०५ असोज २०७६, काठमाडौं
दर्शन भनेको मानिसको विश्व दृष्टिकोण हो । विश्व दृष्टिकोण भनेको विश्वप्रतिको दृष्टिकोण हो । विश्वलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । दर्शनलाई विभिन्न दार्शनिकहरुले विभिन्न ढङ्गले परिभाषा गरेको पाइन्छ । प्राचीन युनानी दार्शनिक प्ल्याटोले दर्शन ‘सत्य सम्बन्धी दृष्टिकोण हो’ भनेका छन् । त्यसैगरी प्राचीन कालको पूर्वीय विद्वानहरुले दर्शनलाई आन्वीक्षकी भन्दथे र आन्वीक्षकीलाई चार द्यिामध्ये एक मान्दथे । त्यसैगरी ईसाको चौँधौ शताब्दीतिरका माधवाचार्य नाम गरेका दार्शनिकले चाहिँ दर्शन त्यस्तो ज्ञान हो जसबाट अतिसुक्ष्म रुपमा रहेका वा धेरै टाढा रहेका अथवा अन्य वस्तुमा घुसेर रहेका भएपनि आँखाले देख्न सकिने, छुन सकिने, चाखेर थाहा पाउन सकिने र सुँघेर पनि थाहा पाउन सकिने खालका वस्तुहरुको बोध हुन्छ भनेका थिए ।
त्यसैगरी पछिल्लो कालका भारतका एकजना प्रसिद्ध दार्शनिक एवम् राजनीतिज्ञ राधाकृष्णनले दर्शन जगतको विषय बोध गर्ने मानव प्रयाश हो भनेका थिए । उनले इन्डियन फिलोसोपी भन्ने धेरै राम्रो किताब लेखेका छन् । त्यसैगरी एकजना हिरियन्ना भन्ने विद्वान छन्, उनले पूर्वीय दर्शन र पाश्चात्य दर्शन दुवैको राम्रो अध्ययन गरेका छन् । उनले दर्शन शास्त्र चिन्तन पद्धति मात्र नभएर जीवन पद्धति पनि हो भनेका छन् । दर्शन भनेको जीवनसँग गासिँएको विषय हो भन्ने उनको भनाई छ । त्यसैगरी अर्को एकजना बेलायती दर्शनशास्त्री छन्, मरिस कन्फोर्थ । उनले दर्शन हाम्रो विश्व दृष्टिकोण हो, विश्व र मानव तथा विश्वमा मानवको स्थानबारे बुझ्ने प्रयास हो भनेका छन् ।
विश्व दृष्टिकोण भनेको त्यस्तो दृष्टिकोण हो जसले विश्वमा मानव र मानवको स्थान के छ भन्ने बारेमा बुझाउँछ । त्यस्तो शास्त्र हो दर्शन भनेर उनले भनेका छन् । त्यसैगरी १७ औँ १८ औँ शताब्दीका एकजना प्रसिद्ध विद्वान हेगेलले दर्शन सत्यसम्बन्धी वस्तुवादी विज्ञान हो भनेर भनेका थिए । यसबाट दर्शन विज्ञान पनि हो भन्ने कुरा बुझिन्छ । त्यसैगरी कार्ल माक्र्स, जसले आफ्नो साथीसँग मिलेर माक्र्सवादी दर्शनको प्रतिपादन गरेका थिए । उनले दर्शनलाई संस्कृतिको अजीव आत्मा हो भनेका छन् । साथसाथै हरेक सच्चा दर्शन आफ्नो युगको उच्चतम बौद्धिक सारतत्व हो भनेर पनि उनले भनेका छन् । उनको यो भनाईबाट दर्शन समकालीन समाजको बौद्धिक सार तत्व हो र त्यो उच्चतम सार तत्व हो भन्ने बुझिन्छ । यसरी विभिन्न दार्शनिकहरुले दर्शनलाई विभिन्न ढङ्गले परिभाषित गरेको पाइन्छ । तर सबैको परिभाषालाई एक ठाउँमा ल्याएर हेर्ने हो भने दर्शन भनेको मानिसको विश्व दृष्टिकोण हो भन्ने निष्कर्ष निस्कन्छ । हाम्रा वरिपरिको जगतलाई हामीले कसरी हेर्छौ, कसरी विश्लेषण गर्छौ भन्ने कुरा जुन शास्त्रले हामीलाई सिकाउँछ त्यो नै दर्शन हो । यस्तै अर्को हिसाबले भन्ने हो भने हामी जुन जगतमा बस्छौं यहाँ प्रकृति छ, प्रकृतिमा जीवनको विकास भएको छ र जीवनले समाजको निर्माण गरेको छ । मानव जातिले समाजको निर्माण गरेका छ र समाजमा रहेर मान्छेले चिन्तन, चेतना र विभिन्न खालका विचार, सिद्धान्त, दर्शनहरुको प्रतिपादन गरेको छ । यी सबैको बारेमा अध्ययन गराउने शास्त्र नै दर्शनशास्त्र हो ।