डुंगामा आगालागी, २२ बेपत्ता



०७ भदौ २०७६, काठमाडौं

इन्डोनेसियाको जाभा टापुमा बालिकपापनतर्फ गइरहेको डुंगामा आगालागी हुँदा २२ जना बेपत्ता भएका छन्।

२ सय ७७ जना यात्रु बोकेको डुंगामा आगालागी हुँदा २२ जना बेपत्ता भएका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। जसमा २ सय ५५ जनाको भने सकुसल उद्धार गरिएको बताइएको छ।

बेपत्ता अन्य २२ जनाको खोजी कार्य भइरहेको बताइएको छ। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायाबाट बोर्नेओको बालिकपापनतर्फ गइरहेको डुंगामा एक्कासि आगो लागेको थियो । आगो लागेपछि यात्रीहरू आत्तिएर पानीमा हाम फालेका थिए ।

सुराबायाको तान्जुसङ पेराक बन्दरगाहका प्रवक्ता स्याचुल नुग्रोहाले भने, ‘डुंगामा यात्रा गरिरहेका दुई सय ७७ जनामध्ये दुई सय ५५ जनाको सकुशल उद्धार गरिएको छ भने हराएका केही व्यक्तिहरूको खोजी भइरहेको छ ।’

करिब एक हजार सात सय टापुहरू भएको इन्डोनेससियामा यातायातका लागि डुंगाको प्रयोग सामान्य मानिन्छ ।

यसअघि गत जुनमा जाभाको उत्तरी तटमा भएको डुंगा दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको थियो। गत वर्ष सुमात्रा टापुमा जाने क्रममा एक डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय ६० जनाको मृत्यु भएको थियो ।

त्यस्तै, सन् २००९ मा सुलावेशी र बोर्नेओको बीचमा भएको डुंगा दुर्घटनामा कम्तीमा तीन सयजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्