०८ भदौ २०७६, काठमाडौं
इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेस्रो जित निकालेको छ ।
गएराति सम्पन्न खेलमा मोहमद सलाहले दुई गोल गरेसँगै लिभरपुलले आर्सनलमाथि ३–१ को जित निकालेको हो । लिभरपुलका लागि ४१ औं मिनेटमा जोएल माटिपलले गोल गरी खेलमा अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । डिबक्स भित्र आर्सनलमा रक्षक डेभिड लुइजले सलाहलाई लडाएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि ५८ औं मिनेटमा सलाहले ब्यक्तिगत दोस्रो गोल गरे ।
साविक उपविजेता लिभरपुलले यसअघि नर्विच सिटीलाई ४–१ र साउथह्याम्पटनलाई २–१ गोलले पराजित गरेको थियो ।