विशेष राष्ट्रिय अभियान संचालन गर्दै नेकपा



१३ भदौ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले १७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ।

गत ०२ जेष्ठ २०७६ सालदेखि ०५ भदौसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न र ०९ भदौ २०७६ मा प्रचण्डको अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा अन्तरपार्टी निर्देशन–२ जारी गरिएको हो।

शुक्रबार अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित निर्देशनमा विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने सहितका कार्यक्रमहरू छन्।

नेकपा नेतृत्वको भारी बहुमतको सरकार बनेपछि सरकारलाई सहयोग पुग्नेगरी पहिलो पटक सार्वजनिक अभियान गर्न लागेको हो।

‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा संचालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ’ निर्देशनमा भनिएको छ।

साथै नेकपाको वरीयता क्रममा झलनाथ खनाल तेस्रो र माधव नेपाल चौथो स्थानमा रहने तथा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी बैठकमा लगिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्