१८ भदौ २०७६, काठमाडौं
बुधबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला भरतपुर विमानस्थलमा सँगसँगैं उत्रिए।
बिहान करिब ९ बजेतिर विमानस्थलमा उत्रिएका उनीहरुलाई स्वागत गर्नको लागि सत्तापक्ष तथा प्रतिपक्ष कार्यकर्ताहरुसँगैं सरकारी अधिकारीहरु पनि पुगे।
विमान अवतरणपछि गफिँदै अगाडि बढिरहेका उनीहरुलाई पहिलो स्वागत गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत पुगे। प्रजिअ बस्नेत स्वागत गर्न बहालवालामन्त्री भएकाले भट्टराईतिर लम्केका मात्रै के थिए, नेता सिटौलातिर इङ्गित गर्दै मन्त्री भट्टराईले भने ‘पहिले दाईलाई…’
त्यहीँअनुसार सबैजनाले उही मर्यादामा स्वागत गरे।
चितवन क्षेत्र नं– २ का संघीय सांसद एवं नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गर्दै भने, ‘मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ, लोकतन्त्र र गणतन्त्र यही पार्टी मिलेर ल्याएका हौं, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ।’ साथै उनले युवाहरुले यस्तो खालको संस्कार गर्नुपर्ने बताए।
यसअघि पनि मन्त्री भट्टराईले आफ्नो नेपाल भ्रमण वर्षको कार्य योजना प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई उनकै निवास पुगेर सुनाएका थिए। जसलाई अधिकांश राजनीतिज्ञ तथा सरोकारवालाहरुले राम्रो कामको संज्ञा दिएका थिए।