बली दिइएका २२७ बालबालिकाको सामूहित चिहान भेटियो



११ भदौ २०७६, काठमाडौं

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविद्हरूले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन्।

कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएको मध्येमा सबैभन्दा ठूलो भएको पेरुको लोकप्रिय समाचार पोर्टल डाअरी अकरियोले जनाएको छ।

राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको अधिकारीहरुले बताएका छन्।

पुरातत्वविद्हरूले यो स्थानमा गत वर्षदेखि उत्खननको काम सुरु गरेका थिए। हुआनचाकोमा ऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन्। यो स्थानमा बालबालिकाको बली दिने पुरानो चलन रहेको किंवदन्तीमा पढ्न पाइन्छ।

‘यो ठाउँमा बली चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको हो।’ प्रमुख पुरातत्वविद् फारेन क्यास्टिल्लोले भने। क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुसी पार्न बली चढाइएको बताए।

उनले अझै पनि यस्ता चिहान भेटिन सक्ने बताएका छन्। ‘यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय। जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ’, क्यास्टिल्लोले भने।

यी बच्चाका शरीर सबैजसो समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका छन्। कतिपयको छाला र कपाल भेटिएको बताइएको छ। हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो।

यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो। पुरातत्वविद्हरूले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए। पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ।

हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो।

चिमु सभ्यता पेरुको तटीय इलाकादेखि इक्वेडरसम्म फैलिएको थियो, तर इन्काहरूले परास्त गरेपछि चिमु सभ्यता सन् १४७५ मा पतन भएको थियो।

प्रतिक्रिया दिनुहोस्