प्रदेश ३ सम्पर्क समन्वय कमिटी प्रमुख गणेश पहाडीलाई सिन्धुलीका अगुवा कार्यकर्ताको सुझाव



०३ भदौ २०७६, काठमाडौं

संघीय सांसद तथा नेकपा केन्द्रिय सदस्य र भर्खरै प्रदेश ३ सम्पर्क समन्वय कमिटी प्रमुखको जिम्मेवारी पाएका गणेश पहाडीलाई सिन्धुलीका अगुवा कार्यकर्ताले आज विहान बधाई तथा सुझाव दिएका छन् ।

बधाई तथा अन्तरक्रिया कार्यक्रम सम्पर्क मञ्च पूर्व अध्यक्ष चक्र बहादुर श्रेष्ठले नयाँ जिम्मेवारीलाई गम्भीरतापूर्वक बुझ्दै सम्पर्क मञ्चमा क्रियाशील साथीहरुको भावना अनुसार प्रदेश भरीकै सम्पर्क मञ्चहरुको गठन तथा परिचालन गर्न सल्लाह दिदै नयाँ जिम्मेवारीका लागि बधाई दिएका छन् ।

सिन्धुली उपत्यका गणतान्त्रिक मञ्चका अध्यक्ष रुद्र थिङ्गले निस्वार्थ रुपमा पार्टी उम्मेदवारलाई जिताउन सम्पर्क मञ्चले खेलेको आर्थिक, सांगठनिक भूमिकालाई अबमूल्यन गर्दै जिल्ला पार्टी नेतृत्वले पटक–पटक सम्पर्क मञ्चे भन्दै अपमान गरेको तितो अनुभव सुनाउँदै सम्मानजनक ब्यवहार बनाउन प्रदेश संयोजक पहाडीलाई अनुरोध गरे ।

सिन्धुली काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष डेकेन्द्र सुवेदीले पार्टी कार्यकर्ताको क्षमता र योगदानलाई मूल्याङ्कनको आधार बनाएर जिम्मेवारी दिन आवश्यक भूमिका खेल्न सुझाव दिए ।

कार्यकर्ताको भावनालाई शिरोधार्य गरी अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै संयोजक पहाडीले २०४८ सालमा पहिलो पटक नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष भई पार्टी राजनीतिमा प्रवेश गरेको बताउँदै सम्पर्क मञ्चकै योगदानले आफू नेकपा एमाले सिन्धुलीको नेतृत्व गर्दै दुई पटक संघीय सांसद बनिसकेको बताए ।

सिन्धुली काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष अमर बहादुर थापा मगरले संयोजन गरेको बैठकमा पूर्व अध्यक्ष, अगुवा नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्