भूतपूर्व गोरखा सैनिकद्वारा भोक हड्तालको चेतावनी



१७ भदौ २०७६, काठमाडौं

बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा पाउनुपर्ने माग राख्दै वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरुले आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

असमान व्यवहार हटाउन बेलायत सरकारलाई गरेको पटक–पटकको आग्रह सुनुवाइ नभएको भन्दै गोर्खा सत्याग्रह संघर्ष समितिले भोक हड्तालमा उत्रिने चेतावनी दिएको हो। गोर्खा सत्याग्रह संघर्ष समिति भूतपूर्व ब्रिटिस गोरखा सैनिकको हक–हितका पक्षमा आवाज उठाउँदै आएको संस्था हो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, हड्तालको चेतावनी दिएको गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकारलाई आउँदो २४ अक्टुबरसम्मको समयसीमा दिएको छ। उक्त समयसीमाभित्र पर्खिने र त्यतिबेलासम्म पनि बेलायत सरकारले मागबारे सुनुवाइ नगरे भोकहड्तालमा उत्रिने उनीहरूको चेतावनी छ।

बेलायती सरकारविरुद्ध संघर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूको चाहना संघर्ष नभएर वार्ता भएको बताएका छन्। साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनले आफूहरूले नेपाल र बेलायती सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको बताए।

‘नेपाल र बेलायतका दुवै सरकार हाम्रा मागबारे छलफल गरेर निष्कर्षमा पुगुन् भन्ने हाम्रो चाहना छ’, राईले बेलायत सरकारलाई चुनौती दिँदै चीनको साउथ मर्निङ पोस्टसँग भनेका छन्। संवादमार्फत समाधान गर्न दुई सरकारले उदासीनता देखाए सास रहेसम्म हड्ताल गर्ने चेतावनी उनले दिएका छन्। ।

बेलायती गोरखा सैनिकको इतिहास लामो छ। पहिलो विश्वयुद्ध आफ्नो पक्षमा पार्न बेलायतले पहिलोपटक नेपाली सैनिकको प्रयोग गरेको थियो। त्यसयता उसको राष्ट्रियता र स्वाधीनताका लागि भर्ती भएर कैयन नेपालीले सेवा गरेका छन्।

यद्यपि, त्यहाँको सेनामा भर्ती हुने बेलायती र नेपालीबीच विभेदको गहिरो खाडल रहेको भन्दै भूतपूर्व बेलायती गोरखा सैनिकहरू रुष्ट छन् । उनीहरूले बेलायत सरकारको असमान व्यवहारविरुद्ध संघर्ष गर्दै आइरहेका छन् । यसअघिका दबावहरूले आफ्ना माग सुनुवाइ नभएपछि पछिल्लोपटक उनीहरूले भोक हड्तालको चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्