परराष्ट्रमन्त्री ज्ञवाली र ट्रम्पबीच भेटवार्ता



०८ असोज २०७६, काठमाडौं

संयुक्त राष्ट्रसंघको ७४औं महासभा बैठकमा सहभागी हुन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच संक्षिप्त भेटवार्ता भएको छ।

राष्ट्रसंघको महासभा बैठकका अवसरमा ट्रम्पले न्यूयोर्कस्थित लोट्टे प्यालेस होटलमा मंगलबार आयोजना गरेका रात्रिभोजमा मन्त्री ज्ञवालीले उनीसँग संक्षिप्त भेट गरेका हुन्।

विश्वका १९० भन्दा बढी देशका राष्टप्रमुख तथा राष्टसंघीय महासभा डेलिगेसन प्रमुखको स्वागतमा ट्रम्पले दिएको रात्रिभोजमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले सहभागिता जनाएका हुन्।

त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको स्थितिबारे जिज्ञासा राखेका थिए। साथै आपसी सहयोग र सहकार्यका विषयमा पनि कुरा राखेको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन्।

महासभा बैठकमा नेपालले शुक्रबार आफ्नो धारणा राख्दै छ।

महासभामा सहस्राब्दी विकास लक्ष्यका बारेमा पनि निर्धारित र योजनाबीचको तालमेल तथा स्रोत–लगानीको आवश्यकताबारे विशेष सहस्राब्दी लक्ष्य बैठक मंगलबार सुरु भएको छ।

यसमा सन् २०३० लागि निर्धारित सहस्राब्दी लक्ष्य र प्रगती विवरणबारे छलफल भइरहेको छ। सहस्राब्दी लक्ष्यका प्रमुख १७ वटा क्षेत्रहरु स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धि, वातावरण, लैगिंक समानताजस्ता विषयमा थप स्रोत र लगानीको आवश्यकता रहेका बारे आफूले महासभा बैठकमा जानकारी गराएको परराष्ट्र मन्त्री ज्ञवालीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्