुहरु सधै तत्पर रहनुका साथै राम्रा विद्यार्थी उत्पादन गर्न हरेक हप्ता विद्यार्र्थीको वृत्ति विकाससँग सम्बन्धित क्रियाकलाप गरि पुरस्कृत गर्ने बताए ।

जिपीए ४ ल्याउने टासी छिरिङ शेर्पाले सर्वनाम शिक्षालयमा पढ्न पाउँदा आफू भाग्यमानी रहेको बताए । विद्यालयमा हरेक प्रकारको उपयुक्त वातावरण दिएर अध्ययन गराएकोले आफू सफल भएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्