‘५५ बर्षको बुढोले छोरीजस्तो मान्छेसँग बिहे गर्नुअघि किन सोचेन ?’ : शिल्पा पोखरेल



०३ साउन २०७६, काठमाडौँ

नायिका शिल्पा पोखरेलले आफूलाई हिंसा हुँदा पनि चलचित्रकर्मीले साथ नदिएको भन्दै गुनासो पोखेकी छिन् । शिल्पाले विगत ३ बर्षदेखि छविले आफूमाथि कुटपिट गर्दै आएको र यसपटक त ज्यान नै लिन खोजेपछि आफू भागेको बताइरहेकी छिन् ।

यस्तै केहीसमय अघि शिल्पाको लागि छविले खुला पत्र लेखेका थिए । उनले शिल्पा आफ्नो अदालतमा आए न्याय पाउने बताएका थिए । यसबारे शिल्पाले कडा जवाफ दिएकी छिन् । उनले अब त कुनै हालतमा पनि आफू छविको घर नजाने बताएकी छिन् ।

पत्रमा छविले म ५५ बर्षको बुढो भएपनि गान्धीबाधी भएर शिल्पालाई राख्छु भनेका थिए । शिल्पाले जतिबेला छवि र उनी प्रेममा थिए त्यतिबेला आफूलाई बुढो भन्न किन नसकेको भनेर छविलाई प्रश्न गरेकी छिन् । उनले छविलाई भनेकी छिन् “अहिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भनेर हिँडिरहनुभएको छ । ५५ वर्षको बूढोले लभ गर्ने वेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेको भए पनि त हुन्थ्यो नि । अहिले आएर सहानुभूति पाउनका लागि किन बूढो भन्नु ? त्यतिवेला चाहिँ किन २०–२५ वर्षको व्यवहार गर्नु ?”

शिल्पाले हरेक कुरामा छविले मिडियाको अगाडी झुट बोलेको बताइरहेकी छिन् । छवि र शिल्पाको वास्तविक कुरा अहिलेसम्म बुझ्न सकिएको छैन । छवि एउटा कुरा गर्छन् भने शिल्पा अर्कै कुरा गर्छिन् । यो विवाद यति सजिलै टुङ्गिने छाँटकाँट भने देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्