२५ भदौ २०७६, काठमाडौं
बालाजु औद्योगिक क्षेत्र देशकै पहिलो औद्योगिक क्षेत्र हो । स्थापना कालदेखि अहिलेसम्म २९ जना प्रबन्धकहरुले सेवा गरिसकेका छन् । कानूनमा स्नात्तकोत्तर गरी ३० औं प्रबन्धक बनेका भोजराज बिनाडीसँग बालाजु औद्योगिक क्षेत्रको बारेमा गरिएको समसामयिक कुराकानी :
तपाई कहिलेदेखि बालाजु औद्योगिक क्षेत्रमा कार्यरत हुनुहुन्छ ?
म यो संस्थामा बि.सं. २०६० सालदेखि कार्यरत छु । यसभन्दा अघि निजामति सेवामा मैले करिब १२ बर्ष बिताए ।
कसरी निजामति सेवाबाट औद्योगिक क्षेत्रमा आउनुभयो ?
म विद्यार्थी उमेरमै निजामती सेवामा कार्यरत थिए पछि विज्ञापन खुलेकोले फ्रि कम्पिटिसनमार्फत औद्योगिक क्षेत्रमा आएको हुँ ।
निजामति छोडेर औद्योगिक क्षेत्रमा आउन केले प्रभाव पार्याे ?
उद्योगबाटै देशको आर्थिक अवस्था राम्रो बनाउन सकिन्छ भन्ने सोच आयो । अर्को कुरा विश्वमा जतिपनि देश विकसित भएका छन् उद्योग विस्तारको कारण नै विकसित भएका हुन् । त्यसकारण मैले पनि उद्योग क्षेत्रमा सेवा गर्नुपर्छ भनेर यता आएको हुँ ।
बालाजु औद्योगिक क्षेत्रको प्रमुख हुँदा तपाईको जिम्मेवारी के हो ?
औद्योगिक क्षेत्रको विस्तार गर्ने हाम्रो संस्थाको प्रमुख उद्देश्य हो । उद्योगको सेवा, उद्योगको टेवा भन्ने नारा नै हामीले सुरु गरेका छौँ । औद्योगिक क्षेत्रले उद्योगलाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरु निर्माण गरेर उद्योग सञ्चालन गर्नको लागि २४ सैं घण्टा सेवा दिने संस्था हो । म त्यही जिम्मेवारी पूरा गरिरहेको छु ।
अहिले बालाजु औद्योगिक क्षेत्रमा कतिवटा उद्योगहरु छन् ?
१४१ वटा उद्योगहरु मध्ये १३० वटा उद्योगहरु सञ्चालनमा छन् भने बाकीँ निर्माणाधीन अवस्थामा रहेका छन् ।
पहिले स्थापना भएर बन्द भएका उद्योगहरु पनि छन् कि ?
२ वटा उद्योगहरु बन्द अवस्थामा रहेका छन् । तर ती अब तत्काल सञ्चालनमा ल्याउन हामीले तयारी गरिरहेका छौँ ।
देशकै राजधानी भएको र सबैभन्दा पुरानो बालाजु औद्योगिक क्षेत्रको सडक र अन्य पूर्वाधार त खासै राम्रो रहेनछन् नी ?
बालाजु औद्योगिक क्षेत्र देशकै सबैभन्दा पुरानो औद्योगिक क्षेत्र हो । २०१६ सालमा तत्कालीन श्री ५ महेन्द्रबाट शिलालेख गरेर २०२० सालमा उहाँबाटै यसको समुद््घाटन भएर सञ्चालनमा आएको हो । यो करिब ६० बर्ष पुरानो औद्योगिक क्षेत्र भएकोले तत्कालिन समयमा निर्माण भएका भौतिक पूर्वाधारहरु यथावत रहेका छन् । हामीले सामान्य मर्मत सम्भार मात्रै गरेका छौं । आर्थिक अभावको कारण सडकहरु जिर्ण अवस्थामा रहेका छन् ।
बालाजु औद्योगिक क्षेत्रको आम्दानी अरु उद्योग विस्तारको क्षेत्रमा पनि खर्च हुन्छ र ?
हुन्छ, हामीले अहिले २ ठाउँको सडक निर्माणको लागि यस बर्षको बजेट विनियोजन भएको छ । त्यसको काम सुरु भैसकेको अवस्था छ । त्यो भएपछि अलिअलि सनसाइडको रोडहरु त्यति व्यवस्थित हुँदैनन् । जसलाई हामी अर्को बर्ष गर्नेछौँ ।
बालाजु औद्योगिक क्षेत्रको पृष्ठभूमि बताईदिनुस न ?
बालाजु औद्योगिक क्षेत्र देशैभरिको नमूना क्षेत्र हो । नेपालमा औद्योगिक क्षेत्रको अवधारणा यहि औद्योगिक क्षेत्रबाट सुरु भएको हो । बालाजु औद्योगिक क्षेत्रको स्थापना हुनुपूर्व नेपालमा औद्योगिक क्षेत्रको अवधारणा नै थिएन । उद्योगको स्थापना राणाकालीन समयदेखि नै भयो । तर संगठित रुपले, एकैठाउँमा उद्योग स्थापना गर्नुपर्छ भन्ने उद्देश्यका साथ स्थापना भएको यो औद्योगिक क्षेत्र वास्तवमा नमूना नै हो । अहिले समय अनुसार उद्योगको प्रवृति फरक भएको छ । त्यसकारणले गर्दा उद्योगको प्रकृतिको आधारमा नयाँ बिल्डिङ बनाउनै पर्छ भन्ने आवाज आईरहेको छ । नीतिगत रुपमा नेपाल सरकारले यसको निर्णय गरिदिनु जरुरी छ ।
अहिले नीतिगत कुरामा कस्तो समस्या रहेको छ ? तपाईको बिचारमा अब कस्तो नीति बन्नुपर्छ ?
हामी नीति परिवर्तन गर्न लागिरहेका छौं तर निर्णय भैसकेको अवस्था भने छैन । यसका लागि औद्योगिक क्षेत्र व्यवस्थापन सञ्चालन समितिले निर्णय गरी उद्योग मन्त्रालयमा पठाउनुपर्छ । उद्योग मन्त्रालयले नेपाल सरकार मन्त्री परिषद्बाट नीति स्वीकृत गर्नुपर्छ । त्यसपछि मात्र कानूनी रुपमा यो लागू हुने अवस्था हुन्छ । हामीले गर्नुपर्ने काम भने गरिसकेका छौँ । पुराना भवन हटाउन सम्बन्धित उद्योगलाई नै हस्तान्तरण गरीदिने र संचालित उद्योगले आफ्नो अनूकुलमै उद्योगमैत्री भवनहरु बनाउन सक्नेछन् । अहिले उद्योगमैत्री भवनहरु बनाउन पुराना भवनको कारण हामीले काम गर्न सकेका छैनौं । त्यसकारणले हामीले निर्णय गर्न सकेका छैनौ । नयाँ बिल्डिङ बनाउने कुरामा सरकारको लगानी रहदैन । पुराना बिल्डिङको कुरामात्र हो ।
भूकम्पले पनि पुराना बिल्डिङहरुलाइ धेरै क्षति पुर्याएको छ । यदि सरकारले नीतिगत निर्णय गरेमा भवनहरु सम्बन्धित उद्योगले नै निर्माण गर्नेछन् । भूकम्पका कारण चिराचिरा भएका भवनहरु समेत नीतिगत समस्याले पुननिर्माण गर्न सकिएको छैन ।
भौतिक पुर्वाधारमा संघीय सरकारले सहयोय गर्ने कुरा के–के छन् ?
अहिले उद्योगलाई दिएको भाडा अति नै सस्तो छ । नीतिगत समस्याको कारण भाडा वृद्धि गर्न सकिएको छैन । भाडा बृद्धि गर्न पाए त्यहीबाट हामीले भौतिक पूर्वाधारहरु बनाउन सक्ने अवस्था रहन्छ ।
भाडा बृद्धिदरको निर्णय पनि क्याबिनेटले नै गर्नुपर्ने हो ?
होइन । बोर्डले गर्ने हो । निर्णय पनि भईसकेको छ तर त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन । मन्त्रालयले त्यो निर्णय कार्यान्वयन गर्ने आदेश नदिएकोले कार्यान्वयन हुन सकेको छैन । यी भौतिक पूर्वाधार यसपटक सबैको बजेट विनियोजन हुने गरीकन कम्तिमा पनि २–४ बर्षलाई भौतिक पूर्वाधार बनाइदिने भन्ने हिसाबले भाडा वृद्धि लगभग गरिएको अवस्था थियो । तर त्यो माथिबाट आदेश नपाएपछि कार्यान्वयन भएन । त्यो निर्णयको सम्बन्धमा पुनरावलोकन मन्त्रालयले गरिरहेको छ ।