०८ असोज २०७६, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जागरण अभियान अन्तर्गत मंगलबार नारायणगढ पुलचोकमा आयोजित सरकार विरोधी सभामा उर्दी जारी गरेरै विद्यालयका विद्यार्थीहरुलाई जुलुसमा लगेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सम्वोधन गर्ने कार्यक्रममा चितवनमा रहेको प्रेरणा स्कूलका विद्यार्थीलाई कांग्रेसले पार्टीको झण्डा बोकाएर प्रयोग गरेको हो ।
बालअधिकारकर्मी तिलोत्तम पौडेल भन्छन्, ‘बालबालिका राष्ट्रिय नीति २०६९ अनुसार कुनै पनि राजनीतिक पार्टीले बालबालिकालाई राजनीतिक गतिविधिमा सहभागी गराउन पाउँदैनन् । काँग्रेसको चितवन कार्यक्रम र नेमकिपाको कार्यक्रममा बालबालिकाको प्रयोग हुनु दुखद् घटना हो । सरकारले नीति उलंघनकर्तालाई कानुन बमोजिम तत्काल कारवाही गर्नुपर्छ ।’