श्रीमती भारतमा कोठी चलाउने र श्रीमान चाहिँ नेपालबाट युवती कोठीसम्म पुर्याउने



२९ साउन २०७६, काठमाडौँ

चेलीबेटी बेचविखनको क्रम पछिल्लो समयमा घट्दो छ । तर चेलीबेटी बेचिने क्रम रोकिएको भने छैन । अझैपनि हाम्रो देशका कयौँ चेलीबेटी बेचिइरहेका छन् । एउटा पराई मान्छेले त सम्पत्तिको प्रलोभन देखाएर छोरीचेलीलाई बेच्छन् तर आफ्नै देशको दाजुभाईले चेलीबेटी बेच्नु भनेको आफैँमा दुखःद कुरा हो ।

आफ्नै देशको युवाहरुले नै देशका चेली बेचिदिए भने चेलीबेटीले विश्वास चाहिँ कसलाई गर्ने ? अहिले यस्तो समस्या बढ्दो छ । जागिर दिलाइदिने आशले आफ्नै गाउँघरका चेलीको जीवन बर्बाद गरिदिने व्यक्तिको कमी छैन हाम्रो समाजमा ।

यस्तै केहीदिन अघिमात्र भारतको कोलकतामा कोठी (वेश्यावृतिका लागि तोकिएको घर) सञ्चालन गर्ने नुवाकोटका २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । कोलकाताको ‘रेड लाइट’ क्षेत्र सोनागाक्षीमा कोठी सञ्चालन गर्ने राजु स्याङ्तान भन्ने अजय लामा र उनका सहयोगी राजु तामाङलाई  महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शनिबार पक्राउ गरेको हो।

नुवाकोटमै बस्दै आएकी २० बर्षिया युवतीलाई फकाइफुल्याई गरेर भारत लैजादैँ गरेका २ युवकलाई प्रहरीले समातेको हो । प्रहरीका अनुसार अजयको मोबाइलबाट समेत चेलीबेटी बेचविखनको काम गर्ने गरेको प्रमाण भेटिएको छ । अजय मात्र नभएर उनकी श्रीमती पनि उनको यस्तो घिनलाग्दो काममा साथ रहिछिन् ।

यो आफैँमा लाजमर्दो कुरा हो । एउटा युवतीले नै भारतमा कोठी सञ्चालन गरेर बसिरहेकी छिन् । आफ्नो श्रीमानलाई सम्झाउनको सट्टा अजयकी श्रीमती भारतमा कोठी चलाउने र अजय नेपालबाट युवतीहरु कोठीसम्म पुर्याउने काम गर्दा रहेछन् ।

नुवाकोटको खरानीटारका अजय र राजु दुवैले नागढुङगा नाकामा चेकजाँच धेरै हुने भएकाले सिन्धुली हुँदै युवतीलाई सर्लाहीबाट भारत पुर्याजउने योजना बनाएका थिए। प्रहरीलाई आएको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पच्छयाईरहेको हो। पक्राउ परेका दुवैजना ३० वर्षभन्दा कम उमेरका छन्।

प्रतिक्रिया दिनुहोस्