दर्शनको प्रारम्भ कसरी भयो ? (दर्शन परिचर्चा भाग–२)



०८ असोज २०७६, काठमाडौं

दर्शनको प्रारम्भ कसरी भयो भन्ने विषय दर्शन अध्ययनको सन्दर्भमा एउटा असाध्यै महत्वपूर्ण विषय हो । दर्शनको इतिहासको अध्ययन गर्दाखेरि दर्शनको प्रारम्भ मानव समाजको विकास सँगसँगै भएको देखिन्छ । मानव समाजको विकासतर्फ हामीले दृष्टि लगायौँ भने करिब १० हजारदेखि १५ हजार बर्ष भयो भन्ने ऐतिहासिक तथ्यहरुले देखाउँछन् । किनभने जब मानिसहरुले खेतीपाति गरेर, पशुपालन गरेर बस्ती बनाएर बस्न थाल्छन् तबदेखि समाज प्रारम्भ हुन्छ । अहिलेसम्म पाईएका तथ्यहरुले मान्छेले उत्पादन गरेको खेती या अन्न आजभन्दा १३ हजार बर्ष पुरानोसम्म प्राप्त भएको छ । त्यसका अवशेषहरु प्राप्त भएका छन् । त्यसका आधारमा करिब १३ हजार बर्ष अघिदेखि समाज बन्न थाल्यो भनेर भन्ने गरिन्छ । जतिबेला समाज प्रारम्भ भयो त्यतिबेलै दर्शनको प्रारम्भ भएको देखिदैन ।

मानिसले जतिबेला उत्पादनका काममा आफूलाई संलग्न गरायो त्यतिबेलै उसले पढ्ने, लेख्ने, चिन्तन गर्ने क्षमताको विकास गरेको थिएन । मानव सिर्जित साहित्यको इतिहासलाई हेर्दा आजभन्दा करिब ५ हजार बर्ष पहिले सुरु भएको देखिन्छ । त्यस्तै समाजको विकाससँगै चिन्तनको विकास भएको र चिन्तनको विकासको क्रममा दर्शनको विकास भएको हो र दर्शनको विकास खासगरी जीवन र जगतप्रतिको मान्छेको जिज्ञासाबाट सुरु भएको देखिन्छ । दर्शनको इतिहासको खोजी गर्दै जादाँखेरि प्रारम्भमा २ खालका तर्कहरु प्रकट भएको पाइन्छ । एउटा तर्क यो संसार कसले बनायो ? भन्ने प्रश्नसँग जोडिएको तर्क छ । अर्को तर्क यो संसार कसरी बन्यो भन्ने तर्क छ । जसले यो संसार कसले बनायो भन्ने प्रश्नको उत्तर खोज्छ त्यो कर्ताको खोजीमा जान्छ, त्यसले कर्ता खोज्छ । यसलाई कर्तावादी चिन्तन भनिन्छ । कर्ता खोज्दै जादाँ कुनै अलौकिक शक्ति छ भन्ने टुङ्गो गर्छ । किनकी यो पृथ्वीमा त्यस्तो जगत सिर्जना गर्ने शक्ति फेला पर्दैन । त्यो फेला नपरिसकेपछि त्यो कसले बनायो भन्ने जुन प्रश्नको उत्तर खोजिन्छ त्यहाँ कुनै अलौकिक शक्ति छ होला भन्ने निष्कर्ष निस्कन्छ । अर्को धारा भनेको यो संसार कसरी बन्यो भन्ने छ । यसले कारण खोज्छ । के कारणले सृष्टि भयो भनेर यसले खोज्छ । त्यो कारण खोज्दै जादाँ विभिन्न खालका कारणहरु, खासगरी भौतिक कारणहरु निर्धारण गर्दै जान्छ ।

यसरी दर्शनका २ वटा धाराहरु जन्मन्छन् । अब यो कहिलेबाट भयो भन्ने हिसाबले हेर्दै जादाँ विभिन्न विद्वानहरुले विभिन्न खालका तर्क गरेका छन् । एकजना रुसी विद्वानले इसापूर्व तेस्रो सहश्राब्दीको अन्त्यतिर र दोस्रो सहश्राब्दीको प्रारम्भतिर इजिप्ट र बेबीलोनमा पानीलाई सृष्टिको आधार मान्ने चिन्तन प्रकट भएको थियो भनेका छन् । त्यहिँबाट दर्शन प्रारम्भ भो भनिन्छ । तर उनको यो अध्ययनमा यता पूर्वको वैद्धिक साहित्यको इतिहासलाई समेटिएको देखिदैन । किनकी यताको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा सृष्टिका बारेमा ८ प्रकारका मान्यताहरु रहेका छन् । एउटा मान्यता सूर्य र पृथ्वीको समागमबाट सृष्टि भएको हो भन्ने मान्यता छ, अर्को मान्यता पानीबाट सृष्टि भएको भन्ने छ, अर्को आगोबाट सृष्टि भएको छ भन्ने छ । त्यसैगरी अर्को भनेको मूल तहबाट सृष्टि भएको हो भन्ने मान्यता छ, अर्को असत् बाट सत् प्रकट भएको भन्ने छ । त्यस्तै अर्को भनेको प्रजापति र उषाको समागमबाट सृष्टि भएको भन्ने छ । अर्को विश्वकर्मादेवले सृष्टि गरेका हुन् भन्ने मान्यता छ र विराट पुरुषबाट सृष्टि भएको भन्ने छ । यति ८ प्रकारका मान्यताहरु ऋग्वेदमा हामीले पाउँछौँ । यसलाई बेबिलोन र इजिप्टमा पानीलाई सृष्टिको आधार मान्ने चिन्तन प्रकट भएको हो भन्नेसँग तुलना गरेर हेरियो भने यो ऋग्वेदका मान्यताहरु अगाडीका हुन् भन्ने देखिन्छ । त्यसकारण ऋग्वेदको रचनाकाल आजभन्दा ५ हजार बर्ष पहिले हो भन्ने अहिले मोटामोटी निष्कर्ष छ । त्यतिबेलादेखि नै सृष्टि चिन्तनहरु प्रकट भएका छन् र तिनै सृष्टि चिन्तनका आधारमा पछि क्रमशः दर्शनको विकास भएको देखिन्छ ।

इसापूर्व प्रथम सहश्राब्दीमा खासगरी ३ क्षेत्रमा दक्षिण एसियाली क्षेत्रमा, यूनान वा ग्रिक र चिनमा विभिन्न दार्शनिक प्रणालीको विकास भएको देखिन्छ । दक्षिण एसियाली क्षेत्रमा शांख्य दर्शन, बौद्ध दर्शन, जैन दर्शन, लोकायत दर्शन, वैशेषिक दर्शन, मीमांशा दर्शन, योग दर्शन, न्याय दर्शन, वेदान्त दर्शनलगायतका दार्शनिक धाराहरु व्यवस्थित दर्शनको रुपमा विकसित भएको पाइन्छ । त्यसै समयमा चीनमा ताओवादी दर्शन र कन्फुसियसको दर्शन विकास भएका थिए भने युनानको उपनिवेस आयोनियामा थेल्स, अनेक्सिमेण्डर, अनेक्सिमेन्स आदिले प्रकृतिवादी दार्शनिक चिन्तन प्रस्तुत गरेका थिए । यसरी हेर्दा संसार कसरी बन्यो र कसले बनायो भन्ने तर्कबाट सुरु भएर विभिन्न खालका प्रणालीको रुपमा दर्शनको विकास भएको पाइन्छ र अवधिको हिसाबले हेर्दा इसवि.सम्वत सुरु हुनुभन्दा केही अगाडीकै समयमा विभिन्न खालका दार्शनिक प्रणालीहरुको विकास भएको पाइन्छ । हाम्रो पूर्वमा दर्शनको विकासको क्रममा बनेको एउटा भनाइ निकै प्रख्यात छ तर्क वितर्क गर्दै जादाँ तत्वबोध हुन्छ । यसरी नै दर्शनको विकास भएको छ ।

यो पनि पढ्नुहोस्

दर्शन के हो ? (दर्शन परिचर्चा भाग–१)

प्रतिक्रिया दिनुहोस्