०२ असोज २०७६, काठमाडौं
कतारको चर्चित पत्रिका गल्फ टाइम्सले ‘नेपाल भ्रमण वर्ष’को समाचार प्राथमिकताकासाथ लेखेको छ।
पत्रिकाले १९ अगस्टको अंकमा प्रकाशित समाचारमा ‘नेपाल भ्रमण वर्ष’का लागि चार पृष्ठ लामो समाचार लेखेको हो।
संस्कृति पर्यटनमन्त्री तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको अन्तरवार्तासहित छापिएको समाचारको हेडलाइन ‘नेपाल आउनुस्’राखिएको छ।
टाइम्सकी पत्रकार उषा वाग्ले गौतमको बाइलाइनबाट प्रकाशित उक्त समाचार गल्फ टाइम्सको कम्युनिटी सप्लिमेन्टमा प्रकाशित भएको हो।
अन्तरवार्तामा भट्टराईले अरबी र खासगरी कतारी पर्यटकहरुलाई लक्षित गरेर नेपाली पर्यटनको प्रचार गरेका छन्। ‘हामीसँग हलाल प्रमाणित धेरै होटल तथा रेष्टुराँहरु छन्’ उनले भनेका छन्। नेपालमा पाँच प्रतिशत जनसंख्या मुस्लिम छ। नेपाल भ्रमणमा पनि धेरै मुस्लिमहरु आउने गर्छन्। हामी उनीहरुको संस्कार, खाना र परिकारमा सचेत छौं।’
‘नेपालमा ४० डिग्री तापक्रम रहेको स्थानबाट आधा घन्टाको उडानमा शून्यभन्दा थोरै तापक्रम भएको स्थानमा पुगिन्छ। राजधानीबाट १५ मिनेटको उडानमा जंगल सफारी गर्ने ठाउँदेखि गैंडा भएको निकुञ्जसम्म पुगिन्छ।’ उनले थपेका छन्।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन थप आगन्तुकहरु ल्याउन नेपालमा पूर्वाधार विकास भइरहेको बताएका मन्त्रीले भनेका छन्, ‘हामी गौतम बुद्ध, पोखरा र निजगढ नामका एयरपोर्टहरु निर्माण गर्दैछौँ भने आन्तरिक विमानस्थलको क्षमता अभिबृद्धिका कामहरु पनि गर्दैछौं।’
‘लक्ष्य’ पर्यटकः
कतारको जनसंख्या करिब २७ लाख छ।
जसमध्ये कतारी नागरिक करिब साढे तीन लाख छन् भने बाँकी आप्रवासी कामदारहरु रहेका छन्।
कतार विश्वको सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश हो। कतारको नेशनल ट्यूरिजम काउन्सिलका अनुसार सन् २०१८ मा कतारमा १८ लाख १९ हजार पर्यटकहरु भित्रिएका थिए।
कतारको एयरलाइन्स कम्पनी कतार एयरवेजले ८७ देशका १६० भन्दा धेरै गन्तव्यमा उडान भर्छ। कतारको एक्लो अन्तराष्ट्रिय विमानस्थल हमाद विमानस्थलबाट सन् २०१८ मा ३ करोड ४५ लाख यात्रुले यात्रा गरेका थिए।
कतार आवागमन गर्ने यो जनसंख्यालाई नेपाली पर्यटनको सामान्य जानकारी मात्रै पुगेमा पनि नेपाललाई धेरै फाइदा पुग्ने टाइम्सकी पत्रकार उषा वाग्ले लेख्छिन्।
‘गल्फ टाइम्सका प्रकाशित समाचारले कतारका जनता र त्यहाँ आउने पर्यटकहरुमाझ नेपालबारेको सूचना पुर्याउने छ।