१७ साउन २०७६, काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालका लागि मोरक्कोका राजदूत मोहम्मेद मल्लिकीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
शुक्रबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध सहकार्य तथा विविध विषयमा वार्ता भएको थियो।
भेटमा उपराष्ट्रपतिले नेपाल र मोरक्कोको औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको र दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै आएको बताए। उनले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताए।
उपराष्ट्रपतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै मोरक्कोलाई लगानीका लागि आग्रह समेत गरे।
मोरक्कोका राजदूत मल्लिकीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिँदै उक्त अवसरमा मोरक्कोका नागरिकलाई नेपाल भ्रमण गर्न आफूले सहजीकरण गर्ने बताए।