२८ अषाढ २०७६, काठमाडौं
बिहीबारदेखिको लगातारको वर्षापछि आएको बाढीले रौतहट गौर बजार डुबानमा परेको छ ।
शुक्रबार दिनभरि परेको पानीले बजार क्षेत्र डुबानमा परेको हो । दशगजा क्षेत्रमा भारतीय पक्षले लगाएको बाँधका ढोका खोल्न नमान्दा गौर डुबानमा परेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षा समिति बैठक, जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक राख्न पनि समस्या भएको बताए ।
‘एक ठाउँबाट अर्को ठाउँमा सहजै जान सक्ने अवस्था छैन’ उनले भने । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रजिअ एकै ठाउँमा भेला हुन नसक्दा सुरक्षा समिति बैठक बस्न सकेको छैन ।
बजार क्षेत्रमा पानी घाँटीसम्म आइसकेको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध खोल्न ढिलाइ गरेको उनले बताए ।
‘मैले हिजोदेखि पटक–पटक बाँध खोलिदिन आग्रह गरेको हुँ,’ उनले भने, ‘बाँध खोल्ने हो भने पानी घट्छ ।’