०१ साउन २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो कार्यकालको अवधिमा गरिएका सार्वजनिक कार्यक्रम, सार्वजनिक भेटघाटमा व्यक्त विचारहरुको संग्रह गरी दृष्टिकोण नामक पुस्तक बजारमा आएको छ ।
नागरिक र सरकार बीच अप्रत्यक्ष संवादको दायित्व बोकेका अंगहरु बेग्लै मिसनमा रहँदा पनि प्रधानमन्त्रीले नागरिकसँग जारी राख्नुभएको प्रत्यक्ष संवाद मार्फत देशलाई सहि बाटोमा डोहोर्याउने दृढ अभियानको दृष्टान्त हो ।
पुस्तकमा प्रकाशित विचारलाई देशलाई पछौटेपनबाट विकासतिर लैजाने प्रधानमन्त्रीको विचार र संकल्प, उहाँका शब्द मुद्रा मार्फत प्रस्तुत दर्शक र श्रोताको मनस्थिति, समाज, राजनीति र अर्थतन्त्रको समसामयिक चित्र भनिएको छ ।
हाम्रो देश आज जुन संकल्पका साथ जुन ठाउँमा आईपुगेको छ, समस्या, संकट र अवरोधहरु पार गरेरै आएको हो । देशलाई समृद्ध बनाउने प्रधानमन्त्रीको अठोटका सामु पनि अनेकौँ चुनौतिहरु छन्, कति कृतिम व्यवधानहरु खडा गरिएका छन् । भविष्यमा पनि त्यस्ता व्यवधानहरु खडा गरिने छन् । त्यस्ता व्यवधानहरू परास्त गरेर संकल्पलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो । यस पुस्तकका विचारहरुले त्यस कुरामा पनि जोड दिएका छन् ।
पुस्तकको पहिलो अध्यायमा एउटा कालखण्डको अभिलेख शीर्षकमा लेखिएको छ । ‘अहिले म एउटा यस्तो बिन्दुमा छु र सोचिरहेको छु–म सफल हुनुपर्छ कि असफल ? म सफल हुँदा के हुन्छ र असफल हुँदा के हुन्छ ? ‘। मैले बुझेको छु–म असफल हुँदा म मात्रै असफल हुन्न, देशलाई नै ठूलो प्रतिकूल असर पर्छ । देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्छ । म असफल हुँदा देश विकास तथा समृद्धिको आकांक्षा असफल हुन्छ । त्यसकारण म अथवा मेरो नेतृत्वको सरकार असफल हुनुहुँदैन, तपाई, हामी, हाम्रो देशका जनता र जनताका आकांक्षाहरु असफल हुनु हुँदैन ।’–प्रधानमन्त्री केपी शर्मा ओली
पुस्तकमा अर्थ र विकाससँग सम्बन्धित २२ विचारहरु समेटिएका छन् । त्यसैगरी विचार र राजनीति शिर्षकमा १६ विचारहरु, व्यक्ति र व्यक्तित्व र इतिहासमा ७ विचारहरु, शिक्षा र विज्ञान–प्रविधि र खेलकुदमा ७ विचारहरु, राष्ट्र र राष्ट्रियतामा ४ विचारहरु, परराष्ट्र र कुटनीतिमा १ विचार, स्वास्थ्य र वातावरणमा ३ विषयहरु र कला संस्कृतिमा २ विषयहरु समेटिएका छन् ।
रु. ५५० मूल्य रहेको पुस्तकमा ४५८ पृष्ठहरु छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ फागुन २०७४ देखि २९ जेठ २०७५ सम्म गरेका सार्वजनिक भेटघाट र कार्यक्रममा अभिव्यक्त विचारहरुको संग्रहलाई मदन भण्डारी फाउन्डेशनले पुस्तकको रुपमा प्रकाशित गरेको हो । शार्दुल भट्टराईद्वारा सम्पादित पुस्तक १४ असार २०७६ मा प्रकाशन गरिएको हो ।