वेलायती प्रधानमन्त्री विरुद्ध हजारौंको प्रदर्शन



१५ भदौ २०७६, काठमाडौं

संसद निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै वेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन्।

प्रदर्शनका लागि राजधानी लण्डनसहित देशका दर्जनौं सहरमा हजारौं प्रदर्शनकारी भेला भएका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

प्रदर्शनकारीहरुले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी वेलायती छायाँ अर्थमन्त्री जोन म्याकडोनेलले संसद निलम्बन गर्नुलाई लोकतन्त्र मास्ने प्रयासको संज्ञा दिए।

संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको आग्रहप्रति वेलायती महारानी एलिजावेथ द्वीतीयले चासो राखेकी थिइन्। प्रधानमन्त्रीको सो निर्णयप्रति सत्तापक्षका सांसदले पनि विरोध जनाएका छन्।

प्रधानमन्त्री जोनसनले भने आफ्नो निर्णय सही भएको दावी गर्दै आएका थिए। उनले गत बुधबार आउँदो अक्टोबर १४ तारिखसम्मका लागि संसद निलम्बनका लागि महारानी एलिजावेथ समक्ष पेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्