०७ भदौ २०७६, काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता पुष्पकमल दाहालले पार्टी भित्रको अनुशासन विस्तारै खस्कदैँ गएको गुनासो पोखेका छन् । एक कार्यक्रममा गएको बेला पुष्पकमल दाहालले यो कुरा बताएका थिए ।
कम्युनिष्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गर्नुभयो । “हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौँ”, उहाँले भन्नुभयो, “आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।”
त्यसबाहेक उनले विगतका जनतालाई भनेका कुरा भुल्दै जाने हो भने एकदिन यसले खत्रा निम्ताउने समेत बताए । उनले देशको विकास गर्न एउटा राम्रो मार्गदर्शन बनाउन जरुरी भएको पनि बताएका छन् । अन्त्यमा उनले भने “कम्युनिस्ट नेताहरु नै राजा महाराजाजस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।”