०१ साउन २०७६, काठमाडौँ
आजभोलीका मानिसले प्रेमलाई सामान्य रुपमा लिन थालेका छन् । अहिलेको पुस्ताको नजरमा प्रेम आत्मीय सम्बन्ध नभएर एउटा खेल जस्तो भएको छ । झट्ट हेर्दा कुनै केटालाई केटी या भनौ कुनै केटीलाई एउटा केटा मन पर्छ । उनीहरु सामाजिक सञ्जालका माध्यमबाट एकअर्कासँग नजिक हुन्छन्, केहीदिन मिठा गफगाफ गर्नुका साथै डेट पनि जान्छन् । तर केहीदिन पछि ब्रेकअप दिन्छन् ।
यस्तो खालको छ आजको युवापुस्ताको प्रेम । तर यो संसारमा यस्ता केही प्रेमजोडी पनि छन्, जसले वास्तविक प्रेमको अर्थ दिएका छन् । जर्मनमा बस्दै आएका ९४ बर्षे हर्बट र उनकी ८८ बर्षिया श्रीमती मर्लिनले आजभन्दा ७१ बर्ष अगाडी लभ म्यारिज गरेका थिए ।
हर्बट एक रेष्टुरेन्टमा दिनहुँ जान्थे । कस्तो संजोग, हर्बट जुन रेष्टुरेन्टमा दिनहुँ जान्थे त्यहि रेष्टुरेन्टमा मर्लिनले काम गर्थिन् । एकैपटकको हेराईमा हर्बटले मर्लिनलाई मन पराएका थिए । मर्लिनको पनि हर्बटलाई देखेर मन पग्लिएको थियो । हर्बटले मर्लिनलाई केहीदिनमै प्रेम प्रस्ताव राखे र मर्लिनले स्वीकारिन् पनि ।
त्यसको १ बर्षपछि दुवैले बिहे गरे । बिहे गरेको ७१ बर्षसम्म उनीहरुको प्रेममा कहिल्यै दरार आएन । उनीहरुले एकअर्कासँग निकै खुसीसाथ जीवन बिताए । त्यतिमात्र नभएर यी दुईले एकैदिन संसार छोडे । अस्तिमात्र यी दुइको निधन भएको हो ।
जीवनको लामो यात्रा संगै पार गरेर यी दुईले एकसाथ मर्ने बाच्ने बाचा पनि निभाए । यी दुईको निधन भएको समयमा आधा घण्टाको मात्र फरक भएको जानकारी प्राप्त भएको छ । हर्बट र मर्लिन प्रेम गर्नेका लागि एक आदर्श जोडी बनेका छन् । यी दुईका ६ छोराछोरी र १६ नातिनातिना रहेका छन् ।