काठमाडौं महानगरद्वारा मानव सेवा आश्रमलाई गाडी हस्तान्तरण



१३ भदौ २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका विच सहयोगापेक्षी सडकमानव व्यवस्थापनका लागि मानवसेवा आश्रमलाई सवारी साधन हस्तान्तरण गरेका छन् ।

सवारी साधन हस्तान्तरण कार्यक्रममा महानगरप्रमुख शाक्यले मानव सेवा आश्रमले गरेको कामबाट आफू प्रभावित भई सहयोगापेक्षी सडकमानव व्यवस्थापनका लागि पारिवारिक पुर्नमिलन, औषधोपचारका लागि अस्पताल लैजान तथा पारिवारिक पुर्नमिलन गराउँदा सहयोग पुग्ने उद्देश्यले महानगरपालिकाले सोह्र लाख बजेट छुट्याई आश्रमलाई सवारी साधन किन्न सहयोग गरेको बताए ।

महानगरप्रमुख शाक्यले आफ्नै महानगर भित्र समस्या हुँदाहुँदै पनि छेउछाउका नगरपालिकालाई हरित पार्क निर्माणको लागि प्रतिवर्ष दश करोडका दरले बिस करोड, साझा यातायात संचालनको लागि दश करोड र ग्रामिण क्षेत्रमा दश एम्बुलेन्स वितरण गरी नेपालको स्वास्थ्य क्षेत्रमा समेत योगदान पुर्याएको चर्चा गरे ।

महानगर क्षेत्रभित्र विभिन्न मन्दिर परिसरमा मागेर जिविकोपार्जन गर्ने महानगरले बृद्धबृद्धालाई ब्यवस्थापन गर्न दुई ओटा घरको भाडा बापत प्रति महिना एक लाख ६७ हजार  घर भाडा समेत तिरिदिएको बताउँदै मानव सेवा आश्रमको निर्माण हुने घरको लागि तीन करोड विनियोजन गरेको जानकारी समेत दिए ।

कार्यक्रममा विशेष अतिथि ३ नं. प्रदेश सभा सदस्य दीपक निरौलाले नेपालीहरुको धार्मिक संस्कार अनुसार बुवाहरुलाई सम्झने दिन पारेर महानगरले सवारी साधन हस्तान्तरण गर्नु प्रशंसनीय कार्य भएको भन्दै गत वर्ष प्रदेशले नीति बनाएर यो बर्षदेखि मानव सेवा आश्रमलाई सहयोग गरिरहेको समेत बताए ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, प्रमुख संरक्षक डा. गोबिन्द टण्डन, सामाजिक विकास विभाग प्रमुख सनत कुमार थापाले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्