०४ साउन २०७६, काठमाडौं
मानव अधिकारको लागि महिला एकल महिला समूहको आयोजनामा विश्व मानवता दिवसको अवसर पारी महिलाहरुले मानवीय उद्धारको क्रममा गरेको योगदान बारेमा छहारी भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्रालयका उपसचिव शम्भु क्षेत्रीले सम्बोधन गर्दै विभिन्न काम गर्दा सरकारी तहबाट एक्लैले गरेर सम्भव हुदैन भन्दै सबैे क्षेत्रको सहयोग हुन आवश्यक रहेको बताए ।
विश्व मानवता दिवसको अवसरमा उपसचिव क्षेत्रीले विपद् व्यवस्थापन सम्बन्धी सहयोग गर्दा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र कुनै पनि सरकारी निकायसँग सहकार्य गरेर प्रणाली अनुसार काम गर्न आग्रह गर्दै त्यस किसिमको सहयोग गर्दा वास्तविक पीडितलाई, उचित समयमा सहयोग पुग्ने बताए ।
डब्लु एचआरका संस्थापक अध्यक्ष लिलि थापाले विपदका बेलामा मानिसहरुलाई आवश्यक पर्ने ठूलाठूला सामुदायिक भवन नहुदा विभिन्न स्थानका मानिसहरुलाई आफ्नो ज्यान जोगाउन समस्या परेको बताउँदै सरकारी तथा गैर सरकारी सस्थाहरु मिलेर कम्युनिटि भवन आवश्यक रहेको बताईन् ।
बूढानीलकण्ठ नगरपालिका प्रशासकीय अधिकृत टंकराज चिमोरियाले अन्तर्क्रिया कार्यक्रममा महिलाहरुले हाम्रो संस्कार अनुसार घरपरिवार तथा समाजमा महत्वपूर्ण जिम्मेवारी हुने बताए ।
गैर सरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोलले विपद व्यवस्थापनमा सुरक्षाकर्मिले महत्वपूर्ण योगदान पुर्याउने हुनाले सबैभन्दा पहिला प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका थिए ।
विभिन्न जिल्लाका महिला संजालले गरेको मानव उद्दारमा जनचेतना फैलाउने तथा मानव उद्दारमा सहभागी भएका महिलाहरुको कामको कुनै पनि मूल्याङन भएको हुँदैन उनीहरुको कामलाई बाहिर ल्याउन र कामको प्रोत्साहन, काम गर्ने बेलामा आएका समस्या तथा चुनौतिहरुको एक आपसमा साटासाट गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको सूचना अधिकृत उमा थापाले बताईन् ।
कार्यक्रममा मानव अधिकारको लागि महिला एकल महिला समूहको केन्द्रीय उपाध्यक्ष शोभा बिसीको सभापतित्व रहेको थियो भने कार्यकारी निर्देशक सुमिरा श्रेष्ठ र कार्यक्रम प्रवन्धक राजिन रायमाझीले संचालन गरेका थिए