०८ साउन २०७६, काठमाडौँ
रमित ढुङ्गाना कुनै समयका चल्तीका अभिनेता हुन् । लामो समयसम्म चलचित्र क्षेत्रबाट टाढा रहेका रमित अहिले फेरि नयाँ जोस र जाँगरका साथ चलचित्रमा फर्किएका छन् । रमित अहिले राजा साहेब चलचित्रको काममा व्यस्त छन् ।
हिजोमात्र राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको छ । चलचित्रमा रमित नव नायिका आयुषा राईसँग रोमान्स गर्दैछन् । यस्तै चलचित्रको औपचारिक कार्यक्रममा रमितले अनमोल केसीका बारेमा पनि केही बताएका छन् ।
रमितले अनमोललाई भतिज भनेर बोलाउने गरेका छन् । उनले सानो छदाँदेखि देखिरहेको अनमोल आज स्टार हुँदा आफूलाई निकै खुसी लागेको बताए । उनले अनमोल सानो छदाँ आफ्नो सुटिङ हेर्न आउने गरेको पनि बताए । यसैबिच उनले एउटा रमाइलो घटना पनि सुनाउन भ्याए । रमितले एकपटक आफूले चकलेट नदिदाँ अनमोल रिसाएर नबोलेको कुरा सुनाउँदा कसैले पनि आफ्नो हाँसो रोक्न पाएका थिएनन् । रमितले आज अनमोललाई यो स्थानमा देख्दा उसको बालापन पनि याद आउने बताए ।