२८ साउन २०७६, काठमाडौं
धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठले चीनको शान्सी प्रान्त सियान नगरपालिकाका मेयर मिनयुङसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा मेयर ब्याञ्जुसँग चिनियाँ कम्युनिष्ट पार्टीका सियान व्यूरोका उपप्रमुख समेत रहेका मेयर मिनयुङले धुलिखेल लगायत नेपालका अन्य नगरपालिकाबीच सम्बन्ध राख्न आफुहरु तयार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय जगतमा सियानको उपस्थितिका लागि मेयर ब्यान्जुलाई सहयोग गर्न आग्रह गर्दै मिनयुङले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सियानले हरेक खालको सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
धुलिखेका मेयर ब्यान्जु नगरपालिका संघ नेपालका अध्यक्ष एवं यूसिएलजी एसिया प्यासिफिक अन्तर्राष्ट्रिय नगरपालिकाहरुका संघको निर्वाचित उपाध्यक्ष समेत हुन् ।
छलफलका क्रममा मेयर ब्यान्जुले सियानसंग हातेमालो गर्न धुलिखेल नगरपालिका र अन्तर्राष्ट्रिय नगरपालिका संघ तयार रहेको बताए । ‘धुलिखेल नगरपालिका सियान र चीनका अन्य नगरपालिकासंगको सम्बन्धलाई अझ उचाइमा पुर्याउन तयार छ’ मेयर ब्यान्जुले भने, ‘सियानले छोटो समयमा गरेको विकास र समृद्धिबाट नेपाल र विश्वका अन्य नगरपालिकाले पाठ सिक्नका लागि पनि सम्बन्धलाई थप प्रगाढ र विस्तार गर्न जरुरी छ ।’
मेयर ब्यान्जुले सियानका मेयरलाई नेपाल र विशेषगरि धुलिखेल भ्रमणको निम्तो समेत गरेका छन् । जवाफमा मेयर मिनयुङले उपयुक्त समयमा धुलिखेलको भ्रमण गर्ने बताए ।