भौतिक पूर्वाधारमन्त्री खत्री बर्खास्त



३१ साउन २०७६, काठमाडौं

कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् ।

बैंकिङ कसुर सम्बन्धी फौजदारी अभियोग लागेपछि मन्त्री खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट हटाएका हुन् ।

खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। मन्त्री बर्खास्त गरिएको विषयमा प्रदेश सरकारले प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई समेत जानकारी गराइसकेको छ।

बैंकिङ्ग कसुरको अभियोगमा उच्च अदालत पाटनले गत मंगलबार खत्रीको नाममा पक्राउ पुर्जी जारी गरेको थियो। कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न उच्च अदालतले सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।

खत्रीसहित ५ जनाले १ करोड ८० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टी गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्