२७ अषाढ २०७६, काठमाडौं
लगातारको वर्षाबाट धेरै देशवासीहरु विस्थापित भइरहेका छन् ।
कत्तिको मृत्यु भएको छ भने, कत्तिपय ठाउँमा घाइते भएका छन् । त्यसैगरि भारी वर्षा कारण आएको बाढीले देशका मुख्य सडकखण्डहरु पनि बन्द भएका छन् ।
विभिन्न ठाउँमा घरहरु पनि भत्किएका छन् । विभिन्न नदीनाला, तालतलैया तथा खोलाखोल्सीहरुमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह सम्बन्धित निकायहरुले गरेका छन् ।
कहाँ कहाँ कस्तो घटनाहरु घटे?
महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो ।
त्यसैगरी यता, उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीको कारण काठमाडौंतर्फ आउने सवारी सबै घुर्मी बजारमै रोकिएका छन् ।
अधिकांश यात्रुहरु सोलुखुम्बु, खोटाङ र ओखलढुंगाबाट काठमाडौंतर्फ आउने र जाने छन् । दुईदिन सम्म बाटोमा नखुल्दा खर्च सकिँदै गएपछि यात्रुहरु विचल्लीमा परेका हुन् ।
यस्तै अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न वस्ती डुबानमा परेका हुन् ।
जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ ।
यस्तै काभ्रेमा पहिरोका कारण घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
अबिरल बर्षाका कारण उता सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा एक घर भत्किएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको अगाडि रहेको दावा फिन्जो शेर्पाको घर बिहीबार बिहान भत्किएको हो ।
त्यसैगरि यता काठमाडौंको मुलपानीमा अर्काको घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ ।
लपानी बाबाचोकमा पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको मृत्यु भएको हो ।
सतर्कता अपनाउन आग्रहः
विगत केही दिनदेखि लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न ठाउँहरुमा नेपाल बाढी सूचनाले उच्च सतर्कता अपनाउनुपर्ने भनी विज्ञप्ती निकालेको छ ।
विज्ञप्तीमा अझै दुईदिनसम्म लगातार वर्षाको सम्भावना रहेको बताएको छ ।
यस्तै नेशनल इमरजेन्सी अपरेशन सेन्टरले पनि उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ ।