युवा परिषद् नेपाली युवाहरुको आशाको केन्द्र हो : उपाध्यक्ष ढुङ्गेल



१९ भदौ २०७६, काठमाडौं

माधव प्रसाद ढुङ्गेल २०३४ भाद्र २४ गते रामेछापमा जन्मिएका हुन् । कानूनमा स्नातक ढुङ्गेलले समाजशास्त्र र राजनीति शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेका छन् ।

नेपाली विद्यार्थीहरुको लोकप्रिय संगठन अनेरास्ववियुको विभिन्न कमिटी हुँदै केन्द्रिय अध्यक्ष बनेका ढुङ्गेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत हुन् । नेपाली युवाहरुको विकास, सिर्जनशीलता, उद्यमशीलतालाई प्रोत्साहन गर्न नेपाल सरकारबाट गठन गरिएको राष्ट्रिय युवा परिषद्को पहिलो कार्यकारी उपाध्यक्ष हुने सौभाग्य समेत ढुङ्गेलले पाएका छन् ।

बौद्धिक, जुझारु र समन्वयात्मक भूमिका निर्वाह गर्ने कुशल क्षमता भएका ढुङ्गेलसँग राष्ट्रिय युवा परिषद् गठन, परिषद्ले हालसम्म गरेका काम र भावी योजना तथा कार्यक्रमको विषयमा कार्यकारी उपाध्यक्ष ढुङ्गेलसँग गरिएको विशेष कुराकानी :

युवा परिषद्को आवश्यकता किन थियो ? यसको अवधारणा कसरी सुरु भयो ?
नेपालमा युवाहरुका सामाजिक संघसंस्थाहरु, राजनीतिक संघसंस्थाहरु, पत्रकारहरुले समेत युवाको छुट्टै संस्था चाहिन्छ भनेर निरन्तर एड्भोकोसि गरे । त्यो एड्भोकेसिलाइ २०६३ सालपछि बनेको सरकारले स्वीकार गर्यो । नेपालमा युवाको छुट्टै नीति र रणनीति बनाउन २०६६ सालमा एउटा कार्यदल बन्यो । कार्यदलले युवा नीति प्रस्तुत र पारित गर्यो । तर युवाको छुट्टै संस्था बनेन, युवा तथा खेलकुद मन्त्रालय मार्फत युवाको छुट्टै महाशाखा बन्यो । २०७० सालमा आएपछि युवानीति २०६६ को मर्म अनुरुप २०७२ मा अर्को कार्यदल बन्यो । उक्त कार्यदलले युवानीति २०७२ र १० बर्षे युथ भिजन २०२५ तयार गर्यो र सार्वजनिक गर्यो । सोही रणनीतिको आधारमा हामी काम गरिरहेका छौँ । त्यसैलाइ कार्यान्वयन गर्ने उद्देश्यका साथ युवा परिषद ऐन, युवा परिषद नियमावली र युवा परिषद ऐनको आधारमा नेपाल सरकारले युवा तथा खेलकुद मन्त्री यसको अध्यक्ष हुने, कार्यकारी उपाध्यक्ष मन्त्री परिषदले नियुक्त गर्ने, सरोकारवाला ८ वटा मन्त्रालयका सचिव सदस्य हुने, जसमा ५० प्रतिशत महिला सहितको समावेशी प्रतिनिधित्व हुने गरी २५ जना, परिषदको वरिष्ठतम कर्मचारी त्यसको सदस्य सचिव हुनेगरी ३६ सदस्यीय बोर्ड बन्यो । सात सदस्य कार्यकारी बोर्ड बन्यो । मन्त्री परिषदले उपाध्यक्षको मनोनयन गरेपछि परिषदले आफ्नो कामकोे यात्रा सुरु गर्यो ।

तपाई कार्यकारी उपाध्यक्ष भएपछि ४ बर्षमा युवा परिषदले वा नेपाली युवाले के पाए ?
राष्ट्रिय युवा परिषद एउटा छुट्टै संस्था बन्यो । संस्थाको लोगो, लेटरप्याड, कार्यालय युवाहरुको सम्पर्क केन्द्र बन्यो । त्यसका शाखा, विधि, प्रक्रिया, कार्यक्रमको योजना लगायत सबैकुरा सेटअप भयो । संस्थागत विकासको लागि कार्यालय र कामको यात्रा पुरा गर्यो ।

संस्थाले युवा संसदको अवधारणा अगाडि सार्यो जसले गर्दा हजारौ युवाहरु युवा संसदको माध्यमले एउटा ठाउँमा आइपुगे । उनीहरुलाई हामीले संविधान सिकाउने, कानून सिकाउने, सभ्यता सिकाउने, अनुशासन सिकाउने, नेपालमै बस्नुपर्छ भनेर प्रेरित गर्ने र उनीहरुलाई युवादूतको रुपमा परिचालन गर्ने काम गर्यौ । युवाका सूचना प्रवाह गर्ने, आम पब्लिकलाई अवार्ड गर्ने अभियानमा संलग्न गर्ने, भोलेन्टियर बनाएर परिचालन गरेर युवाको ठूलो पङ्ति परिचालन गरेको छ । इनोभेसनको क्षेत्रमा युवालाई क्रियाशिल गराउँदै आफंै प्रश्न सोध्ने र आफैं जवाफ दिने । मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको भूमिका के हुन् त्यो आफैं प्रयोग गर्ने । जस्ता काम गरेर दक्ष नेता निर्माण गर्ने काममा युवा परिषदले एउटा राम्रो प्रोगामिङको पार्टलाई अगाडी बढाइसकेको अवस्था छ ।

यस्ता गतिविधिहरु त युवा संस्थाहरुले अगाडि देखि नै गरिरहेका छन् नि ? यो त राजनीति वा सामाजिक संस्थाहरुले गरेक कामलाई अलिकति मोडिफाई न भयो । उद्यमशीलतामा युवाले के पायो ?
युवा परिषद्लाई सरकारले भरोषा गर्ने अवस्था बन्यो । संघसंस्थाले कार्यक्रम गर्दा एउटा स–सानो क्षेत्रमा एक दुई कार्यक्रम गर्ने कुरा हुन्थ्यो । जसले सबै युवा परिचालन गर्न सम्भव थिएन । सरकारले गर्दा तलदेखि माथिसम्म एउटै तहमा कमाण्ड गर्छ । उद्यमको क्षेत्रमा नेपाल सरकारले विभिन्न क्षेत्रबाट अनेक किसिमका कार्यक्रमहरु गरिरहेको थियो । कृषिमा काम गर्न कृषि मन्त्रालय, उद्योगमा काम गर्न उद्योग मन्त्रालय लगायत विभिन्न निकायहरु उद्यमकै लागि क्रियाशील थिए । तर युवा परिषदले आफ्नै मोडल मार्फत एक वडा १० उद्योगको कन्सेप्ट अगाडी सार्यौ । २७० निर्वाचन क्षेत्रमा एउटा–एउटा मोडल क्षेत्रको रुपमा हामीले अगाडी सार्यौ । यसो हुदाँ नेपाल सरकारले अनुदानको लागि भनेर दिएको पैसाले हामीले रिभोल्बिङ फण्ड बनायौँ ।  किनकी राज्यले दिनमात्र सक्दैन । दिएको रकम फर्कनु पनि पर्छ । तबमात्र त्यसले दिगो रुपमा निरन्तरता पाउन सक्छ । युवा उद्यम कार्यक्रम मार्फत आज झण्डै ५०० वटा उद्यम समूहलाई हामीले ५ लाखका दरले बिना धितो लोन प्रदान गरेका छौँ । त्यसबाट फर्किएपछि पहिलो बर्ष दिने, दोस्रो बर्ष १०, २०, ३०, ४० हुदैँ ५ बर्षभित्र त्यो लोन फिर्ता गर्ने पद्धति बसायौं । किनकी फर्किएको लोन लिन हाम्रो छेउमा अरु युवा तयार भैसकेका छन् । राज्य नाफा कमाउनको लागि बसेको होइन । फेरि नयाँ युवालाई त्यो अवसर दिनुपर्छ भन्ने कन्सेप्ट हामीले बिल्डप गर्यौ । त्यो आज नेपाल सरकारले सिंगो क्वाइन गरेको अवस्था छ ।

हाम्रा कार्यक्रमहरुलाई आवश्यकता महशुस गरी संस्थागत गर्नुपर्छ भन्ने कुरा सिंगो अर्थमन्त्रालयले स्वीकार गरेर ७ किसिमका कर्जा परियोजना घोषणा गरेको छ । हामीले शैक्षिक प्रमाणपत्र धितो राखेर सडकमा उठान गरेका युवाहरुका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले पहिलो बर्ष कार्यविधि बनाएर ४७ जना युवालाई मोडलको रुपमा सुरुवात गर्यौ । जसमा प्रत्येकलाई २–२ लाख प्रवाह गर्यौ । त्यो पनि रिभोल्भिङ फण्डकै रुपमा प्रयोग गर्यौ । सिंगो देशमा यस्तो मोडल अरुले दिनेमात्र होइन, हामीले त साँवा फिर्ता गर्नुपर्छ भन्ने कुरालाई हामीले सुरुवात गरेका छौँ । त्यो हुदाँखेरि यो कार्यक्रम पनि प्रमाणपत्रको आधारमा लोन भनेर अहिले बैकंहरु मार्फत सिंगो सरकारले ७ लाखसम्मको पैसा घोषणा गरेको अवस्था छ । जुन हाम्रो प्रयासको परिणाम हो । त्यसैगरी राष्ट्रपति युवा उद्यम महिला कार्यक्रम संचालित छ जुन मानव विकासको क्षेत्रमा सबैभन्दा पछि परेको क्षेत्र २ नम्बर प्रदेश र ५ नम्बर प्रदेशका ३ वटा जिल्ला नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई आधार बनाएर त्यहाँका चमार, सतार, डोम जस्ता परिवारका महिलाहरुमा केन्द्रित गरेर उद्यमशीलताको तालिम, उद्यम क्षेत्रको पहिचान, खाता सञ्चालन, समूह निर्माण र स्थानीय सरकारसँग समन्वय गरेर १८ वटा समूहमा कामको सुरुवात गर्यौ । त्यसैगरी दलित उद्यमशील व्यवसाय कर्जा १० लाख र अर्को महिला उद्यमशील व्यवसाय कर्जा १५ लाखसम्म समेत थालनी गर्यौ । विदेश गएका युवालाई नेपाल फर्काउने, नेपालभित्रै उद्यम गर्न लगाउने कामलाई मुख्य मानेर युवा उद्यमीले सिकेका सीप, विदेशमा सिकेको सीप, उनीहरुले गरेको कामको मिहिनेतको निरन्तरताको हिसाबले नेपालमा परिचालन गर्ने योजना बनायौं । उद्यमशील कर्जामा यो विषय पनि हामीले समेट्न लगायौँ । गतबर्ष असार २७ गतेबाट सभागृहमा एक भव्य कार्यक्रमका साथ अनलाइन फमबाट विदेशबाट फर्केर आएका युवाहरुको ग्राण्ड प्रोगाम गर्यौ र त्यहि कार्यक्रमको बेसमा एउटा संस्था बन्यो र त्यसैलाई एक्टिभ बनाएर आज ३० हजार रिटर्नीलाई संगठित गरेका छौँ हामीले । आज विदेशबाट फर्केर आउनेले सम्पर्क गर्ने ठाउँ हामीले स्थापना गरेका छौँ र त्यस रिटर्नीलाई एक  अरबसम्मको लोन एनएमबी बैकंले एलोकेट गर्ने गरी हामीले एग्रिमेन्ट समेत गरेका छौँ ।  नेपाल सरकारले रिकोजनाइज गरेर १० लाखसम्म लोन दिने कुराको एग्रिमेन्ट भएको छ । यो सबै काम लोन प्रवाह गर्नका लागि बैकंहरुलाई अहिले अर्थमन्त्रालयले पत्राचार गरेको छ । सरकारको प्रत्यक्ष रुपमा लोन दिदा युवामा सरकारको पैसा खाइदिनुपर्छ भन्ने मानसिकता बिकास भएकोले बैंक मार्फत दिने प्रबन्ध गरिएको हो । कार्यक्रममै बैंकका ब्रान्च म्यानेजरहरु, सिईओ ल्याएर उद्यम गर्न चाहने युवाहरुको अन्तवार्ता लिई सहज वातावरण बनाइदिने काम सात दिने तालिमको एउटा महत्वपूर्ण पाटो हो । त्यसैगरी हामीले परियोजना लेखन प्रतिस्पर्धा गराएका छौं । उद्यमका क्षेत्रमा राम्रो गर्नेहरुलाई प्रत्येक बर्ष १० जनाको दरले युवा मन्त्रालय मार्फत पुरस्कृत गर्ने गरेका छौँ ।

युवा परिषद आएपछि युवाका सबैजसो समस्याहरु समाधान हुन्छन् भन्ने एउटा आमधारणा थियो त्यो त अलि घटेको जस्तो छ नी ?
कसरी घट्यो ? परिषद युवाका कुनैपनि समस्याको समाधानका निमित्त पहल गर्ने संस्था हो । यसले सबै आफैले गर्न खोजे त कसरी सम्भव छ त ? उद्यम पनि आफैँ गर्ने, शिक्षा पनि, स्वास्थ्य पनि, रोजगार पनि आफैँ दिने, तालिम पनि आफैँ चलाउने हो भने यो संस्थाले थाम्न सक्ला ? सिंगो देशको सरकारका अरु निकायले के काम गर्छन् त ?

त्यसोभए युवा परिषदलाई समन्वयात्मक संस्थाको रुपमा बुझ्दा हुन्छ ?
एकदम मज्जाले । समन्वयात्मक संस्था नै हो । परिषदको अनलाईन फाराम खुल्ला छ । ५० जना युवाले हामीलाई काउन्सिलिङ चाहियो भनेपछि युवा जहाँ छन् त्यहिँ युवा परिषद जान्छ । मार्गदर्शनको रुपमा लिड गर्छ । कस्तो मार्गदर्शन हो भन्दा कन्फ्यूजनको । एसईई पास गरेर अब मलाई के पढ्ने भन्ने कुराको कन्फ्यूजन भयो भने उसलाई मार्गदर्शन गर्छ ।   त्यसबाहेक उद्यम गर्ने कि विदेश जाने भनेर कन्फ्यूजन हुदाँ पनि मार्गदर्शन गर्र्छ । काम गर्नको लागि सहजीकरण गरिदिने काम पनि यसले गर्छ । त्यसैगरी प्रत्येक युवाका हरेक समस्या बिसाउने ठाउँ कुनै सरकारी निकाय थियो र ? त्यो आज यहाँ छ । यसले जे सुकै समस्या होस समाधान गर्छ ।

युवा परिषद स्थापना हुनु अघि र तपाईले नेतृत्व गरेपछि युवा क्षेत्रमा परिषद्ले पारेका राष्ट्रिय र अन्तराष्ट्रिय प्रभावहरु के–के हुन् ?
युवा परिषदले गरेका काममा सूचना प्रवाहको हिसाबले युवा परिषद् नेपाल सरकारको उत्कृष्ट संस्था भएर नेपाल सरकारबाट पुरस्कृत भएको छ । वित्तिय प्रगति र भौतिक प्रगतिको हिसाबले जोड्नुहुन्छ भने नेपाल सरकारको ८० प्रतिशत माथि वित्तिय प्रगति र १०० प्रतिशत भौतिक प्रगति गर्ने संस्था पनि परिषद् नै हो । हामीले गरेको कामको परिणाम स्वरुप अन्तर्राष्ट्रिय अवार्ड समेत पाइसकेका छौँ । आम समाजमा युवा परिषद्ले गरेको काम पोजेटिभ भएर नै यो सफलता प्राप्त भएको हो । यो त जिरोबाट सुरु भएको संस्था हो । आज यसको कार्यालय छ, क्रियाशिलता छ, पर्याप्त कर्मचारी छन् । आफ्नै व्यवस्थित भवन छ । देशभरि यसको प्रभाव फैलिएको छ, यसले गर्ने कामको तलसम्म विस्तारै सम्प्रेषण हुदैँछ । ७५ जिल्लामा जिल्ला युवा समिति बनेको छ । संघीयता व्यवस्थापनको चरणमा युवा परिषद पनि पुग्दै छ । गाउँपालिकामा गाउँ विकास समिति बन्दैछ, नगरपालिकामा नगरविकास समिति बन्दैछ, वडावडामा युवा क्लब बन्दैछ, १२–१३ सय क्लब त बनि नै सके । युवा वैज्ञानिकको रुपमा पनि आज युवा परिषद् स्थापित छ । अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन पनि यसले गर्दैछ । सरकारको विश्वास पनि युवा परिषदले जितेको छ । आज विभिन्न संघसंस्था, एनजिओ, आइएनजिओ, राजनीतिक युवा विद्यार्थी र सरकारको अरु इकाइहरु पनि युवा परिषदसँग मिलेर काम गर्न इच्छुक छन् । शिक्षा मन्त्रालय पनि युवा परिषदसँग मिलेर काम गर्न चाहन्छ । कामको प्रभावकारिता युवा परिषदसँग जोडेर हुन्छ भन्ने कुरा चाहि युवा परिषदले स्थापित गरिसकेको छ । युवाको क्षेत्रमा काम गर्ने एउटा लिडिङ संस्थाको रुपमा यसले आफूलाई स्थापित गरेको छ ।

युवा परिषदको भावी योजना र कार्यक्रम के–के हुनेछन् ?
युवा परिषद्ले अहिले अगाडि सारेको कार्यक्रमको कार्यान्वयन मात्रै र त्यसको मात्रा मात्रै विकास गरियो भने अबको २० बर्ष युवा परिषद्का लागि एउटा सैद्धान्तिक बाटो चाहिँ यसले कोरिसकेको छ । केन्द्रमा युवा परिषद हुने, प्रदेशमा प्रदेश युवा परिषद हुने, जिल्लामा जिल्ला युुुुवा समन्वय समिति स्थापित गर्ने र स्थानीय तहमा गाउँ युवा समिति, नगरमा नगर युवा समित हुनेछ । यसले लाखौँ युवाको संजाल स्थापित गर्ने काम गर्छ । उद्यमीहरुलाई एक्टिभ बनाउने र उनीहरुलाई इन्स्पाइरिङ पर्सनको रुपमा हरेक नयाँ उद्यमीलाई प्रोत्साहन गरेर जाने एउटा कामको मात्रै हाम्रो संस्था गतिलो फोरम बनिसकेको छ । सुशासन, सामाजिक विभेद् विरुद्धका अभियानमा, परम्परागत सीपको संरक्षण अभियानमा, स्वास्थ्य सचेतनामा, खेलकुद सचेतनामा १० बर्षको समयमा युवाहरुलाई सँगै जोडेर लाने हो भने युवाहरुमा सकारात्मक उर्जाको आरम्भ हुन्छ । त्यसबाहेक अब बाध्यताबस विदेश जाने दिनको अन्त्य हुदैँछ । यहि सहजीकरणका लागि हामी अधिकतम प्रयास गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्