अमेजनको डढेलो फैलिँदै गएपछि बढ्यो अन्तराष्ट्रिय चासो



०७ भदौ २०७६, काठमाडौं

विश्वकै ठूलो वनक्षेत्र अमेजनमा लागेको डढेलो फैलिँदै गएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार गत सोमबारदेखि ब्राजिलको अमेजन क्षेत्रमा फैलिएको डढेलो हाल २ हजार ५ सयभन्दा बढी स्थानमा सक्रिय भएपछि त्यहाँ अन्तराष्ट्रिय चासो बढेको छ।

अमेजन वनक्षेत्रमा लागेको डढेलोबाट आएको धुवाँका कारण करिब २ हजार ७ सय किलोमिटर टाढाको साओ पाउलोमा दिउँसै अन्धकारसमेत भएको जनाइएको छ।

डढेलो फैलिँदै गएपछि ब्राजिलको छिमेकी देश बोलिभियामा समेत ठूलो असर पुगेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अधिकारीहरूका अनुसार देशको दक्षिण–पूर्वी सन्तक्रुज प्रान्तको ५ लाख हेक्टर क्षेत्र डढेलोले नष्ट भइसकेको छ ।

वातावरण क्षेत्रमा क्रियाशील संस्था तथा अनुसन्धानमर्कीले डढेलो फैलिनुमा मानिस जिम्मेवार भएको बताएका छन् ।

गैरनाफामूलक संस्था ‘अमेजन वाच’ का कार्यक्रम निर्देशक क्रिस्टियन पोइरियरले भनेका छन्, ‘अमेजनमा फैलिएका मध्ये अधिकांश डढेलो मानिसले लगाएका हुन् ।’

उनका अनुसार त्यसका लागि गोठाला र कृषकहरू जिम्मेवार छन् । वातावरणविद्का अनुसार डढेलोका लागि जंगल फँडानी गरी बस्ती विस्तार गर्न खोज्नेहरू जिम्मेवार छन् ।

 

प्रतिक्रिया दिनुहोस्