२६ साउन २०७६, काठमाडौं
नेपालको राजनैतिक आकासिय वृतमा तुवालो लाग्नु र वादल मडारीनुलाई खासै अचम्म मानिदैन । जब काला बादलहरु मडारिएर उग्र अवस्थामा पुग्ने गर्छ तव त्रक्रपात पैदा भई आकाश स्वत चम्किन्छ भन्ने गजबको मान्यताले जन्म लिएको छ । सोच चाहे पूर्विय होस् या पाश्चात्य दर्शनमा आधारित किन नहोस् । या आफ्नै मान्यताका विकसित काल्पनिक सिद्धान्तहरु किन नहुन । त्यसको मूल जन्मदाताको रुपमा राजनैतिक संस्कार र त्यसले जन्माएको विचारलाई लिन थालिएको छ ।
राजनैतिक अभियानका दौडहरु नेपाली धरालतमा प्रशस्त नचेलेका होईनन् । ति जति पनि दौडको आयोजना चलाईएका हुन्थे जसको मक्सत पछाडी स्वयमको विजय निश्चितताका लागि परिघटनाहरु रचाईएका हुने गर्दथे । दर्शन, विचार र सिद्धान्तका पछाडी होमिनेहरुले सदाचार जीवनको परिकल्पना आम नागरिकमा त सुनाउन सके तर स्वयमको व्यवहारिक जीवन भने मुताविक नत जनताले अनुभव र अनुभूति नै गर्न गराउन सकियो । फेरी हिजो आज जनताले चाहेको विकास र समृद्धिलाई नारावाजी र भाषणमा बाहेक अन्यत्र राज्यका तर्फबाट खासै उतारेको देख्न सकिएन ।
अहिले नेपालको सत्ता बाघडोर कम्युनिष्ट सरकारको हातमा छ । जनताले अहिलेको सरकार संचालनमा कुनै समस्या नआओस् र जन हितमा यो सरकारले व्यापक काम गर्न सकोस् भनेर नै चुनावमा झण्डै दुई तिहाई मत दिएर जितायर पठाएका थियो । तर आज सबै तिर सरकारको कामको गति कछुवाको तालमा भयो भन्ने आम जन गुनासो रहेको छ । नेपालको ईतिहासमा यो सरकार मतका हिसावले अत्यनतै बलियो रहे पनि यहि सरकारले अर्को एउटा पार्टी नेकपा विप्लव समुह माथि प्रतिवन्ध लगायको छ । सरकारले सो पार्टी माथि प्रतिवन्ध लगाउनुको कारण र औचित्य प्रष्ट पारे पनि उक्त कुरामा नागरिक समाज र सरकार वाहिर रहेका अन्य राजनैतिक पार्टीहरुले त्यसलाई मान्न तयार छैनन् । यो परिदृष्यले एकातिर सरकारले चाहे अनुसारको गतिमा नागरिकलाई सन्तुष्ट पार्न सकेको छैन भने अर्का तर्फ विद्रोही शक्ति र सरकारी पक्ष विच हुने भिडन्तको डरले आमजनमानस त्रसित अवस्थामा रहेका छन् । दुवै पक्षको भिडन्तले आखिर नेपाली आमाको काख खोसिनेमा नत विद्रोहि पक्षमा चिन्ता जागेको छ । नत सरकारी पक्षा नै संवेदनसिल र नरम स्वभाव देखाउने हालतमा छ । बरु वर्तामा बस्न कडाई गरिएको भन्दै सरकारले विद्रोही पक्षका नेताहरुलाई एकपछि अर्को गिरफ्तारीको क्रम बढाएको देखिन्छ । उता सरकारले वार्ताका लागि औपचारिक पत्र समेत नपठाएको दुखेको विप्लब तर्फको छ । यसले के देखाउँछ भने सरकार पक्षले वार्ताको वातावरण नवनाई उक्त संवादको नाउँमा प्रयाप्त सूचना संकलन मार्फत गिरफ्तारीलाई तिव्रता दिने रणनीतिमा रहे जस्तो देखिन्छ । यहि समयको सदुपयोग गर्दै विद्रोहिले शक्ति सन्चित गर्ने र आफ्ना गतिविधिलाई फरक ढंगले अगाडी बढाउने योजनामा रहेको आभाष हुने गर्दछ । परिणाम विद्रोहि पक्षले गिरफ्तारिका लागि सरकारलाई चुनौति दिदै पक्राउ पूर्जिको हवाला दिनु पनि हुन सक्छ ।
अहिलेको राजनैतिक आकाशमा मडारिएको कालो वादलले हिजोको माओवादी विद्रोह जस्तै नबनोस् भनेर चिन्तित समुदायका लागि विकासले खासै राहत दिन सकेको छैन । कतिपयको बुझाईमा यो सरकारले प्रतिवन्धित विप्लव नेकपालाई सोतर पार्ने सामर्थे राख्दछ भन्ने छ । तर अधिकांसको धारणा यस घटनालाई सामान्य रुपमा लिन नहुने साथै सरकारले बर्ता मार्फत समस्याको समाधान खोज्नु पर्ने भन्ने विकल्प अगाडी सारेका छन् । त्यसो हो भने किन लगायो त सरकारले विप्लव माथि प्रतिवन्ध ? उत्तर सजिलो छैन । त्यसो त अहिलेको नेकपा जसमा तात्कालिन एमाले र माओवादी पार्टीको विचबाट जन्मेको सरकार जुन दुबै शक्तिले हिजोको राजनैतिक ईतिहास र सत्ताको अनुभव गरिसकेका छन् र राज्यशक्ति विरुद्धको आन्दोलन पनि । यो पार्टी आफैमा जनताले रुचायको कम्युनिष्ट पार्टी भन्ने गरिन्छ । जुन हिजोको समय माओवादी सरकारमा हुँदाको बखत सरकारको अनुभव समेत बटुलेको थियो अहिलेको प्रतिवन्धित विप्लव पार्टीले । विप्लव स्वयम कुनै समय प्रचण्डको विश्वासका पात्र थिए र उनैको निकट भएर काम गरेका पनि थिए । यस कारणले अहिले सहयात्री विचको तिक्तताले जन्माएको तुषारापत त्यति सजिलै हट्ने संभावना रहेको छैन ।
विश्लेषकहरु भन्दछन्, राजनीतिको केन्द्र विन्दुमा रहेका प्रचण्डको आन्तरिक जीवन मामीलासँग नेत्रविक्रम चन्द विप्लवले नजिकबाट नियालेका थिए । उनलाई प्रचण्डको कमजोरी के हो त्यो राम्रोसँग थाहा थियो । यसका अलावा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयले विप्लवको राजनीतिक चरित्र र आन्तरिक जीवनका वारेमा विगत देखिकै निकटताको कारणले थप जानकारी लिनुपर्ने आवस्यकताको बोध राख्दैन थियो । यस विषयमा राजनीतिक खेलका खेलाडीहरुलाई महाभारतमा शकुनीको चाल के थियो भन्नेमा शंका थिएन । शंका थियो त केवल आफन्त विचको लडाईं र दुर्योधन स्वयमले आफ्नै भाउजु द्रोपतिको ईज्जत हरणको सवालका साथै भिमसेनले गरेको कठोर प्रतिज्ञाको हुँकार । नियति भोलिका दिनमा जे रहला तथापि दुबैलाई दुबैको वस्तुनिष्ट जानकारी भएको कारण संभावित दुरघटना पार लगाउनु बुद्धिमत्ता हुन जान्छ । साहेद यहि पेरिफेरीबाट प्रभावित भएर हुन सक्ने संभावित खतरा न्युनिकरणका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा चुनौति थपिएको भन्दै नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै तर्फका डिएसपी कमाण्डमा ५९ जना सुरक्षाकर्मी तैनाथ गरिएको कुरा सार्वजनिक गरियो । यस परिघटनाले नेपालको राजनैतिक अवस्था पूर्ण त अस्वस्थकर प्रतिस्पर्धाको बाटोमा कृयासिल रहेको अनुभूति पर्न जान्छ । हुनत नेपाली जनताले आफ्नै आँखाको दृष्य नजिक विरेन्द्रको वंशनास भएको तितो सत्य बिवश भएर स्विकार गरेकै हुन् तथापि यस्ता दयनिय खेल अवको भावी सन्ततीले सुन्न नपरोस् भनेर कामना गर्ने आम नेपाली जिवितै छन् ।
यस कालखण्डसम्म आईपुग्दा नेकपाको अलावा अन्य अधिकांस दलको पार्टी आन्तरिक जीवन कमजोर हँदै गएको छ । नेकपामा पनि आन्तरिक समस्या हुँदै नभएको भने पक्कै होईन । त्यहाँ पनि नेताहरु विच कटाक्ष चलेको सुनिन्छ । पार्टी एकिकरणको लामो समय वितिसक्दा पनि जनवर्गिय संगठन र गाउँ तहसम्मको एकिकरण कार्य सम्पन्न नहुनुले ति दृष्टान्तहरुको प्रतिविम्बन गरेकै हुनु पर्छ । पार्टीको स्कुल विभागको जिम्मेवारी तोक्ने काममा रसाकसी देखिनु नेकपा भित्र सर्प, भ्यागुतो र विच्छिको कथा जस्तो भएकै छ । यि र यस्ता प्रकारका परिदृष्यहरुले नेकपाको राजनीतिक जीवन अगाडी बढेको छ । संयोग पार्टी एकिकरण तर आत्म शुद्धिकरण र अपनत्वको अभाव । यस्ता सम्बन्ध राजनीतिक परागसेचनबाट उत्पन्न गराएका तुषारापातहरु नै हुन् । प्रचण्डलाई हेग लैजाने र स्वय हेग पुगे विश्वले आफूलाई चिन्छ वा हिरो भईन्छ भन्ने अभिव्यक्ति साधारण प्रकृतिको छैन । दुई पाईलटले हाँकेको नेकपा जसमा अहिले प्रधानमन्त्रि निकटका केही शक्तिहरु प्रचण्ड माथि कसरी प्रहार हुँदा उनको भावी सफलतालाई निस्तेज पार्न सकिन्छ भन्ने रणनीतिमा रमाउने योजनामा लागेको भन्ने हल्ला चल्न थालेको छ । यस प्रकारको संकेत राजनैतिक वृत्तमा शकुनीको चालमा रहेको पासा जस्तै ठानिने गरिन्छ । खेल जसले खेलाउँछ । पात्रहरु जे जस्ता प्रकारले जो जो सामेल हुन्छन् । परिणाम खेलका खेलाडी स्वयमलाई थाहा नहुने अवस्था बन्दै जानु कसैका लागि पनि हितकर मानिदैन । जसले जे कामनाले त्यो खेलमा खेलाडीहरुलाई समाहित गर्दै परिचालन गर्ने कुटिल चाल चलेको हुन्छ उक्त चालको शिकारबाट स्वयम पिडित नहोस् ।
राजतन्त्र गयो र नेपालमा गणतन्त्र आयो । तर हिजोका दिनमा गरेका कार्यको उचित व्यवस्थापन भएन भने यिनै राजनैतिक खेलका अभियान्ताहरुले हरेक पार्टी र नेतृत्व प्रति प्रहारको योजना निरन्तर बढाउने संकल्पलाई हटाउन कदापि सक्तदैन । यस्ता कर्मले अघोषित रुपमा तत्काल कुनै दल वा व्यक्ति विशेषलाई सहयोग त पुग्ला अन्तत्वगत्वा त्यस्ता प्रभावको पछाडी लाग्दा आफ्ना आकांक्षाहरु पुरा गराउने उद्धेश्यको अलावा अर्को परिणाम किमार्थ आउन गाह्रो हुन्छ । हामीले यो पनि विर्सनु हुँदैन कि हिजोका दिनमा हामीले जनताका सामु के भनेका थियौं ? आज हामीले के गर्दै छौं ? कतै सत्ता मोहले हामीले हाम्रो पार्टीको जीवन विर्सेका त छैनौं ? कतै सत्ताको गलत प्रयोग हामीबाटै भएको त छैन ? यस तर्फ बेलैमा सोचौ र हिजोका शंकल्पलाई विर्सने कोसिश नगरौं ।
नेपाल समस्त नेपालीको हो । निशेधको राजनीतिले क्षणिक लाभ त मिल्छ नै । तर त्यसको दिर्घकालिन परिणाम क्षणिक लाभको तुलनामा भयावह हुन सक्ने तर्फ सोचेर मात्र कदम चाल्नु सर्वथा हितकर हुनेछ । अतः राजनैतिक शित वा प्रतिशोधले उत्पादन गरेको भ्रुणहरुलाई जन्म नदिदै गर्भमा हत्या गर्ने प्रयास न्यायको अप्राकृतिक शिद्धान्त विपरित हुने छ । यस्तो भएको खण्डमा एउटै पोखरीको माछा मार्न घरधनीले विष हाल्दा एकाद वाहेक सबै माछाको मृत्यु हुने प्रय स्वत छ । अतः विष बमन हैन अमृत पान गर्ने नियती सिर्जना गर्ने कि ?
डा.उत्तम खनाल
नियात्राकार एवं रिसर्चर ।
email: [email protected]