२० साउन २०७६, काठमाडौं
राष्ट्रिय जनता पार्टी(राजपा)का सांसद राजेन्द्र महत्तोले आइतबार आफ्नो नागरिक्ता खारेज भएको भनेर आएको समाचारप्रति आपत्ति जनाएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महत्तोले आफ्नो नागरिक्ता खारेज भएको भनेर आएको समाचारप्रति आक्रोश व्यक्त गरे।
‘त्यो कुन राजेन्द्र महत्तो हो? नाम, ठेगाना केही नहुने तर, चर्चा चाहिँ चारैतिर हुन के हो यो? कुन नियतले गरिएको हो?’ उनले प्रश्न गरे।
चौतर्फी असफल भएको सरकारले राजेन्द्र महत्तोको राष्ट्रियतमाथि प्रश्न उठाएको भन्दै उनले गम्भीर आपत्ति जनाए । ‘सरकारले को हो राजेन्द्र महत्तो किन प्रष्ट नखुलाएको हो। प्रष्टरुपमा सरकारले किन भन्न सकेन?’, उनले भने।
सञ्चारमाध्यमले पनि वास्तविकता पत्ता नलगाइकन समाचार सम्प्रेषण गरेको भन्दै उनले यस्तो नगर्न आग्रह गरे।
साथै उनले सरकारको नियतमाथि प्रश्न गर्दै मानहानीका निम्ति माफी माग्नुपर्ने बताए।