१२ साउन २०७६, काठमाडौं
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली केन्द्रीय सदस्य हुन् । पार्टी एकतालाई जिम्मेवार ढंगले कार्यान्वयन गर्न पोखरेलले संघीय राजधानी रहेको प्रदेश नं. ३ को पार्टी सचिवको रुपमा जिम्मेवारी पाएका छन् । करिब ४ दशक लामो पार्टी जीवनमा अनवरत रुपमा क्रियाशील पोखरेलसँग प्रदेश ३ पार्टी एकता, परिचालन र भावी योजनाको साथै स्थानीय सरकारले गरेका काम कारवाही प्रति प्रदेश कमिटिको मूल्यांकन विषयमा परिवर्तनकर्मी ध्रुवप्रसाद घिमिरेले गरेको कुराकानी :
पार्टी केन्द्रिय सदस्य र प्रदेश ३ को सचिवको हैसियतले यहाँको खास जिम्मेवारी के हो ?
प्रदेश ३ भित्र रहेका १३ वटा जिल्लामा पार्टी कामको वैचारिक, राजनीतिक र साङ्गठनिक व्यवस्थापन नै मेरो जिम्मेवारी हो ।
पार्टी एकता चाहिँ कहिले सकिन्छ नि ?
हिजो प्रदेश ३ कार्यालयको बैठक बसेर केहि महत्वपूर्ण निर्णय गरेका छौँ । जसमा हामी भदौ पहिलो हप्तासम्ममा कार्य विभाजन सक्छौँ । १०९ सदस्सीय प्रदेश सल्लाहकार परिषद् र १२५ जेष्ठ कम्युनिष्ट मञ्चको साथसाथै ३० विभाग गठन गर्ने काम पनि भदौ पहिलो हप्तामा सक्छौँ ।
पक्का सक्नुहुन्छ ?
भदौ पहिलो हप्ता बस्ने प्रदेश कमिटीको तेश्रो बैठकबाट हामी सबै निर्णय गर्छौ । २१९ जना रहेको प्रदेश कमिटिका साथीहरुलाई पनि हामी खास जिम्मेवारी दिन्छौँ । जसअनुसार प्रदेश कमिटीमा रहेका १३ जिल्लाका अध्यक्ष र सचिवलाई त्यही भूगोलको काम दिन्छौँ । ६० जना प्रदेशका सदस्यलाई विभाग प्रमुख र उपप्रमुख गरी जिम्मेवारी दिन्छौँ । त्यसैगरी प्रदेश ३ भित्र रहेका ६६ प्रदेश निर्वाचन क्षेत्रमा पनि प्रमुख र उपप्रमुख गरी १३२ जनालाई नै जिम्मेवारी दिन्छौँ ।
जिम्मेवारीको लागि जिम्मेवारी हुन्छ कि यसले काम पनि गर्छ? जिम्मेवारीको मूल्यांकन कसरी गर्नुहुन्छ ?
हामी केन्द्रिय कमिटि र जिल्ला कमिटिको पुल हौं । यसो भन्दै गर्दा हाम्रो जिम्मेवारी मानार्थ होईन । कार्यकारिणी कमिटि हो । हाम्रै मातहतमा संघ, प्रदेश र स्थानीय तहको चुवाव जिताउनुपर्छ । त्यसमा हामीले पार्टी एकतालाई मजबुद गर्नुपर्छ । वैचारिक रुपमा समेत सुस्पष्ट गर्नुपर्छ । पार्टी कार्यकर्तालाई कामकाजी र वैचारिक पनि बनाउनुपर्छ । यो काममा कमि नआउने गरी प्रथम चौमासिक कार्ययोजना अनुसार अगाडि बढ्छौं ।
भनेपछि कार्ययोजना नै बनाएर लाग्नुहुन्छ ?
हो ! हामी कार्ययोजना नै बनाएर लाग्छौं ।
सल्लाहकार कमिटि र जेष्ठ कम्युनिष्ट मञ्चको जिम्मेवारी र भूमिकामा के फरक हुन्छ ?
सल्लाहकार कमिटी सिनियर नेताहरुलाई दिईने जिम्मेवारी हो । यसको हैसियत प्रदेश कमिटि भन्दा माथि हुन्छ । जेष्ठ कम्युनिष्ट मञ्च उमेरको हिसाबले ६५ बर्ष नाघेका, लामो समय कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका साथीहरुलाई दिईने जिम्मेवारी हो । वहाँहरुलाई पार्टीमा संगठित गर्न, वहाँहरुको अनुभवलाई व्यवस्थापन गर्न यस्तो जिम्मेवारी दिन लागिएको हो ।
भदौको पहिलो हप्ता पार्टी एकता सक्नुहुन्छ । पार्टी एकता नसकिदै काठमाडौं लगायतका जिल्लाहरुमा विवाद देखिएको छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
काठमाडौंमा केही विवाद छैन । इतिहासमा पहिलो पटक समानान्तार कमिटि बनेको छैन । दुइटा पार्टी एकता गर्दा र आफैं बिचको अनेकतालाई एकता गर्ने चुनौतीपूर्ण काम सम्पन्न गरेका छौं ।
तर काठमाडौंमा जिल्ला कार्यालय उद्घाटन गर्दा धेरै सदस्यहरुले बहिष्कार गरे नि ?
होइन, कसैले बहिष्कार गरेका छैनन् । को आएन त्यो आफ्नो ठाउँको कुरा हो । प्रदेश सदस्यहरु आउनु भएको छ । जिल्ला सचिवालयका साथीहरु आउनु भएको छ । पार्टी केन्द्रिय सचिवालय सदस्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ । म आफैं सहभागी छु । कोही मान्छे रहरले आएनन् भने त्यसलाई बहिष्कार मान्न सकिदैन् ।
काठमाडौंमा विवाद छ भन्ने कुरामा तपाई सहमत हुनुहुन्छ कि हुनुहुन्न ?
कृत्रिम विवाद हो । अस्ति जिल्ला कमिटिको बैठक पोष्टपोण्ड भयो भन्ने हिसाबलाई लिएर भन्नुभएको होला । मलाई धेरै कुरा थाहा छैन । जहासुकैको भएपनि त्यसो गरिनु हुँदैन । पार्टीको संस्थागत पक्ष अध्यक्ष र सचिवले गरेको निर्णयलाई प्रदेश कमिटिले साथ दिन्छ ।
भनेपछि पेलेर जानुहुन्छ ?
पेलेर होइन, कमिटिगत पद्धति अनुसार जान्छौं । छलफल र सहभागीताको आधारमा अगाडि बढ्छौं ।
पालिका स्तरीय कमिटिहरु किन सबै जिल्लामा बन्न सकेनन् ?
त्यसैले हामीले निर्णय गरेका छौं । साउन अन्तिमसम्ममा पुरा गरेर आउनुहुन्छ भने आउनुस् । पुरा गर्नुहुन्न भने प्रदेशले नै तोकिदिन्छौं भनी सकेका छौं ।
निर्देशन लिखित कि मौखिक रुपमा दिनुभएको छ ?
हिजो बैठक गरियो आज निर्णय लिखित रुपमा जान्छ ।
पार्टी गतिविधि त शुन्य भएको छ नि ? अब यसलाई कसरी चलायमान बनाउनुहुन्छ ?
म शुन्य भएको मान्दिन तर ढिला भएको छ । किन मान्दिन भने प्रदेश ३ को २ वटा पूर्ण बैठक बस्यौ । त्यसपछि ३ वटा जिल्लाका वडा तहसम्म कमिटीहरु बनिसकेका छन् । बिभिन्न जिल्लामा गृहकार्य भईरहेको छ । जिल्ला कमिटी नबन्दा ढिला भएको हो । जिल्ला कमिटि बनेपछि गतिविधि बढेका छन् । एकता प्रक्रिया भएकोले केहि ढिला भएको छ । त्यसलाई हामीले स्वभाविक रुपमा लिएका छौं । मिडियाले पनि यसलाई स्वभाविक रुपमा लिनुपर्छ । दुई ठूला पार्टी एकता हुँदा गुनासा आएनन् भने त एकता नै भएन नि ? हिजो जिल्ला कमिटिमा नसमेटिएकालाई हामी बिभागमा राख्छौं । कसैलाई पनि संगठन भन्दा बाहिर जान दिदैनौं । यहि प्रदेशमा पुष्पलालको स्मृति दिवसमा प्रदेशभरीका कार्यकर्ता जम्मा भएर भब्य कार्यक्रम गर्यौं । सभागृहमा भब्य गोष्ठी संचालन गर्यौं । जिल्ला कमिटिका अध्यक्षहरुको बैठक बोलायौं । आगामी २२ गते प्रदेश कमिटि र सरकारको पनि छलफल हुँदैछ । २६ गते पार्टी इन्चार्ज र अध्यक्ष राखेर संयुक्त बैठक गर्दैछौं । यसको मतलब गतिविधि शुन्य छ त ?
अहिले सम्म पालिका स्तरीय/मतदाता स्तरीय पार्टी गतिविधि पुग्नुपर्ने होइन र ?
भदौदेखि ३ नं. प्रदेशभरी पार्टी गतिबिधि तल्लो तहसम्म पुग्छ ।
यदि साउन मसान्तसम्म पालिका स्तरीय कमिटि बनेन् भने तपाई के गर्नुहुन्छ ?
दुईवटा पार्टीको कहाँ कति भनेर नमिलेको हो । सबै तयारी छ । जहाँजहाँ दुईवटा पार्टीको बाँडफाँड मिल्यो–बनेको छ । जहाँ मिलेन–बनेको छैन । जसरी भएपनि मिलाउन निर्देशन दिएका छौं ।
स्थानीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई कसरी मूल्यांकन गरिरहनु भएको छ ?
प्रदेशको इतिहास छोटो छ । स्थानीय तहको इतिहास ७०/८० बर्षको छ । प्रदेशको इतिहास २ बर्षको भएकोले बनीबनाउँ रुपमा काम गरिहाल्छ भन्ने मलाई लाग्दैन । हामीले प्रदेशको निर्वाचन गरेर पठाउँदा भौतिक पूर्वाधार र अन्य आधारहरु केहि थिएन । प्रदेशले कामको आधार तय गरेको छ । दुईवटा बजेट बनाएको छ । कार्ययोजना लागू गरेको छ । छोटो समयमा गरेका काम सन्तोषजनक छन् ।
स्थानीय सरकारले गरेका कामप्रति चाहीँ सन्तुष्ट हुनुहुन्छ ?
स्थानीय सरकारलाई मार्ग निर्देश गर्न अहिलेसम्म कमिटी बनेका छैनन् । स्थानीय सरकारमा निर्वाचितहरुले ऐन कानुनमा जे छ, त्यही अनुसार काम गरे । जो प्रमुखहरु विकासप्रति भिजन भएका छन्–उनीहरुले राम्रो गरेका छन् । जो मान्छेहरुमा कम भिजन छ, आफूलाई ब्यक्तिगत केन्द्रबिन्दु ठान्छन् त्यस्ता ब्यक्तिहरुले पार्टीसँग संयोजन गरेका छैनन् ।
कतिपय ठाउँमा स्थानीय जनप्रतिनिधिहरुले पदको दुरुपयोग गरेर प्राकृतिक स्रोत साधनको दोहनमा लागेको कुरा सुनिएको छ । त्यस्ता मान्छेहरुले ट्याक्टर, डोजर किनेर आफैंले काममा लगाएको भन्ने सुनिएको छ । यस्ता केही कमीकमजोरीका बाबजुत वडा कार्यालय स्थापना गर्ने, पालिका स्तरीय कार्यालय स्थापना गर्ने, स्थानीय सरकारबाट उठ्ने र संघीय सरकारबाट जाने बजेटको स–सर्त अनुदान, समपूरक अनुदान, नि:शर्त अनुदान, त्यसको व्यवस्थापन गर्ने काम गर्ने, विकासको मापदण्ड बनाएर अगाडि जाने क्रममा लागेका छन् । पार्टीले प्रत्यक्ष निर्देशन गर्न नसकेको अवस्थामा स्थानीय सरकारले आफूलाई अगाडि बढाउने काम गरिरहेको छ । त्यसलाई म सकारात्मक रुपमा बुझ्छु ।
अझ त्यसलाई पार्टीले बैचारिक, सांगठनिक र बिकास सम्बन्धी नेतृत्व गर्नुपर्नेछ । हामीले आगामी चौमासिक कार्य योजनामा स्थानीय तहलाई परिचालन गर्ने योजना समेत राखेका छौं ।
यहाँले भनेजस्तो धेरै ठाउँमा राम्रो गरेको छ ? केही ठाउँमा कमजोरी छ भन्ने पार्टीले अनुभूत गरेको छ ?
छ ।
त्यसलाई अब सच्याउन पार्टीले भूमिका खेल्छ ?
खेल्छ ।
हस्तक्षेपकारी भूमिका खेल्छ ?
मुख्य रुपमा म के भन्छु भने २०५४ सालमा तत्कालिन नेकपा एमालेले मुलुकभरी स्थानीय तहमा जित्यो । तिनै जितेका जनप्रतिनिधिहरुलाई सफल बनाएर २०५६ सालमा पार्टी बिभाजन हुँदा समेत हामीले राम्रो नतिजा ल्यायौं । त्यो स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिहरुको कुशलताले भएको हो । अहिले पनि हामीले धेरै स्थानीय तह जितेका छौं । यतिबेला हामीले पार्टीको मार्गदर्शन अनुसार जितेका ठाउँ संचालन गर्न सकेनौं । जनताको अपेक्षालाई सम्बोधन गर्न सकेनौं भने हामी मदन भण्डारीले अगाडि सारेको जनताको बिचमा जननिर्वाचित हुनुपर्छ र पार्टी कार्यकर्ता जनआधारित र लोकप्रिय हुनुपर्छ भन्ने मान्यताबाट विस्थापित हुन्छौं । हामी ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने कुरामा चुक्छौं ।
त्यसकारण यि सबै कुराको सर्भिस डेलिभरी गर्ने स्थानीय सरकार हो । स्थानीय तहको अनुशासन, राजनीतिक व्यवस्थापन र मतदाताको भावनालाई सम्बोधन गर्ने काम गर्नुपर्छ । त्यसैले सबैभन्दा बढी ध्यान स्थानीय तहमा जानुपर्छ ।
जनप्रतिनिधि र पार्टी कार्यकर्ता बिचको ग्यापलाई हटाउन के गर्नुहुन्छ ?
पहिला हामी प्रदेश स्तरको स्थानीय तहको कार्यकर्ता र पालिका नेतृत्वलाई फेस टु फेस कुरा गराउँछौं । अहिले भर्खर बजेट आएकोले यो उपयुक्त समय पनि हो । त्यसले अहिलेको ग्यापलाई कम गर्छ ।
पार्टीमा जनप्रतिनिधिहरुलाई दण्ड र पुरस्कारको व्यवस्था पनि राख्नुहुन्छ ?
अहिले हामीले सोचेका छैनौं । तपाईले अहिले भन्नु भो, यसलाई सकारात्मक रुपमा लिन्छौं ।
अहिले सरकारले गरेका कामहरुलाई मिडियाले उठाएन भन्ने सुनिन्छ ? यसलाई कसरी हेर्नुभएको छ ?
अहिले मिडियाले साथ दिएको छैन । पार्टी समर्थकहरु समेत राम्रो र नराम्रो मनस्थितिमा बिभाजित छन् । एउटा समूह पूर्ण रुपमा एन्टी कम्युनिष्ट छ । एन्टी कम्युनिष्ट बिचार राख्ने साथीहरु अहिले हामी बैचारिक रुपमा कमजोर भयौं । त्यो चाहीँ चुनौति भयो । विश्वमा कम्युनिष्टहरु सकिदै गएको नेपालमा चाही चुनावबाटै जितेरै आउँदा उनीहरुलाई अप्ठ्यारो पारेको छ । त्यसैले कम्युनिष्ट बिचार, नेता र कार्यकर्तालाई नसकी हाम्रो पालो आउँदैन भनी बैचारिक सोचको आधारमा मिडिया क्याम्पेनिङ्ग भईरहेको छ ।
कतिपय अवस्थामा पार्टीबाट निर्वाचित व्यक्तिहरुले व्यवहारले पनि त त्यो स्थिति देखाएको छ । एकोहोरो मिडियालाई मात्र दोष दिन मिल्छ र ?
ब्यवहार ठूलो कुरा होइन । विषयबस्तु ठूलो कुरा हो । ब्यवहार वा कार्यशैलीलाई इस्यू मान्नुको अर्थ सैद्धान्तिक ग्याप छैन । बैचारिक ग्याप छैन । पोल्टिकल ग्याप छैन । अनि ब्यवहारलाई देखाएर यस्लाई ध्वस्त गर्नुपर्छ भन्ने मान्यता नै आफैंमा अराजनीतिक मान्यता हो ।
देशभरीमा सबैभन्दा बढी संचारमाध्यम भएको प्रदेशको जिम्मेवारीमा हुनुहुन्छ ? यहाँका संचार माध्यमलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
पहिलो कुरा त हाम्रा साथीहरुले बर्गीय ढंगले हेर्नुपर्छ । कम्युनिष्ट पार्टीको सरकारले गरेका राम्रा चाही केही नलेख्ने, नराम्रो मात्रै लेखेर हल्ला गर्ने काम बन्द गर्नुपर्छ । हाम्रा साथीहरुले सरकारले गरेका राम्रा कामहरुको बारेमा जिम्मेवार ढंगले लेख्नुपर्छ । कमजोरी भएमा खबरदारी पनि गर्नुपर्छ । तर आग्रह पूर्वाग्रहको भरमा लेख्नुहुँदैन ।
यसलाई मोनिटरिङ्ग गर्न के गर्नुहुन्छ ?
हामी प्रचार विभाग बनाउँछौं । प्रचार विभाग मार्फत हाम्रो मिडियाहरुलाई कसरी परिचालन गर्ने, अन्य मिडियाहरुलाई कसरी सन्तुलित राख्ने, साँच्चै चौथो अंगको रुपमा कसरी बिकास गर्ने, त्यो सबै मिलाएर साँच्चै ३ नं. प्रदेश मिडियामैत्री छ भन्ने रुपमा अगाडि बढाउँछौं । त्यसभित्र अनुशासन, बर्गीय पक्षधरता र व्यक्ति चरित्र हत्या भन्दा पनि सकारात्मक मार्ग दर्शन र खबरदारीको रुपमा स्वस्थ ढंगले सुशासन र भ्रष्टाचार विरुद्धको क्षेत्रमा काम गर्न प्रेरित गर्नेछौं ।
अन्त्यमा, केही भन्नुछ ?
यो अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद ! मिडियाको भिडबाट परिवर्तन खबर खरो रुपमा अगाडि बढोस् । मेरो शुभकामना छ ।