१७ भदौ २०७६, काठमाडौं
‘हरितालिका तीज’ नेपाली हिन्दु नारीहरुले पनि निकै हर्षोल्लासका साथ मनाउने गर्दछन्।
तीजमा महिलाहरु मिठो मसिनो मात्रै खादैँनन्। उनीहरु निराहार ब्रत पनि बस्छन्। अविवाहिताहरु राम्रो पति पाउँ भनी ब्रत बस्ने गर्छन् त विवाहितहरु पतिको दीर्घायुको निम्ति बस्छन्।
हुन त यो पनि पहिलेदेखि चलिआएको रीति। एकैचोटी त्याग्न पनि राम्रो नहोला। तर, मान्यता यो होकी एउटा सर्वश्रेष्ठ मानिस जमानाको रफ्तारसँगैं परिवर्तनशील हुन भने आवश्यक छ।
यस्तो लाग्छ, तीजले महिलाहरुलाई ‘दोस्रो दर्जाको नागरिक’भनी छुट्याइदिएको छ। महिलाहरु संस्कृति, परम्परा अनि चालचलनको संज्ञा दिइएको तीजको अन्धविश्वासका पहरेदार बनिरहेका छन्।
परापूर्व कालमा पार्वतीले तीजमा शिवजी पति पाउँ भनी निराहार ब्रत बसेका कारण शिवजीलाई पति पाएको किंवदन्ती अनुसार महिलाहरुले ब्रत बस्ने गरेका छन्। यद्यपि पछिल्लो समय तीजविरुद्ध चर्का स्वरहरु पनि गुन्जिन थालेका छन्। तीज मनाउने महिलाहरुको संख्यासँगैं नमान्ने महिलाहरुको संख्या पनि कम छैन।
तीजको ब्रत पितृसत्तात्मक समाजको उपज हो। मुलुकमा पितृसत्तात्मक सामाजिक प्रणाली विद्यमान छ, भन्ने कुराको उदाहरण हो। तीजले पुरुषलाई नै उपल्लो वरीयता प्रदान गरेको छ। यसले अप्रत्यक्ष रुपमा पुरुष नै सर्वश्रेष्ठ र महत्वपूर्ण व्यक्ति हुन् भन्ने सन्देश दिएको छ। महिलाहरुलाई भने कमजोर, सोझो, अस्थित्वहीन र गौण पात्रको संज्ञा।
तीजको ब्रत बस्नु पुरुषहरुमा अहमत्याँईको भावना विकास गराउनु अनि महिलाहरुमा हिनताबोधको मनोवृत्ति जागृत गराउने कर्म गर्नु हो। किनकी पुरुषको लामो आयुका लागि महिलाले ब्रत बसिदिनु तर, पुरुषले आफ्ना श्रीमतीलाई ब्रत बस्नुबाट रोक्नु यसैको उदाहरण हो।
कुनै युगमा पार्वतीले शिवलाई पति पाउँ भनि ब्रत बसिन् रे। अनि शिव नै पति पाइन् रे। के सत्य यही नै हो त? पार्वतीले ब्रत बसेकै कारण शिव पति पाइन् या अन्य कुनै कारणले? अनि फेरि शिव पार्वतीको त्याग तपस्या देखेरै प्रभावित भए अथवा अन्य कुनै कारणले? यदि पार्वतीको घोर तपस्या देखेरै शिव प्रशन्न भएका हुन् र पार्वतीको पति बन्न राजी भएका हुन् भने शिवको नियतमाथि चाहिँ प्रश्न उठाउनु पर्छ। हुन सक्छ उनी, चारकी मनोवृत्तिका पो थिए कि?
मार्स्कवादी विचारक आन्टोनियो ग्राम्सीले भनेझैं रहस्यको भरमा भ्रमको खेती गर्नेहरू असहाय र गरीबका मुख्य शत्रु हुन्। यसलाई चिर्न रहस्यको पर्दाफास हुन जरुरी हुन्छ। रहस्य रहस्यमै सीमित रह्यो भने अन्धविश्वासको जन्म त्यहीँ रहस्यबाट हुन्छ। त्यसैले कुनै पनि रहस्यको कारण सम्बन्ध उद्घाटन गर्न सकिएमा मात्र अन्धविश्वासविरुद्ध विजय हासिल गर्न सम्भव छ।
यसरी यस्ता तथ्यहीन कुराहरुमा विश्वास गरेर निराहार ब्रत बस्नुभन्दा बरु यो संसारमा रहेका हजारौं दीन दुःखी अनि हिंसामा परेकाहरुको लागि अनसन बस्नु कहाँ हो कहाँ राम्रो हुन सक्छ।
हिंस्रक र पीडक गुण कदापि मानवीय गुण हुन सक्दैनन्।
पुरुष अर्थात् श्रीमानहरुमा परानुभूति र संवेदनाको भाव हुनैपर्छ। विश्वासका नाममा विद्यमान यस्ता तर्कहीन अन्धविश्वासको पछि लागेर आफ्नो आयुको कामना गर्दै ब्रत बस्ने श्रीमतीलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्याउने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने आँट पुरुषमा हुनैपर्छ।
अतः मानव जातिमा मात्र हुने पर अनुभूतिको भाव पुरुषले किन नदर्साउने? हामीले आफूलाई अरू जस्तै र अरूलाई आफू जस्तै किन नसोच्ने?
सामाजिक अन्धविश्वास, कुरीति तथा कुप्रथालाई हटाइ सबै मानवअधिकार सबैका लागि र सधैँका लागि प्रत्याभूत गर्न हामी सबै एकजुट भई अभियानरत हुनुको विकल्प नै के नै होला र? फेरि यो त समयको माग पनि त हो। आउनुहोस् न जुटौं…