१४ भदौ २०७६, काठमाडौं
मकवानपुरमा जन्मिएर प्रा.वि सम्मको शिक्षा त्यही पुरा गरेका केशव कुमार शर्माले बसाईसराईसँगै चितवनबाट माध्यामिक शिक्षा पुरा गरे । पुल्चोक ईञ्जिनियरिङ्ग क्याम्पसबाट स्नातकोत्तर गरेका शर्मा २०५३ सालदेखि सडक विभागमा ईन्जिनियरको रुपमा आफ्नो निजामति सेवामा प्रवेश गरेका हुन् ।
महानिर्देशकशुरुको समयमा पढ्दै जागिर खाएका शर्माले स्नातकोत्तरपछि बेलुकीको समयमा पढाउने काम पनि गरे जुन करिब ५ महिना अघि सडक विभागको महानिर्देशक भएपछि रोकियो ।
सडक ईञ्जिनियरको रुपमा ईलाम जिल्लाबाट निजामति सेवामा प्रवेश गरेका शर्माले विभिन्न जिम्मेवारीमा रहेर करिब २ दर्जन जिल्लाको सडक निर्माणमा संलग्न भए । पछिल्लो ३ महिना सडक विभागको उप–महानिर्देशक भएका उनी २०७५ चैत्र १८ गतेदेखि सडक विभागको महानिर्देशकको रुपमा सडक निर्माणको कामलाई नेतृत्व गरिरहेका छन् ।
शनिवार दिउँसो करिब १ बजे सडक विभागको कार्यालय पुग्दा उनको टेबलमा एकातिर काम गरिसकेका फाईलको चाङ थियो भने अर्कोतर्फ अध्ययन गर्ने फाईलको चाङ देखिन्थ्यो । कुराकानीको शुरुमा काम गर्दै जवाफ दिने सोचमा रहेका उनले हाम्रो अनुरोधपछि केहि समय कामलाई थाति राखेर कुराकानीमा जोडिए । शनिबारपनि काम गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनले सहज उत्तर दिए, ‘कार्यालय समयमा भेटघाट र मिटिङ्गहरु हुने भएकोले काम गर्ने वातावरण नै हुँदैन । महत्वपूर्ण फाईलहरुमा निर्णय गर्नुपर्ने भएकोले प्रायजसो कार्यालय समयभन्दा अघि, कार्यालय समयपछि र विदाको दिनलाई बढी उपयोग गर्नेगर्छु ।
उनी भन्छन्, ‘प्रजातन्त्र प्राप्तिपछि सबैभन्दा विकास भएको क्षेत्रमध्येमा सडक निर्माण पनि पर्दछ । यद्धपी जनताको दैनिक जीवनमा सबैभन्दा बढी सडक नै प्रयोग हुने भएकोले गरेको कामको जस नपाउने क्षेत्रपनि सडक नै हो । तथ्यांक हेर्नु भो भने गतवर्ष नेपालको ईतिहासमा सबैभन्दा बढी ९८८ किलोमिटर सडक कालेपत्रे भयो । २४३ वटा सडक पुलहरु निर्माण सम्पन्न भए जुन अघिल्ला वर्षहरुको तुलनामा अत्याधिक काम भएको छ । तर जनताको दैनिक जीवनसँग जोडिएपछि धेरै गरेका कामहरु ओझेलमा पर्ने र थोरै कारणले जनतामा आक्रोश पैदा हुने गरेको देखिन्छ ।’
महानिर्देशक शर्मासँग उपत्यका लगायत देशभरीको सडकको अवस्था र यसवर्ष भित्र गरिने कामहरु बारे परिवर्तन खबरले गरेको कुराकानी :
यति लामो समय सडक विभागमा काम गर्नुभयो । सोचेअनुरुपसडक नबन्नुको कारण चाहीँ के हो ?
सार्वजनिक क्षेत्रमा गरेका कामहरुमध्ये सबैभन्दा धेरै काम भएको क्षेत्र सडक नै हो । तर सबै मान्छे भोगी राख्ने, ठोक्की राख्ने हुनाले केही भएन भन्ने फिलिङ्स चाहीँ हो । नत्रभने पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिण सडकहरु एक जिल्ला बाहेक ७६ वटै जिल्लामा सडक संजाल पुग्नु चानचुने कुरा होईन् । प्रशस्त ग्रामिण सडकहरु समेत बनेका छन् । पक्की रोड चाहीँ पुग्न नसकेको हो । यो अवस्था सबै बिकासशील देशहरुमा हुने अवस्था हो । किनभने सडक निर्माण एकदम खर्चिलो काम हो । सडकमा पोखेजस्तो देखिने अलकत्रा केहीजस्तो नदेखिएपनि प्रतिकेजी रु. १०० पर्नजान्छ ।
भनेपछि साधनस्रोत सिमित भए ?
हजुर, साधन स्रोत सिमित रहे । के गर्ने भन्ने प्राथमिकतामा अलमल रह्यो । जस्तो कतै वडैवडा जोड्ने सडक निर्माण भए । कतै जिल्लैजिल्ला जोड्ने सडक पनि प्राथमिकतामा परेनन् । पहुँचका आधारमा काम गर्ने परिपाटी विकास भयो । अहिलेको चुनौती भनेको बनेका सडकलाई बाह्रैमास चल्ने बनाउने र सडकस्तर बृद्धि गराउने हो । बन्नमा कमजोरी भएको होइन । बनेका सडकहरु बलियो र भरपर्दाे हुन सकेनन् ।
बन्न चाहीँ बने गुणस्तरीय बनेनन् भन्ने छ नि ?
हो ।
नेपालका सडकहरुमा चाहीँ कतिपय समयमा सडक क्षमताभन्दा बढी भार क्षमताका सवारी साधन चल्ने भन्ने सुनिन्छ, किन यस्तो ?
गुणस्तर पनि खर्च गर्ने क्षमतामा भर पर्छ । त्यसैले हामीले कतिपय अवस्थामा कालोपत्रे गर्ने नाममा वाटासिल मात्र गर्याै । जुनचाही साह्रै कमसल गुणस्तरको गर्याै र ति बिग्रे । मुग्लिनबाट नौबिसेसम्मको सडक २०५० सालमा निर्माण गरी हामीले बुझेका हौं । जुन अहिलेसम्म पनि भत्काएर बनाउनु परेको छैन । त्यसैगरी पूर्वपश्चिम राजमार्गको कतिपय सडक खण्डहरु निर्माणको २०/२५ बर्षसम्म पुननिर्माण गर्नुपर्ने अवस्था छैन । त्यसैले हामीसँग राम्रो टिकाउ भएको उदाहरण पनि छ । टिकाउ नभएको उदाहरण पनि छ । अनि त्यो टिकाउ नहुनेमा चाहीँ धेरैजसो ग्रामीण सडक र शहरी सडकहरु छन् ।
यस्ता सडकहरु भूगोल र पानी व्यवस्थापनको अभावले नटिकेका हुन् । र कतिपय बढी भार क्षमताको कारण बिग्रिएका हुन् ।
अहिले चाहीँ सडक विभागले कतिवटा सडकहरु निर्माण गरिहेको छ वा कति सडकहरु तपाईहरुले हेर्नुपर्छ ?
राजमार्ग भनेर हामीले ८० ओटा भनेका छौं तर हेर्नचाही असङ्ख्य हेरिरहेको छौं । संघबाट बजेट बिनियोजन भएका राष्ट्रिय सडकहरु भन्दा अरु पनि हेरिरहेका छौं । खासमा हामीले राजमार्ग मात्र हेर्नुपर्ने हो । तर अहिले प्रदेश र स्थानीय तहको क्षमता बिकास भईनसकेको कारणले हामीले धेरै हेर्नुपरेको छ ।
बिगत पाँच महिनादेखि तपाईले नेतृत्व गरिरहनु भएको सडक बिभागले तपाईको नेतृत्वमा बुँदागत रुपमा के पाएको छ ?
हुनत: आर्थिक बर्षको अन्तिम तीन महिना मैले काम गरे । त्यो अवस्थामा पनि कस्तो भयो भने एक महिना जति ठेकेदारहरुले सम्झौताको विषयलाई लिएर काम गर्ने वातावरण बनेन । अर्काे एक महिना जति अलकत्राको अभाव भईदियो र पनि हामीले यो बर्ष ९८८ किलोमिटर सडक कालोपत्र गर्न सक्यौं जुन सडक विभागको इतिहासमा अहिलेसम्मको सबैभन्दा धेरै हो ।
हुनत, अझै १०० किलोमिटर जति बढ्थ्यो । अन्तिममा बिटवीनको अभावले गर्दा हामीले गर्न सकेनौं अनि सडक विभागले ११० वटा सम्म पुल सम्पन्न गर्न सकेकोमा यो बर्ष २४३ वटा पुल हामीले सम्पन्न गर्यौं । वास्तवमा हामी नेपालीको बिर्सिने बानी छ, पहिलो बर्ष राम्रो भनेको मान्छे चारपाँच बर्षपछि साह्रै खराब र पहिले नराम्रो भनेको भनेको मान्छे चारपाँच बर्षपछि साह्रै राम्रो पनि हुन्छ । त्यसैले पोहोरको अहिलेको नै हामी बिर्सिन्छौं ।
म चाहीँ सडकमा नै साढे दुई दशकदेखिनै सडक क्षेत्रमा काम गरेको ब्यक्ति भएकोले सडकको बारेमा म बिर्सन्न । म बनस्थलीतिर बस्छु पोहोर म त्यहाँबाट अफिस आउँदाखेरी कुनकुन सडकमा कति खाल्डा थिए र अहिले आउँदा खेरी कति छन् भन्यो भनेदेखि निश्चित रुपमा राम्रो छ तर निर्माणाधिन सडकहरुको अवस्था खराब छ । जस्तो गोकर्णदेखि सुन्दरीजल जाने सडक, जोरपाटीदेखि साँखु जाने सडक, चापागाउ अथवा गोदावरी जाने सडकहरु, टोखा जाने सडकहरु नराम्रा छन् । तर त्यो पनि के भयो भने ठेक्का भयो ०७१ सालतिर ३ बर्ष केहीपनि काम भएन । घर भत्केन, बिजुलीको पोल भएन भनेर जस्ताकोत्यस्तै बसे । यो सरकार आएपछि यसरी बस्न हुँदैन भनेर साउन ९ गते चाहीँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा पिच गर भनेर प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्रीज्यूले नै हस्तक्षेप गरेपछि करिब पाँच प्रतिशत काम भएका सडकहरुमा ५० प्रतिशत काम भए ।
म बहाल भएपछि राष्ट्रकै बेईजत भयो भनेर थानकोट–नागढुङ्गा सडकको साईटमा हेर्न गए । त्यहाँ भएका समस्याहरु सुल्झाईयो र कमसेकम कसैले पनि आवाज उठाउने अवस्था रहेन । भलै चेकपोष्टनेर घर भत्काउन र २०० मिटर पिच गर्न अझै बाँकी छ ।
चाबहिल–जोरपाटी–साँखु सडकमा त केही भएन नी ?
म आईसकेपछि चाबहिल–जोरपाटी–बागमती पुलसम्मको सडक पनि साढे दुई किलोमिटर पिच भएको छ । त्यहाँ २३०० मिटरमा समस्या छ । हामीले २३०० मिटर बनाएको चर्चा छैन । १३०० मिटर बिग्रेको चाहीँ हाईलाइट भएको छ । त्यो पनि ढलको कारण जुन सडक विभागको कार्यक्षेत्र होइन । त्यो काम पनि हामी मंगाल बनाउँदै हिडेर सम्पन्न गर्यौ । लगातारको पानीले पनि काम प्रभावित भएको छ । पानी रोकिनासाथ असोज कात्तिकभित्र त्यो सडक पनि साँखुसम्म सम्पन्न गर्छौ । त्यसपछि केही निर्माणाधिन सडक मात्र बाँकी हुनेछन् । जुन आउँदो आर्थिक बर्षसम्म सबैजसो सम्पन्न गर्नेछौं । पहिलेका ठेक्काहरु तुरुन्त तोड्दा सरकारलाई करोडौंको नोक्सानी हुने र नयाँ ठकेदारले अरुले गरेको काम गर्ने सम्भावना कम हुने भएकोेले सकेसम्म पुरानै ठेकेदार मार्फत काम गर्न खोजेका छौं । हामीले सदासयता देखाएका छौं । काम नगर्ने ठकेदारलाई कारवाही गर्छौ ।
सदासयताको नाममा नेकपाका अध्यक्ष प्रचण्डको घरबेटी अर्थात शैलुङ कन्सट्रक्सनलाई पूर्वाग्राही ढंगले बढी छुट दिईएको आरोप छ नी ? चाबहिल–जोरपाटी–साँखु सडक समेत शैलुङकै कारणले नबनेको भन्ने के छ ?
कलंकी नागढुंगा सडक चाही शैलुङको हो । ठिक उल्टो छ उत्तर चाहीँ त्यहाँ कुनैपनि हालतमा हामी तपाईलाई कारवाही गर्छाै भनेकोले बरु शैलुङको काम भयो । जोरपाटी साँखुमा पाँच वटा प्याकेज छ । जुन एउटा पनि शैलुङको होइन । तर शैलुङले गर्नुपर्ने अरु सडक पनि गरेको छैन । जस्तो नगरकोट जाने बाटो, नुवाकोट जाने बाटो ।
बूढानीलकण्ठको कपन आसपासका केही बाटाहरु पनि शैलुङ कन्सट्रक्सनका कारण भएका छैनन् ?
हो, निर्माण भएका छैनन् । सदासयता हामी कुनै मान्छे हेरेर दिदैनौं । हाम्रा दुईटा बाध्यता छन् । जस्तो ०७१ को रेटमा त्यो पनि ३०/३५ प्रतिशत बिलो गरी हालेका ठेक्काहरु छन् । अहिलेको रेट गर्ने बित्तिकै करिब डबलको हाराहारीमा पर्छ । अहिलेको पैसा भन्दा डबल पैसा लाग्ने एउटा समस्या । अर्काे समस्या उनीहरुले केही न केही काम त गरेका छन् । बेसकोर्स गर्यौ त्यहामाथि अर्काे लेयर गर्न नयाँ ठेकेदार हिच्किचाउँछ । किनकि उसले कस्तो गरेको छ कस्तो भनी नयाँ ठेकेदार टेण्डर हाल्न नै हिचकिचाउँछ । त्यहाँ बिग्रिए मलाई नै समस्या पर्छ भनी नयाँ ठकेदार छान्नै गाह्रो हुन्छ । नयाँ ठेक्कामा त्यो सबै फालेर नयाँ ढंगले काम गर भन्दा झन धेरै खर्च लाग्ने भयो । त्यहाँभन्दा माथि गर भन्दा अर्काेले स्वीकार्ने अवस्था रहेन । यो दुइवटा कारणले गर्दा हामीले सदासयता देखाउनु परेको हो । त्यो कसैको घरबेटी वा पार्टी निकट भनेर होइन । काँग्रेसकै ठेकेदार भनेर चिनेका भनिएकाहरुले पनि पाएका छन् । प्रचण्डकै घरबेटी भनेर छोडिएको छैन । वहाँको एडभान्स पेमेन्ट ज्ञारेन्टी तानेका छौं, जरिवाना लाएका छौं । राजनीतिक संलग्नता आफ्नो ठाउँमा होला । पेशागत काम गर्न राजनीतिक संलग्नताले हुँदै हुँदैन । त्यसमा म आफैं एकदम कडा छु । प्रष्ट कुरा, राजनीतिक आवरणमा कसैले पनि छुट पाउँदैनन् ।
खासगरी, अघिल्लो सरकारले बजेट नै नभएपनि अर्बौका टेण्डरहरु खोलेर सडक निर्माण लथालिंग पारेको सुनिन्छ नि ?
त्यो पनि बहुबर्षिय सहमतिको नाममा साह्रै धेरै ठेक्काहरु भए बिगतमा । मलाई के लाग्छ भने सरकार साहैं अस्थिर छ महिना, ८ महिनामा सरकार फेरिरहने । सरकारले केही काम गरेन भन्दा ठेक्का त गर्यौ नि भन्ने नाममा साह्रै धेरै टेण्डरहरु भएका छन् । सडक सबैलाई आवश्यक छ । दिनमा यति धेरै निवेदन आउँछन् कि धानेर साध्य छैन । मलाई लाग्छ स्थानीय सरकारमा गएको बजेट मध्ये ८० प्रतिशत सडक निर्माणमै खर्च भएको छ । त्यसले गर्दा पनि पुराना टेण्डरहरुको साढे तीन खर्बको पुरानो ठेक्काको दायित्व बोकेर बसेका छौं ।
उपत्यकामा पनि त्यसैको प्रभाव हो ?
पहिला बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कोटेश्वर, बानेश्वर, माईतीघर र लैनचौर बूढानीलकण्ठ सडकमा केही काम सफल भयो । त्यसपछि यो त गरिहाल्नुपर्छ भन्नेतिर हावा बग्यो । अनि पूर्व तयारीको काम गरिएन । पोल सार्ने, घर भत्काउने, ठाउँ खाली गर्ने, पाईपहरु सार्ने, ढलहरु सार्ने काम नगरीकन ठेक्का अनि ति ठेकेदारहरुलाई निहुँ भयो । त्यसको कारण तीन बर्षसम्म काम ठप्पै भयो । अहिले प्रभावकारी ढंगले काम भएको एक बर्ष भयो । अब पुरानो ठेक्काहरु कात्तिकसम्मको कामको प्रगति हेरेर सक्ने जस्तोलाई निरन्तरता, नसक्नेलाई तोड्ने निर्णय गर्छौ ।
काठमाडौंका सडकहरु सडक विभागले समयमै सडक नबनाउने र यसमा राजनीतिक दलहरुले राजनीति गर्ने एउटा माध्यम बनेको छ । जस्तै हिजोपनि काँग्रेस केन्द्रिय सदस्य अनि संघीय सांसद गगन थापाले धर्ना गरको सुनियो । खासमा के भएको हो ?
खासमा हिजो म थिइन् । किनभने कसैले समय लिनुभएको पनि थिएन । त्यतिबेला म मिटिङको लागि प्रधानमन्त्री कार्यालय गएको थिए । मैले पनि देखे, सुने । अहिले निकै प्रगति भएको समयमा यस्तो भयो । आजभन्दा तीन बर्ष पहिले भएको भए अझ राम्रो हुन्थ्यो । काम नभएको ४ नं. क्षेत्रबाट जनप्रतिनिधिहरु आउनुभयो । त्यो चाहीँ हामीले पन्ध्र दिनभित्र साधनस्रोत प्रयोग गरेर काम गर्नुस् अन्यथा तपाईहरुको ठेक्का हामी तोड्छौ भनेर ८ गतेको गोरखापत्रमा सूचना निकाली सकेका थियौं । हिजो १३ गते वहाँहरुले प्रदर्शन गर्नुभयो ।
भनेपछि, यो सस्तो लोकप्रियताकै लागि हो त ?
म त्यसरी भन्न चाहन्न । जनताले सडक चाहेका छन् । काम भएका छैनन भनेका छन् । अब गोरखापत्रमै सूचना निकालेर हामीले कारवाही गर्ने भनीसकेपछि हुनसक्छ वहाँहरुको आफ्नै किसिमको ब्याख्या गर्नभयो तर हामीलाई त्यस प्रदर्शनको कुनै मतलब छैन । हामी आफ्नो नियम कानुनले दिएको काम गरिहेका छौं ।
अब यस्तो प्रदर्शनले काम केही प्रभाव पार्छ कि पार्दैन ?
होइन, त्यसले त प्रभाव कसरी गर्ला र ? हामीलाई त घर भत्काई दिन प्रदर्शनी गर्ने, पोलहरु सार्न सम्बन्धित निकायमा सहयोग गर्ने गर्दा चाही प्रभाव पथ्र्यो । कतिपय अवस्थामा खानेपानीका पाईप र ढलको समस्याले समस्या पारेका छन् । ति ठाउँमा पहल गरे सहयोग हुने थियो ।
तपाईहरुले त देशभरीकै सडक हेर्नुहुन्छ । कम्तिमा उपत्यकाको सडक निर्माणमा समन्वय गरेर काम गर्न सक्नुहुन्न ? ढल, खानेपानी र सडक विभाग मिल्न सक्दैन र ?
समन्वय मात्रै हो र ! हामी के गर्छौ भने तपाईको यो खानेपानी सार्न कति पैसा चाहियो । हाम्रो बजेटबाट दिन्छौं । वहाँहरुले गरेको स्टमेट अनुसार । यो पोल हामीलाई टाईममा सारिदिनुस् भन्दा हाम्रै जग्गामा सारेको पोलको, तारको र कामदारको ज्याला गरी मागेजति दिदापनि समयमा गरिदिनुहुन्न । अनि दोषजति हामीले बेहोर्नुपर्ने ।
यो कुरा त जनतालाई बुझाउनु पर्याे नि ?
यहाँहरु जस्ता मिडियाले बुझाईदिनु पर्याे । हाम्रो आफ्नो मिडिया छैन । हामीले लेख्दै हिडेर भएन ।
अहिले प्रधानमन्त्री कार्यालयमा विशेषगरी डा. राजन भट्टराई नेकपा उपत्यका समन्वयको अध्यक्ष भएपछि नियमित सडक निर्माण प्रगति र अप्ठ्यारोको रिपोर्टिङ्ग वा नियमित अनुगमन हुन्छ भन्ने सुनिन्छ नि ?
हो, हाम्रो मन्त्रालय अन्तर्गत मात्र सबै निकाय पर्दैनन् । खानेपानी, ढलनिकास, विद्युत, दुरसंचार हाम्रो अन्तर्गत पर्दैनन् । हाम्रो मन्त्रालयले मात्रै त्यसको कोअर्डिनेशन वा ईन्सट्रक्सन गर्न नसक्ने अवस्था हो । तर प्रधानमन्त्री कार्यालय अन्तर्गत सबै अफिसहरु पर्छन् । त्यसैले प्रधानमन्त्री कार्यालयलका भौतिक पूर्वाधार सचिवको संयोजकत्वमा हामीलाई सहयोग भईरहेको छ । हप्ताहप्ताको कार्यप्रगति कस्तो हुन्छ रिपोर्टिङ्ग भइरहेका छ । परेको अप्ठ्यारोको गाँठो फुकाउन निकै सहयोग भएको छ । अब समन्वयमा निकै प्रगति हुन्छ ।
अहिले प्रधानमन्त्री कार्यालयमा साप्ताहिक रिपोर्टिङ्ग नै हुन्छ ? उपत्यकाको सडकको ?
हुन्छ ।
अन्त्यमा केही छुट्यो की ?
मैले अघि भने हामीसँग मिडिया हुँदैन । हाम्रो कामको सकारात्मक प्रचार हुँदैन । चुच्चेपाटी–जोरपाटी सडक पनि गतबर्ष हेरौं, अहिले हेरौं । अहिलेचाहीँ १२/१३ सय मिटर बाँकी छ । त्यसलाई केही पनि राम्रा हुँदै छ भनेर देखाउँदा जनतामा उत्साह सिर्जना हुन्छ । १३ किलोमिटर सडक राम्रो छ दुई किलोमिटर सडक नराम्रो हुदाँ एउटा दुईटा खाल्डोलाई पनि मिडियाले प्रमुख शिर्षक बनाएर देखाईदिदा हाम्रो कामको चर्चा भएको छैन । जनतामा निराशा छायो ।