१४ भदौ २०७६, काठमाडौं
पूर्वयुवा तथा खेलकूदमन्त्री गणेश नेपालीको निधन भएको छ।
छोरा बजरंग नेपालीका अनुसार उनको जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार साँझ ७६ वर्षको उमेरमा नेपालीको निधन भएको हो।
विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उनी तत्कालीन प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री थिए।
पाँच वर्षदेखि पक्षघात तथा एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित मन्त्री नेपालीको मृत्युले समग्र जिल्ला शोकमग्न बनेको छ।
विसं १९९९ मा जन्मिएका मन्त्री नेपालीले २०२७ सालमा राजनीतिमा लागेका थिए।