०८ भदौ २०७६, काठमाडौं
पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत छिन् । स्थायी घर मोरङ बताउने उनी हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा छिन् ।
दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेकहाँबाट एक हजार रुपियाँ तिरेर घरैमा औषधि ल्याएर खानुभयो । औषधि खाएको सात/आठ घण्टामा गर्भपतन त भयो तर रगत चाहिँ धेरै बग्यो । औषधिको असरका कारण उनको पाठेघरमा प्वाल परिसकेको र पाठेघरमा थप सङ्क्रमण हुन नदिन पाठेघर नै फ्याल्नुपर्ने भएपछि ठूलो पीडामा छिन् ।
बिनाजस्तो शिक्षित र सहरमा बस्नेलाई त गर्भपतनको औषधि कस्तो स्वास्थ्य संस्था र कस्ता चिकित्सकको सल्लाहमा खाने भन्ने जानकारी रहेनछ । अझ अशिक्षित र दूरदराजका महिलाको हालत के होला ?
यसबाटै पनि सहज अनुमान लगाउन सकिन्छ । औषधिको प्रयोग होस् वा औजारबाट गरिने गर्भपतन होस् दुवै विधिबाट गर्ने गर्भपतनका लागि सरकारले चिकित्सक, नर्स र अनमीलाई तालिम दिएको छ तर जथाभावी गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दैगएको छ ।
नौ हप्ताको मात्रै गर्भपतन
गर्भपतनमा औजारको विकल्पका रूपमा आएका औषधिले नौ हप्ताभित्रको गर्भलाई मात्रै पतन गराउँछ । औषधि सकेसम्म प्रयोग गर्नुहुँदैन गरिहाले पनि सम्बन्धित तालिम प्राप्त चिकित्सक, नर्स वा अनमीको सल्लाह वा निगरानीमा मात्रै प्रयोग गर्नुपर्छ । यो प्रयोग गरेको २४ घण्टाभित्र गर्भपतन हुन्छ । प्रयोगकर्ताले यस्ता चेतावनी गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।