०७ असोज २०७६, काठमाडौँ
आजभोली नेपाली चलचित्रका नायिकाहरुमा पहिलेका नायिकाहरुको जस्तो जीवन्त अभिनय देखिदैन । हुन पनि आजभोली टेक्नोलोजी निकै अघि बढिसकेको छ । जसका कारण चलचित्रमा नायिकालाई अभिनय गर्न त्यति गाह्रो छैन ।
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा नायिकाहरु आफ्नो अभिनयका कारण भन्दापनि स्टारडमको कारण चर्चामा रहने गरेका छन् । कलाकारको स्टारडमको आधारमा निर्माता निर्देशक उनीहरुमाथि लाखौँ खर्च गर्न तत्पर रहन्छन् ।
हाल रजतपटमा आफ्नो काँधमा बोक्नसक्ने त्यस्ता हिरोइन देखिँदैन । जसले निर्माताले गरेको लगानीको ग्यारेन्टी गरुन् । मुश्किलले दर्जन हिरोइनको सूची तयार गर्न सकिन्छ । तर, त्यस्तो नाम छैन जसको नामैले दर्शक हलसम्म तानियोस् । वर्षा शिवाकोटी, वर्षा राउत, नम्रता सापकोटा, नीता ढुंगाना, ऋचा शर्मा, रिमा विश्वकर्मा लगायतका हिरोइनहरु पर्दामा छाइरहे पनि जादु भने देखाउन सकेका छैनन् । केही हदसम्म साम्राज्ञी राज्यलक्ष्मी शाहले दर्शकलाई आश जगाउने सम्म बनाउन सफल भएकी छिन् । तर, कथाले तानेर फिल्म गरेको दावी गर्ने साम्राज्ञीको अभिनयको जादु फिल्म ‘मारुनी’मा देखिएन । विवादमा आउन रुचाउने पूजा शर्माको पनि पारिश्रकिको चर्चा धेरै हुन्छ अभिनयको कमै हुन्छ ।
फिल्मलाई काँधमा राखेर हिड्न नसक्ने आरोपबाट प्रियंका कार्की पनि अछुतो रहन सकिनन् । उनी हुलमुलको फिल्मकी हिट हिरोइनको रुपमा स्थापित भइन् ।
कतिपय नायिकाहरु म्यूजिक भिडियो र विज्ञापनमै पनि रमाइरहेका छन् । आजभोली अभिनेत्रीहरु आफ्नो अभियनमा निखारता ल्याउनको सट्टा पारिश्रमिक बढाउने कुरामा बढी जोड दिन थालेका छन् । यदि यस्तै भैरहने हो भने एउटा नायिकाका कारण हलमा दर्शकले फिल्म हेर्न जाने जागँर चलाउन पक्कै छोडछन् ।