१७ भदौ २०७६, काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दाबी गरेका छन्।
उनले नेपालमा भन्दा छिटो कर्मचारी समायोजन भएको विश्वमा कुनै मुलुक भए उदाहरण दिन पत्रकारलाई चुनौतीसमेत दिए।
राजधानीमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले प्रशासनिक काम र आर्थिक वृद्धिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दाबी पनि गरे।
‘संघीयता अन्तर्गतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन, संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन’ उनले भने ।
मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको पनि बताए।