विवेकको क्यानभासः जहाँ, दुनियाँ पोतिन्छन् ।



२९ अषाढ २०७६, काठमाडौं

एउटा यस्तो क्यानभास, जहाँ सयौँ स्वरूपहरू पोतिए । प्रधानमन्त्री केपी शर्मा ओली पोतिए । महानायक राजेश हमाल पोतिए । चर्चित पत्रकार रबी लामिछाने पोतिए । अनि पोतिए मेस्सीदेखि जोन सेनासम्म । त्योसँगैं पोतिए यी नदीनाला, बन, पाखापखेरा, हरियाली, तालतलैया अनि सिङ्गो विश्व ब्रह्माण्ड…

कति पातिईसके । कति पोतिन्छन् । अनि कति पोतिनेछन् । त्यही क्यानभासमा जहाँ एक कौशल कलाका बिलगेट्स ‘विवेक पाण्डे’ आसन छन् ।

एउटा सानो कोठा, कोठामा वरिपरि मिलाएर राखिएको केही पुस्तकहरू, एउटा पलङ्ग, पलङ्ग अगाडि एउटा  बेन्च बेन्चमाथि केही मनै लोभ्याउने रङ्गहरू, अनि त्योसँगै यत्रतत्र देखिन्छन् केही कुचीहरु । भद्रगोल देखिएका ती सामग्रीले धेरै व्यक्तित्वहरुको वास्तविक स्वरुप सङ्कलन गर्ने गर्छ ।

बेन्चभन्दा केही पर भित्तामा कुनै महँगो क्यामेराले प्रतिष्ठित व्यक्तिको तस्वीर कैद गरि टाँगिएर राखिएको जस्तो आभाष हुने केही तस्वीरहरू । ती सीपहरू हेर्दा लाग्छ, यो कुनै मान्छेले सामान्य रुपमा दुईओटा हातले बनाएको तस्वीर होइन ।

तर, त्यहाँ देखिएका ती सबै शिल्पमय तस्वीरहरु पाल्पाका ‘विवेक पाण्डे’ को हो ।

भनिन्छ, मान्छेलाई साधानाले पोख्त बनाउँछ ।  विवेकको क्षमतालाई हेरिरहँदा त्यो वाक्यांश पटकपटक सम्झन मन लाग्यो ।

उनी हातमा एउटा सेतो पाना लिन्छन् । केही कुचीहरु साथमा हुन्छन् । एउटा वास्तविक तस्वीर वा सबुत मान्छे छेवैमा हुन्छ । अनि लाग्छन्, अनेकन प्रकारले वास्तविक चित्र कोर्नतर्फ…

प्रारम्भको केही छिनपछि बन्छन् साँच्चै नै मनै लोभ्याउने चित्रहरू । एउटा क्वालिटी क्यामेराले कसैको तस्वीर कैद गरेजस्तै अपत्यारिला अनि मनछुने तस्वीरहरू ।

नियालिरहँदा लाग्छ उनी एउटा माहिर रङ्गकर्मी हुन् । जो कसैको निर्देशनमा निर्दिष्ट छन् । तर, होइनन् उनी एक स्वतन्त्र चित्रकार हुन् ।

जसले उतारे दुनियाँका चित्र अनि तस्वीरहरू ।

‘हुने विरुवाको चिल्लो पात’को तात्पर्य थिए सानैदेखि विवेक । पहिल्यैदेखि क्यानभासमा रमाउने बानी परेका उनलाई यो स्थानसम्म आइपुग्नु खासै त्यस्तो कडा मेहनतै गर्न परेन ।

५/६ वर्षअगाडि देखि यो क्षेत्रलाई आफ्नो मानेका उनले बिचको समयमा धेरै जना कलाकार, नेताहरु तथा आफन्तजनहरुको स्केच उतारिसकेका छन् ।

सुरुमा प्रेरणा कोबाट पाउनुभयो, यो कसरी सुरुवात गर्नुभयो भनेर मैले सोध्दा बडो मज्जासँग मुस्कुराउँदै एउटा कथा सुनाए ।

“इन्टरको परीक्षा सकियो, लामो विदा भयो । त्यही क्रममा एकजना केटी साथी जो मसँग सामाजिक सञ्जाल(फेसबुक म्यासेन्जर)मा बोल्ने गर्थिन् । उनले एकदिनको वार्तालापमा भनिन्, बाइ द वे, तिमी आर्टिस्ट भनेको होइन? मैले हो भावको स्टीकर धकेंले । उसले एउटा तस्वीर पठाई अनि भनिन् यसको स्केच चाहियो ।

मलाई गार्हो भयो, कहिल्यै मान्छेको अनुहार नबनाएको म । तर, घर, चराचुरुङ्गी तथा अन्य वस्तुहरुको भने राम्रै बनाउथें । अनि ५/६ चोटीको प्रयासपछि उसका अनुहार अनि यावत् चिजको आकार आएजस्तो भयो,अनि त्यहीँबाट यो यात्रा अगडि बढ्यो… ।’

मैले सोधेको प्रश्नको उत्तर सकिइसकेछ । म नतमस्तक सुनिरहेको थिए ।

उनले यो कथा सुनाइरहँदा आफ्नो आभारभूत सीपका गुरु गोपाल श्रेष्ठको नाम भने उच्चरण गर्न भुलेका थिएनन् । मध्यम पारिवारिक स्थितिका उनले आफ्नो बाबु नेपाल आर्मी भएको कुरा सुनाउँछन् ।

“म त अहिले केही पनि गर्दिन यत्तिकै बस्छु, अरुलाई मुस्कान बाँड्छु, अनि यसैगरि दिनचार्यहरु बित्छन् ।”

आजभोलिको समय कसरी कटाउनुहुन्छ? भनेर सोधेको मेरो प्रश्नमा आएको उनको यो जवाफ पनि सकियो ।

अँ साँच्ची कत्ति कमाउनुहुन्छ? स्केच त बडो गज्जब गर्नुहुन्छ है? सोधेको थिएँ, कुराकानीको दौडानमा ।

उनले पनि भनिहाले, ‘नाइ नाइ…मत अहिले सिकारु हुँ । सिक्दै छु । तरपनि केही आफ्नो व्यक्तिगत प्रायोजनका खर्चहरु भने पुग्छ ।’

मलाई अलमल लागिरहेको थियो । उनले चित्र बनाउँदा प्रयोग गर्ने सबै सामग्रीहरु नेपालमै पाइनेजस्तो थिएन । सोधिहालें, यी सामानहरु सबै नेपालमै पाइन्छ?

‘त्यत्तिकै पनि आर्टिस्ट लाइफ डिफिकल्टिज, त्यसमा पनि यो फिल्ड झनै गार्हो हुँदोरहेछ । कुनै कुनै सामानहरु बाहिरबाटै नै झिकाउनुपर्ने हुन्छ ।’ उनले भने ।

कुराकानीको दौडानमा सोधें, के तपाई स्केचमा भविष्य देख्नुहुन्छ? विवेक भन्छन्,  ‘भविष्य त आफूले बनाउने हो । भइहाल्छ नी । झनै पछिल्लो समय आर्टलाई बुझ्ने मान्छेहरु हुन्छन् । त्यसैले आशा छ, सबैले बुझ्नेछन् । अनि साथ दिनेछन् ।’

विवेकको परिश्रमलाई हेर्दा मैले ती विदेशी भूमिमा रहेका नेपाली दाजुभाईहरुलाई सम्झिरहेको थिएँ ।

भने, विवकेजी? ती जत्ति पनि हाम्रा नेपाली दाजुभाईहरु विदेशी भूमिमा हुनुहन्छ उहाँहरुको लागि के सन्देश छोड्नुहुन्छ?

उनले निर्धक्क रवाफिलो जनाफ दिए । ‘नेपाल फर्किनुहोस् आफूसङ्ग भएको सीपलाई वृद्धि गर्दै नेपालमै बाचौं । कुनै पनि कुरामा लगातार लागियो भने त्यसको परिणामस्वरुप केही न केही राम्रै हुन्छ ।’

अन्त्यमाः

विवेक आफैमा एक क्षमतावान् कलाकार हुन् । उनीजस्तो प्रतिभालाई राज्यले चिन्न सकेर साथमा लिन सक्यो भने नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सारथी बन्न नसक्लान् भन्न सकिन्न ।

त्यतिमात्रै पनि होइन । विवेकका ती स्केचहरुलाई प्रवर्द्धन गर्न सके  नेपालले आगामी वर्ष मनाउने नेपाल भ्रमण वर्षमा पो टेवा पुग्छ कि?

…कलाकारितामा सगरमाथाको यात्रा सुरु गरेका विवेकले कदापि केचनाको ओरालो झर्न नपरोस् ।

शुभकामना !!

प्रतिक्रिया दिनुहोस्