मर्नुअघिको बयान कानुनी आधार, रविलाई ५ वर्ष जेल !



३१ साउन २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछाने कानुनको फन्दामा पर्ने भएका छन् । कुनै पनि व्यक्तिले मर्नुअघि दिएको बयानलाई कानुनी आधार मानिने व्यवस्था बमोजिम लामिछाने घटनामा दोषी देखिने सम्भावना बढेको हाे ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि दिएको भिडियो बयानमा आफ्नो मृत्युको प्रमुख कारण रवि लामिछानेसहित ३ जना भएको उल्लेख गरेका छन् ।

नेपाल प्रहरीका चितवन प्रमुख दानबहादुर मल्लले भने, ‘मर्नुअघिको बयानलाई सत्य मानिने कानुनी आधार छ । यसलाई ‘डाइङ डिक्लेरेशन’ भनिन्छ । मृतकको मोबाइलमा रेकर्ड गरिएको भिडियो भेटियो । हामीले टेष्ट गर्यौं । भ्वाइस पनि परिक्षण गर्याैं ।’

मल्लका अनुसार, भेटिएका भिडियोहरु सबै परिक्षणबाट मृतकको नै भएको प्रमाणित भएको छ । जसमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पोलिएको छ । यसबाहेकका पनि प्रहरीसँग प्रमाण छन् । यिनै आधारमा तीनैजनामाथि अनुसन्धान गर्नुपर्ने देखिन्छ । यसैकारण पक्राउ गरिएको हो ।

के हुन्छ त रविमाथिको कारबाही ?
अपराधसंहिता २०७४ को १८७ अनुसार कुनै अपराधका लागि दुरुत्साहन गरेको पाइएमा त्यसमा अनुसन्धान हुने व्यवस्था छ । यसलाई फौजदारी कसुर मानिन्छ । ऐनको भाग २ को परिच्छेद १२ को धारा १८५ मा यस्तो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना गर्ने उल्लेख छ ।

पत्रकार लामिछानेले आत्महत्या प्रकरणमा आफ्नो नाम मुछेर सार्वजनिक बदनाम गर्न खोजिएको भन्दै सामाजिक सञ्जाल र युट्युबमार्फत निरन्तर आफ्नो बचाउ गर्दै आएका छन् । उनले आफूमाथिको आरोप निराधार रहेको दाबी गर्दै भनेका छन्, ‘मर्नेले लगाएको आरोप प्रमाणित होस् र हदैसम्मको कारबाही होस् ।’ (साभार : जनता समाचार)

प्रतिक्रिया दिनुहोस्