वृद्धलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएपछि…



०६ असोज २०७६, काठमाडौं

भारतको पञ्चकूलास्थित एक अस्पतालमा ५९ वर्षीय वृद्ध राम मेहरलाई एमआरआइ मेसिनमा राखेर प्राविधिकले बिर्सिएको घटना सार्वजनिक भएको छ।

उनलाई मेसिनभित्र छोडेर प्राविधिक एकातिर हिँडेपछि रोगीले निकै हात पाउ चलाए र पेटी बाँधेको हुँदा उनले हलचल गर्न सकेनन्। ज्यानै जान्छ भन्ने लागेपछि उनले निकै बल लगाए अनि पेटी चुँडियो र उनी मेसिनबाट बाहिर निस्किए।

पीडितले कर्मचारीहरूबाट गम्भीर लापरवाही भएको भन्दै प्रहरी चौकीमा उजुरी दिएका छन्। उजुरीमा उनले आफू ३० सेकेन्ड अझै बाहिर ननिस्केको भए मर्ने कुरा उल्लेख गरे।

सेन्टर इन्चार्ज अमित खोखरले भने रोगी आफैं समयअगावै मेसिनबाट बाहिर निस्किएको बताए।

‘मैले प्राविधिकसँग कुरा गरें। रोगीलाई २० मिनेटको स्क्यान गर्नुपर्ने थियो। प्राविधिकले अन्तिम तीन मिनेटको सिक्वेन्स लिनुपर्ने थियो र अन्तिमको दुई मिनट बाँकी थियो। रोगी यसक्रममा निकै आत्तिए र हल्लिन थाले। उनलाई हल्लिन मनाही गरिएको थियो। एक मिनट बाँकी रहँदा प्राविधिकले रोगी आधी जति बाहिर आएको देखे। अनि प्राविधिकले नै रोगीलाई बाहिर निकाले।’

अहिले उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्