‘क्षयरोग’को बारेमा यसो भन्छिन्, डा. आरती शाह!



१० भदौ २०७६, काठमाडौं

रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी मानिन्छ।

तर, नेपाली समाजको विडम्बना यही छ की, चाहदाचाहँदै पनि आफ्नो स्वास्थ्यप्रति प्रशस्त समय खर्चिन पाइन्दैँन।

जसले गर्दा सानोदेखि विभिन्न घातक रोगले सताउने गर्छ।

यसकै परिणामस्वरुप भिन्न मानिस भिन्नै रोगको शिकार बनी अन्ततः मृत्युको मुखमा पुग्छन्।

त्यसमाथि पनि नेपाली समाज हुर्केकाहरुसँग आवश्यकीय ज्ञानको कमी हुन्छ। त्यसले पनि स्वास्थ्यप्रति कति समय खर्चिनुपर्ने हो।

यसमा पनि उनीहरु दुविधा हुन्छन्।

जुनसुकै रोगहरुलाई निदान नै गर्न नसकेपनि त्यसलाई केही हदसम्म कम गर्ने उपायहरु भने अवश्य छन्।

तर, यसको लागि सबै हामी जानकार भने बन्नुपर्छ।

एक नेपाली एक रोग भनेर व्यङ्ग्य पनि गरिन्छ। यो व्यङ्ग्यले साँच्चै नै नेपाली समाजमा सार्थकता पाएजस्तो लाग्छ।

नेपालीहरु कुनै न कुनै रोगबाट पीडित नै हुन्छन्। त्यसमध्ये धेरै नेपालीहरुलाई सताउने रोग हो, ‘क्षयरोग’

बदलिँदो जीवनशैली तथा गलत खानपानका कारण पनि अहिले नेपाली समाजमा क्षयरोग रोग ठूलो चुनौतीको रुपमा देखा परेको छ।

अझ, कतिपय मानिस क्षयरोग अर्थात टीबी के हो? कसरी सर्छ? भन्ने बिषयलाई नबुझेर अन्यौलमा परिरहेका हुन्छन्।

त्यसैले, यो रोगको सुरुवाती लक्षण आफूमा देखिएता पनि जानकारी नभएका कारण मानिसहरु गम्भीरतापूर्वक लिँदैनन्।

जसकारण मानिसमा विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ।

जुन तपाईँको समस्यालाई मध्यनजर राख्दै हामीले चाबहिलस्थित ‘मेडिकियर अस्पताल’का फिजिसियन डा.आरती शाहसँग कुराकानी गरेका छौँ।

विश्व स्वास्थ्य संगठनका अनुसार ‘नेपालमा बर्षेनी करिब पाँच देखि ७ हजार मानिसको मृत्यु क्षयरोगको कारण हुने गर्दछ।’

जसअनुसार ४४ हजार मानिस क्षयरोगबाट प्रभावित छन्।

क्षयरोग भनेको के हो?

क्षयरोग एक संक्रमक रोग हो।

जुन रोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिसः (my-co bacterium tuberculosis) नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो।

क्षयरोगको सुरुवाती लक्षण कसरी थाहा पाउन सकिन्छ?

–क्षयरोग लागेको सुरुवाती अवस्थामा नै थोरै काम गर्दा पनि थकान महसुस हुनु, कमजोरी महशुष हुने गर्दछ।

–लामो समयसम्म रुघाखोकी लागिरहनु, ज्वरो कम नहुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लागिरहने हुन्छ।

–खोकीसँगै खकारमा रगत देखिन्छ।

–राती बढी मात्रामा पसिना आउनु, मुख सुक्नु, खाना मन नलाग्नु, अचानक तौल घट्न थाल्छ।

क्षयरोग भएको कसरी थाहा पाउन सकिन्छ?

– खकार जाँच

– छातीको एक्सरे

– प्रतिरोधात्मक क्षमता जाँच गर्ने

– जेन एक्सपर्ट मेसिनद्धारा दुई घण्टामै रोेग पत्ता लगाइन्छ

– रगत कल्चर गर्ने

क्षयरोग कति प्रकारका हुन्छन्?

क्षयरोग विभिन्न प्रकारका हुन्छन्।

फोक्सोमा लाग्ने क्षयरोगः (पल्लमुनरी ट्युबरक्लोसिस) (Pulmonary Tuberculosis)

फोक्सोबाहेक शरिरको अन्य भागमा लाग्ने क्षयरोगः (Extra Pulmonary Tuberculosis)

फोक्सोमा लाग्ने क्षयरोग कति किसिमका हुन्छन्?

खकार पोजेटिभ फोक्सोको क्षयरोग (Bacteriologically Confirmed Pulmonary )

खकार नेगेटिभ फोक्सोको क्षयरोग (mycobacterium tuberculosis)

फोक्सोको क्षयरोगमा कस्तो लक्षणहरु देखिन्छन्?

–छाती एकदमै धेरै दुख्नु र सास फेर्नलाई गाह्रो हुनु।

–कम्तीमा २ हप्ता अर्थात सो भन्दा बढी खोकी लागिरहनु,

–तौल घटनु,

–खाना नरुच्नु,

–खकारमा रगत देखिनु,

–साँझपख हल्का ज्वरो र पसिना आउनु,

फोक्सोबाहेक शरिरका अन्य कुन–कुन भागमा क्षयरोगले आक्रमण गर्छ?

फोक्सोबाहेक शरिरका अन्य जुनसुकै अङ्गमा पनि क्षयरोग लागेको रहेछ भने त्यसलाई एक्सट्रा पल्लमुनरी ट्युबरक्लोसिस भनिन्छ।

अन्य भागहरुः ग्रन्थीहरू, हाड जोर्नीहरू, प्रजनन तथा मूत्र प्रणाली,स्नायु प्रणाली,पेट,आन्द्रा र शरिरका अन्य कुनै पनि भागमा क्षयरोगले आक्रमण गर्न सक्ने सम्भावना हुन्छ।

लक्षणहरुः

एक्सट्रा पल्लमुनरी ट्युबरक्लोसिसमा शरिरका प्रभावित अङ्गका आधारमा लक्षणहरू फरक–फरक हुन सक्छन्।

–ग्रन्थीको क्षयरोगः

सुन्निने र कहिले–कहीँं पिप निस्कने पनि हुन्छ।

–हाड–जोर्नीको क्षयरोगः

जोर्नी दुख्ने र सुन्निने हुन्छ।

टिबी मेनिन्जाइटिसः

टाउको दुख्ने, ज्वरो आउने र घाँटी अरठ्ठा हुने,मानसिक भ्रम हुने इत्यादि हुन्छ।

घाँटीको भित्री भागमा हुने क्षयरोगः

घाँटी दुख्ने, स्वर धोद्रो हुने, कहिले–कहीँं स्वर बन्द हुने पनि हुन्छ।

आन्द्राको क्षयरोगः

लामो समयसम्म पखाला लागिरहने, पेट अर्थात फुल्ने हुन्छ।

क्षयरोग कसरी सर्छ?

एक व्यक्तिबाट अर्काे व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ।

जुन हाँछ्यू गर्दा, खोक्दा पनि यसको हावामा मिसिएर एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्देछ।

जुन रोगको उपचार नगरेमा एक जना रोगीले एक वर्षभित्रमा १० जनालाई यसको संक्रमण गराउन सक्छ।

तर, यो रोगको औषधी खान थालेको १ महिनापछि नै बिरामीबाट अन्य व्यक्तिहरुमा यसको किटाणु सर्दैन।

क्षयरोगको कसलाई लाग्छ?

विशेषगरी, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्न सक्छ।

क्षयरोगका किटाणु प्रायः सबैको शरिरमा रहेको हुन्छ।

कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनासाथ त्यस्ता व्यक्तिलाई यो रोगले सजिलै आक्रमण गर्दछ।

किन?

शरिरमा पोषणको कमी, कुपोषण, सन्तुलित आहार, गलत खानपानका कारण शरिरका रोग प्रतिरोधात्मक क्षमता कम हुन जान्छ।

शरिरमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा क्षयरोगका व्याक्टेरियाले शरिरमा सजिलै संक्रमण गर्ने सक्छ।

क्षयरोगबाट बच्नका लागि कस्तो उपायहरु अपनाउनुपर्दछ?

आफ्नो परिवारमा तथा छर–छिमेकमा क्षयरोग अर्थात टिभी लागेको छ भने केही कुराहरु ध्यान दिन आवश्यक हुन्छः

–अत्यधिक सरसफाई ध्यान दिने गर्नुहोस्।

–कोठामा हावा ओहोर–दोहोर हुन सक्ने व्यवस्था मिलाउनुहोस्।

किनभने यस्तो उपाय गर्नाले त्यहाँका क्षयरोगका किटाणुहरु कम हुन्छन्।

–बिरामी बस्ने कोठामा सम्भव भएसम्म घामको किरण पार्नुहोस्।

यसरी घामको किरण आफ्नै कोठमा पार्दा क्षयरोगका किटाणुहरु मर्न सक्छन्।

–बालबालिकालाई बिसिजी खोप लगाउने तर एड्स बिरामी बच्चालाई भने लगाउनुहुँदैन।

–बिरामीले नियमित माक्सको प्रयोग गर्नुहोस्।

–बिरामीले प्रयोग गरेको लुगा वा अन्य सर–समानहरु राम्रोसँग सफा गर्नुहोस्।

क्षयरोगबाट पिल्सिएका व्यक्तिलाई डा.आरती शाहको सुझावः

–क्षयरोग रोग लाग्यो भन्दैमा नडराउनुहोस् जुन दीर्घ रोग होइन।

–आफूलाई क्षयरोग भइसकेपछि आफू सर्तक रहनका साथै परिवारलाई पनि सतर्क अपनाउनुहोस्।

–क्षयरोग लाग्यो भन्दैमा कहिल्यै निराश नहुनुहोस्।

–क्षयरोग नियमित औषधीको प्रयोग गर्नुका साथै पोषिलो खानपान गर्नाले ठिक हुने गर्दछ।

–बिरामी र परिवारका सबै सदस्यले माक्सको प्रयोग गर्नुहोस्।

 

प्रतिक्रिया दिनुहोस्