३१ साउन २०७६, काठमाडौँ
सामाजिक सञ्जाल बिना मानिसहरु बस्न नसक्ने भैसकेका छन् । हुन पनि हामीले सामाजिक सञ्जालको माध्यमबाट धेरै कुरा थाहा पाइरहेका हुन्छौँ । सामाजिक सञ्जालको प्रयोग पछिल्लो समयमा औधी छ । सामाजिक सञ्जालका जति सकरात्मक पक्षहरु छन् त्यति नै नकरात्मक पक्षहरु पनि छन् ।
हो सामाजिक सञ्जालका माध्यमबाट हामीले विश्वभरका खबर पलभरमै थाहा पाउन सक्छौँ, केही काम नभएको बेला मुड फ्रेस बनाउन विभिन्न कुराहरु हेर्न सक्छौँ, आफ्नो दैनिकी छिटो र राम्रोसँग गर्न सक्छौ तर यसले विकृति पनि फैलाइरहेका छ ।
हामी आजभोली धेरै समय फेसबुक र टिकटक हेर्नमा खर्चने गर्छौ । फेसबुकमा नयाँ नयाँ फोटोहरु हाल्ने, धेरै साथीहरु बनाउने बानी नै परिसकेको छ । हामी एकछिनको रमाइलोमा भुलेका छौँ तर यसले भविष्यमा निम्त्याउने असरबारे कत्तिपनि सोचेका छैनौँ ।
आजभोली त लब पनि फेसबुकबाट नै पर्न थालेको छ । कहिल्यै देख्दै नदेखेको र चिन्दै नचिनेको मानिससँग हामी केहीदिन मज्जाले फेसबुकमा च्याट गर्छौ, केहीदिनपछि नम्बर साटासाट हुन्छ र लब पर्छ । त्यसपछि हरेक कुरा सेयर हुन थाल्छ, यहाँसम्म की फेसबुकको पासवर्ड पनि हामी सेयर गर्छौ ।
अहिले यसले समाजमा निकै नराम्रो असर पारेको छ भने विभिन्न समस्या पनि निम्तिएका छन् । फेसबुकको पासवर्ड कसैलाई पनि सेयर गर्नुहुँदैन । आजकलका युवायुवतीले फेसबुकको पासवर्ड सेयर गर्ने कुरा त साधारण नै भएको छ । जसका कारण कतिले मृत्यु समेत रोजेका छन् ।
फेसबुकको पासवर्ड सेयर गर्यो, केहीदिनमा के कुरामा एकअर्काको झगडा हुन्छ त्यसपछि त्यहि फेसबुकका कारण नसोचेको समस्या आउँछ । विशेष केटाहरुले केटीको फोटो नाङ्गो बनाएर हालिदिने, फेसबुक ह्याक गरिदिने गर्छन् ।
आफ्नो सानो गल्तीले गर्दा धेरै केटीको जीवन बर्बाद भएको छ । त्यसैले फेसबुकको पासवर्ड सेयर गर्नु राम्रो हुँदैन । गल्ती गरेर जीवन पछुताउनु सुरुमै आफू सजग हुनु राम्रो हुन्छ । सामाजिक सञ्जालले यस्ता समस्या निम्ताएको छ । तर यो आफूमा पनि भर पर्ने कुरा हो । हामीले सहि तरिकाले सदुपयोग गर्न जानेमा सामाजिक सञ्जालका माध्यमबाट धेरै कुरा सिक्न सक्छौँ तर जानेनौँ भने यसले समस्या पनि उत्तिकै निम्ताउँछ ।