२२ साउन २०७६, काठमाडौँ
काजल अग्रवाल तामिल चलचित्रकी सर्वाधिक लोकप्रिय नायिका हुन् । अझ उनको सुन्दरताको तारिफ गरेर कोहीपनि थाक्दैन । काजलको फ्यान फलोइङ निकै रहेको छ । उनलाई भेट्नको लागि उनका फ्यानहरु मरिहत्ते गर्ने गर्छन् ।
झन् काजलका एक फ्यानले त उनलाई भेट्नको लागि १० लाख खर्चेका छन् । अहिले यो खबरले पुरा सामाजिक सञ्जाल नै तातिरहेको छ । भारतको रामानाथापुरम शहरका एक व्यक्ति काजल अग्रवालका फ्यान थिए । उनी आफ्नो फेवरेट स्टारसँग भेटघाट गर्न चाहन्थे । काजलसँग भेट गर्न उनले एक वेबसाइटको सहारा लिए । उक्त वेबसाइटले फ्यानहरुलाई काजल अग्रवालसँग भेट गराउने दाबी गरेको थियो । ती व्यक्तिले पनि काजलसँग भेट गराउने इच्छा व्यक्त गरे । तर उक्त वेबपेज एक अपराधिक गिरोहले सञ्चालन गरेको थियो । उक्त समूहले ती व्यक्तिसँग ५० हजार रुपैयाँ र व्यक्तिगत विवरण माग गर्यो ।
आफूलाइ मनपर्ने नायिकालाई भेट्न पाउने भएपछि ती युवकले पैसा नदिने त कुरै भएन । त्यसमाथि उनी सम्पन्न परिवारका थिए । उनले जति पैसा माग्यो त्यति दिदैँ गए । तर काजललाई भेटाइदिने आशमा उनलाई झुलाइएको थियो । अत्ति भएपछि ती युवकले पैसा दिन छाडे ।
पैसा पठाउन छोडेपछि उक्त समूहले ती व्यक्तिका व्यक्तिगत डाटामा रहेका अन्तरंग तस्बिर सार्वजनिक गर्ने धम्की दिन थाल्यो । ती व्यक्तिले तीन किस्तामा १० लाख रुपैयाँ उक्त समूहलाई पठाइसकेका थिए । यो घटनापछि तनावमा रहेको ती व्यक्तिले आफ्नो घर समेत छोडेर हिँडेका थिए । प्रहरीले कोलकाताको एक गल्लीमा उनलाई फेला पारेको छ । उनको उजुरीका आधारमा प्रहरीले श्रवणकुमार नाम गरेका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।