१४ साउन २०७६, काठमाडौं
ब्राजिलको एक कारागारमा भएको झडपमा परि कम्तीमा ५७ जनाको मृत्यु भएको छ।
कारागारका दुई समूहका कैदीबन्दीबीच भएको झडपमा परि कम्तीमा ५७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
अल्तामिरा जेलको एउटा ब्लकबाट अर्को ब्लक कब्जामा लिई कैदीबन्दीहरूले आक्रमण सुरु गरेका थिए। कारागारमा रहेकामध्ये १६ जनालाई धारिलो हतियार प्रयोग गरि मारिएको र अन्यको भने कारागारमा लगाइएको आगोमा निसास्सिएर मृत्यु भएको बताइएको छ।
कारागारका दुई अधिकारीलाई पनि कैदीबन्दीले नियन्त्रणमा लिएको र कारागारको ब्लकमा आगो लगाइएको समाचारमा उल्लेख गरिएको छ। ठूलो संख्यामा अव्यवस्थित किसिमले कैदीहरू राखिएका कारण घटना नियन्त्रणमा लिन प्रहरीले नसकेको जनाइएको छ।
२०० जना कैदी राख्ने क्षमता भएको यो करागारमा अहिले ३०९ जना राखिएको समाचारमा उल्लेख छ। घटनाको अनुसन्धानपछि दोषीहरूलाई अलग राखी कारबाही गरिने अधिकारीहरूले जनाएका छन्।
सन् २०१७ मा पनि ब्राजिल कारागारमा रहेका कैदीका समूहबीच झडप हुँदा १२० जनाको मृत्यु भएको थियो।