१३ औं साग अनुगमन गर्न जीवनराम श्रेष्ठको संयोजकत्वमा संसदीय ५ उपसमिति गठन



२० साउन २०७६, काठमाडौं

१३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न जीवनराम श्रेष्ठको संयोजकत्वमा संसदीय ५ उपसमिति गठन गरिएको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

प्रतियोगिता राष्ट्रको इज्जतसँग जोडिएको विषय भएकाले त्यसलाई तोकिएको समयमा सफलतापूर्वक सम्पन्न हुने गरी तयारी गर्ने कार्यमा सरकारलाई सघाउ पु¥याउने उद्देश्यका साथ समितिका सदस्य जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए ।

उपसमितिका अन्य सदस्यहरुमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी रहेको छ ।

प्रतियोगिता आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ । त्यसको तयारीको कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यादेश उपसमितिलाई दिइएको समितिकी सभापति घर्तीले बताए ।

बैठकमा समितिका सदस्यहरुले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको तयारीका लागि आवश्यक तालिम, प्रशिक्षणको उचित व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराए ।

समितिका सदस्य खगराज अधिकारीले सो प्रतियोगिताका खेलाडीहरुको तयारी र पूर्वाधार विकासका लागि आवश्यक व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य उमेश श्रेष्ठले प्रतियोगिताको तयारीका लागि अन्तराष्ट्रिय खेलकुद संघ, संस्थाहरुसँग सहयोग लिन पनि सरकारलाई सुझाव दिए । उनले देशको प्रतिष्ठासँग जोडिएको यस्ता खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पारेका थिए ।

समितिका सदस्यहरुले खेलाडीहरुलाई आवश्यक पोषणको व्यवस्था गर्न सरकारलाई सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्