नेताहरु पढ्दैनन् भन्ने आरोप चिर्न पिएचडी गरेको हुँ : डा. बेदुराम भुसाल



२० भदौ २०७६, काठमाडौं

डा. बेदुराम भुसाल बाबु तिलकराम भुसाल र आमा धनिकला भुसालको कोखबाट २०११ असार १५ गते धञ्चौर–५, अर्घाखाँचीमा जन्मिएका हुन् । मार्क्सवादी दर्शनको विशेष अध्ययन र प्रशिक्षण सञ्चालनमा अनुभवी भुसालले त्रिभुवन विश्वविद्यालयबाट जनताको बहुदलिय जनवादको ऐतिहासिक विकासक्रम भन्ने विषयमा विद्यावारिधि समेत गरेका छन् ।

नेपाली, अंग्रेजी, हिन्दी र अवधी भाषामा पोख्त भुसाल नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि २०७५ जेठ ३ देखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी एवं स्थायी कमिटी सदस्य रहेका छन् । भर्खरै सम्पन्न नेकपा सचिवालय बैठकबाट पार्टी स्कूल विभाग उपप्रमुखको जिम्मेवारी पाएका भुसालसँग उनको बाल्यकाल, राजनीतिक जीवन र मार्क्सवादी दर्शनको बारेमा गरिएको विशेष कुराकानी :

तपाईको बाल्यकालबारे केही बताइदिनुहोस् न ?
मेरो बाल्यकाल सामान्य किसान परिवारमा मध्यपहाडी क्षेत्रको सामान्य गाउँमा भएको हो । आजभन्दा ६५ बर्ष अघिको नेपाली समाज अहिलेको जस्तो थिएन । त्यसै परिवेषमा मेरो बाल्यकाल बित्यो । म सानो छदाँ हाम्रो गाउँमा स्कूल थिएन । तर मेरो बुबा सहित अरु केहीले पढाउनुपर्छ भनेर हामीलाई पढाउन एउटा मान्छे राख्नुभयो । मैले आफ्नो पढाईको सुरुवात माटोमा लेखेर गरेको हुँ ।

तपाईको जीवनमा मार्क्सवादी दर्शन चाहीँ कसरी जोडिन पुग्यो ?
पहिले त म कम्युनिष्ट पार्टीमा लागे । गाउँमा बस्ने मुखियाले जनतालाई दुख दिन्थे । दुख पाउने मानिसमा हामी पनि पर्थ्यौ । त्यसैबिच मेरो दाजुले हाम्रो आफन्तकोमा बसेर पढ्ने मौका पाउनुभयो । त्यहि क्रममा मेरो दाई पार्टीको सम्पर्कमा जानुभयो । त्यसपछि दाईले हामीलाई पनि पार्टीका कुरा सिकाउन थाल्नुभयो । त्यस्तै एक कार्यकर्ता हाम्रो गाउँमा आउनुभएको थियो । उहाँले पनि कम्युनिष्ट पार्टीको बारेमा धेरै कुरा बताउनुभयो । त्यसपछि उहाँले हामीलाई पनि कम्युनिष्ट पार्टीमा भर्ती गराउनुभयो ।

कम्युनिष्ट पार्टीमा लागेको कति समयपछि मार्क्सवाद र कम्युनिजम बारे बुझ्नुभयो ?
कम्युनिष्ट पार्टीमा लाग्ने बित्तिकै सुरुमा मैले सामान्य क्रान्तिहरु बारे बुझे । त्यसपछि हामी संघर्षमा लाग्यौ । हामीले गाउँमा स्कूल खोल्नुपर्छ भन्ने कुरामा आन्दोलन गर्यौ । त्यस्तै त्यतिबेला गाउँका मुखियाहरुले सन्नीसर्पण जग्गा कब्जा गर्थे । त्यसलाई अन्त्य गर्ने भन्ने कुरामा पनि हामीले आन्दोलन गर्यौ । त्यसबाहेक गाउँमा सुकुम्बासीहरुलाई सार्वजनिक जग्गा दिलाइदिने आन्दोलन हामीले नै सुरु गर्यौ । यो २०२७–२८ सालतिरको कुरा हो । यहि क्रममा २०३० सालमा अर्घाखाँचीमा विशाल किसान जुलुसको आयोजना पार्टीले गरेको थियो । त्यो जुलुसमा म पनि अगुवाको रुपमा सहभागी थिए । त्यसपछि हामीमा अब सबै फटाहाहरुलाई सही ठाउँमा ल्याउन सकिन्छ भन्ने कुराको उत्साह जागेर आयो । सँगसँगै २०२९ सालमा पुष्पलालको नेतृत्वमा चौथो सम्मेलन सम्पन्न भएको थियो । त्यसले दिर्घकालीन कृषि क्रान्तिको तयारी गर्ने नीति पास गरेको थियो । त्यसपछि पञ्चायती सरकारलाई सिध्याउने योजना सहित काम सुरु गरियो । त्यसै क्रममा ३० सालमा अर्घाखाँचीका एक जमिनदारका विरुद्धमा हामीले एक्सन गरेका थियौँ । त्यो एक्सन ३ कामका लागि गरेका थियौँ । सबैभन्दा पहिले उसको घरबाट हतियार खोस्ने, काजपत्र जलाउने र नगद र सुनचादी कब्जा गर्ने । त्यसमध्ये २ वटा काम हामीले गर्यौ तर हतियार भने भेटिएन । त्यसबेला २०–२५ हजार नगद र ८–१० तोला सुन हामीले भेटेका थियौँ । हामीले उक्त रकमले बन्दुक पनि किन्यौ तर त्यसलाई सदुपयोग गर्न नपाउँदै पक्राउ पर्यौ । हामी १५ जनाको टिमले त्यो काम गरेका थियौँ र लगभग सबै पक्राउ परेका थियौँ । जेल परेपछि २ बर्षसम्म हामीलाई केही गर्न दिएनन् । हाम्रो परिवारलाई समेत भेट्न दिएका थिएनन् । २ बर्षपछि हामीले पढ्ने अनुमति पायौँ ।  म  आठ कक्षा पढ्दा पढ्दै पक्राउ परेको थिए । पढ्ने मौका पाएपछि अञ्चलाधिशले स्थानीय पुस्तकालयमा भएजति पुस्तक पढ्न पाउने आदेश दियो । त्यतिबेला एकजना शशी पन्थी नामका मित्रले हामीलाई चाहिने किताब किनेर ल्याइदिनु हुन्थ्यो । त्यतिबेला हामी निकै पढ्थ्यौ । जेलमा हामीलाई छुट्टै राखेको थियो । त्यसबेला किताब पढ्दै जादाँ मलाई दर्शनले आकर्षण गर्यो । जब यो विषयमा आकर्षित भए मैले आफूलाई यसै विषयमा केन्द्रित गर्न थाले । त्यहाँबाट नै म अगाडि बढे ।

कुन किताबबाट दर्शनबारे बुझ्नुभयो ?
ग्लिम्सेस अफ द वर्ल्ड हिष्ट्रि भन्ने किताब छ । त्यसमा दार्शनिक कुरा धेरै थिए । हाम्रो अनुरोधमा त्यो दाईले उक्त किताब ल्याइदिनुभएको थियो । त्यो किताब अंग्रेजीमा थियो । त्यसैले त्यसबेला मैले आफ्नो अंग्रेजी भाषा सुधार्ने मौका पनि पाए । १२०० पेजको किताब मैले पुरै पढेको थिए । मैले लेलिनको राज्य र क्रान्तिबारे पढेपछि दर्शनबारे धेरै कुरा बुझ्ने मौका पाए । त्यसबेला हामीले एसएलसी पास गरेपछि आईए, बिए पढ्न काठमाडौँ जान पाइन्छ भन्ने कुरा पनि बुझ्यौ । हामीले एसएलसी पास गर्ने निधो गर्यौ । हामीले काठमाडौँ आउनको लागि त्यो फैसला गरेका थियौँ ।  तर त्यससमय काठमाडौँमा आन्दोलन भईदियो । त्यसबेला सरकारले पहिले जति हामीलाई हेप्ने अवस्था भने थिएन । पछि जनमत संग्रहमा पञ्चायतलाई जिताए । त्यसपछि हामीलाई त्यहाँ राख्न नसक्ने भएर काठमाडौँ सरुवा गराइयो । त्यतिबेला हामीले एसएलसी दिइसकेका थियौँ तर रिजल्ट भने आइसकेको थिएन । रिजल्ट चाहि काठमाडौँ आएर नै सुनियो । काठमाडौँ जेलमा त अरु बन्दीहरु पनि पढ्दा रहेछन् । त्यसरी पढाइलाई अगाडि बढाइयो । त्यसबेला सैद्धान्तिक पढाईलाई हामीले थप प्राथमिकता दियौँ । हामी बसेको जेलमा राम्रो पुस्तकालय थियो । त्यसैले त्यतिबेला धेरै पढ्ने मौका पाइयो । पढ्ने क्रममा म दर्शनप्रति नै आकर्षित हुँदै गए ।

दर्शनबारे तपाईले के बुझ्नुभयो ?
एक शब्दमा भन्नुपर्दा दर्शन भनेको व्यक्तिको विश्व दृष्टिकोण हो । एउटा व्यक्तिले विश्वप्रति जुन धारणा राख्छ त्यो नै दर्शन हो । विश्वलाई हेर्ने, व्याख्या विश्लेषण गर्ने हरेक मानिसको तरिका हुन्छ त्यसैलाई नै दर्शन भन्ने गरिएको छ ।

दर्शन, विचार, सिद्धान्त निर्माणका आधारहरु के–के हुन् ?
यसको निर्माणको आधार त भौतिक परिस्थिति नै हो । यसको आधार व्यवहार पनि हो । व्यवहार गर्दै जादाँ मानिसले विश्वलाई बुझ्ने हो । सबैको बुझ्ने तरिका भने छुट्टै छ । विश्व दृष्टिकोणमा विशेषत मानिसको दुई खालको बुझाई रहेको पाइन्छ । एउटा चाहिँ यो विश्व कसले बनायो भन्ने धारणा छ । त्यो धारणा राख्दै जादाँ कुनै अलौकिक शक्तिको परिकल्पना गर्छ । अर्को चाहिँ यो कसरी बन्यो भन्ने धारणा रहेको छ । यसरी दर्शनबारे बुझ्न सकिन्छ । कसरी बनायो भन्नेले क्रिया खोज्दै जान्छ र कसले बनायो भन्नेले कर्ता खोज्छ । यसमा कसले बनायो भन्दा इश्वरले र कसरी बन्यो भन्दा भौतिक जगततर्फ जान्छ । यसरी भन्नुपर्दा दर्शन, विचार, सिद्धान्तका निर्माणका आधार भौतिक जगत नै हो ।

जेलबाट तपाई कहिले छुट्नुभयो ?
म २०४३ सालको जेठ महिनामा जेलबाट छुटेको हुँ ।

आठ कक्षा पढ्दै गर्दा जेल पर्नुभएको थियो, कतिसम्म पढेर तपाई जेलबाट छुट्नुभयो ?
मैले छुट्ने बेलामा एमए प्रथम बर्षको परीक्षा दिएको थिए । त्यसबेला मैले जेललाई नै स्कूल कलेजको रुपमा प्रयोग गरेको थिए भन्न सकिन्छ ।

पढ्नुपर्छ भन्ने कुरा तपाईमा कसरी विकास भयो ?
पढ्नुपर्छ भन्ने कुरा त कम्युनिष्ट पार्टीमा लाग्दा नै थाहा थियो । त्यसबाहेक मेरो दाई र म मा डेढ बर्षको अन्तर छ । दाईले चाहिँ पढ्ने अवसर पाउँदा मैले पाइन । त्यतिबेलै दाईले पढ्न पाउँदा मैले पाइन भन्ने लागेको थियो ।

तपाईले एमए र पिएचडी कहिले र कुन विषयमा सक्नुभयो ?
०४३ सालमा जेलबाट छुट्नेबित्तिकै भूमिगत भइयो । पछि २०४६ सालमा एमए गरे । मैले पिएचडी जनताको बहुदलिय जनवादको ऐतिहासिक विकासक्रम भन्ने विषयमा गरेको हुँ । विषयको हिसाबले हेर्दा यसलाई सैद्धान्तिक विषय मानिदो रहेछ । मैले पिएचडी गर्नुअघि नै दर्शनबारे एउटा पुस्तक लेखेको थिए । मैले सुरुमा पढ्दा आफूले पढेको विषय थाहा थिएन । पछि प्रशिक्षकहरुले बताएपछि मात्र थाहा पाए । सिद्धान्तको इतिहासको खोजी बिषयमा नेपालमा अहिलेसम्म कसैले गरेका रहेनछन् ।

पिएचडी गर्ने सोच कसरी आयो ?
राजनीतिक नेताहरुले अध्ययन गरेका छैनन् भनेर प्रचार गरिन्छ, त्यसले मलाई नकरात्मक प्रभाव पारेको थियो । यो चाहि आरोप जस्तो लाग्यो मलाई । त्यसैले यसको जवाफ दिउ भनेर मैले ४ बर्ष लगाएर पिएचडी गरे ।

पार्टी स्कूल विभाग उपप्रमुख भएपछि तपाईको भावी योजना के–के रहेका छन् ?
हामीले धेरै पहिलेदेखि नै पार्टी स्कूलको माध्यमबाट व्यवस्थित रुपले कक्षा सञ्चालन गर्ने प्रयास गर्दै आएका छौँ । खासगरी २०५१ सालपछि हामीले यो प्रयास गरिरहेका छौँ । हिजोका दुईटा भिन्न–भिन्न धारका पार्टीहरु आज एक भएको छ । दुई खालको स्कूल भएकाले पहिले त्यसलाई एकीकृत गर्नमा हामी लाग्छौँ । त्यसपछि व्यवस्थित पाठ्यक्रम बनाएर त्यसैको आधारमा कक्षाहरु सञ्चालन गर्नेछौँ । हामी प्रशिक्षक तयार गर्ने कामलाई अगाडी बढाउँछौँ । एउटा कार्ययोजना बनाएर त्यसै अनुरुप काम गर्नेछौँ ।

नेपालमा कम्युनिष्ट पार्टीका सदस्यहरु दिनदिनै बढ्दै गएका छन् तर कम्युनिष्ट आचरण चाहिँ स्वखलित हुदैँ गएको छ, यसमा तपाईको धारणा के छ ?
कम्युनिष्ट हुदाँ चाहि कस्तो हुनुपर्छ भन्ने बारेमा धेरै व्याख्या गर्न सकिएला । तर मुलत ३ कुरा चाहि हुनैपर्छ । माक्र्सवादलाई आधार मानेर हेर्दा श्रमजीवी वर्गको पक्षमा उभिनुपर्यो, समाजको सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने विषयमा अघि सर्नुपर्यो र सामाजिक न्यायको पक्षमा उभिनुपर्यो । कम्युनिष्ट पार्टीमा लागेको मान्छेले यति गर्न सक्नुपर्छ । समाजमा अनेक प्रकारका विभेद छन् । त्यसको अन्त्य गर्न हामी अघि बढ्नु जरुरी छ ।

मैले नेता र कार्यकर्ताको विचार भन्दा भिन्न खालको व्यवहार गर्ने पङ्ति देखिरहेको छु । मलाई चिन्ता लाग्ने विषय के हो भने पार्टीको एउटा पङ्ति बिचार अनुसारको ब्यवहार गर्नेछ र अर्काे पङ्ति बिचार अनुसारको ब्यवहार नगर्ने खालको छ । अघिल्लो पङ्ति भन्दा पछिल्लो पङ्तिको संख्या ठूलो छ । यो चाहिँ कम्युनिष्ट आन्दोलनका निम्ति निकै घातक छ । सोभियत संघ सिद्धान्त अनुसारको व्यवहार नगरेरै ढलेको हो । यसलाई रोक्न सकिएन भने नेपालको कम्युनिष्ट आन्दोलनलाई रोक्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्