०८ साउन २०७६, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार प्राकृतिक विपत्तिबाट पीडित प्रत्येक जनताको घरघरमा पुग्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै सांसद रिजालले सरकार हेलिकोप्टरमा देखिने नभइ जमिनमा भेटिने हुनुपर्ने बताए ।
सांसद रिजालले सरकारले यत्तिबेला प्राकृतिक प्रकोप र विपद्बाट पीडित जनताको अवस्था सुधारका लागि र भविष्यमा त्यस्ता विपद् रोक्नका लागि महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताए ।
राहतको पर्खाइमा रहेका प्रत्येक जनताको घरमा सरकार पुग्नुपर्ने बताउँदै रिजालले प्रतिपक्षले सरकारको आलोचना मात्रै नगर्ने बताए ।
उनले सरकारलाई पीडितलाई मलम दिनका लागि अभिप्रेरित गर्नका लागि आफू संसद्मा उभिएको बताए ।
साथै उनले विपत्तिमा परेका जनतालाई साथ दिन सत्तापक्ष र प्रतिपक्ष एकसाथ रहनुपर्ने बताए ।