ट्रम्पविरुद्ध महाभियोगः टेलिफोनको विस्तृत विवरण लुकाउन खोजियो



१० असोज २०७६ काठमाडौं

ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको छ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपतिविरूद्ध दिइएको उजुरीमा उक्त कुरा उल्लेख छ। जसअनुसार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई आफ्ना घरेलु राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न दबाव दिएका थिए।

सार्वजनिक गरिएको पछिल्लो उजुरीमा भनिएको छ, फोन संवादको प्रतिलिपि नियमित कम्प्युटर प्रणालीमा राखिएको थिएन।

त्यसको साटो विशेष प्रकारको सूचनाको निम्ति प्रयोग हुने अलग्गै कम्प्युटर प्रणालीमा त्यो राखिएको उजुरीमा उल्लेख छ।

ट्रम्पको स्वीकारः

अमेरिकी तल्लो सदनकी डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको औपचारिक अनुसन्धान पार्टीले अघि बढाएको घोषणा मंगलबार गरेकी थिइन्।

उनले ट्रम्पमाथि जो बाइडनको छवि धमिल्याउन विदेशी सहयोग खोजेको आरोप लगाएकी छन्। बाइडन सन् २०२० मा हुन लागेको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने दौडको अग्रपतिंमा छन्।

ट्रम्पले त्यसो गराउन युक्रेनलाई अमेरिकाले दिने सैन्य सहायतालाई अस्त्र बनाएको पेलोसीको आरोप छ। ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग फोनमा कुरा गर्नुअघि सैन्य सहायता आफूले रोकेको स्वीकार गरेका छन्।

कारण मागः

तर बाइडनविरुद्धको अनुसन्धानको निम्ति युक्रनलाई दबाव दिन त्यसो नगरेको उनको भनाइ छ।

अमेरिकी तल्लो सदनका सदस्यहरूले त्यो उजुरी हप्तौसम्म आफूहरूसम्म पुग्न नदिनुको कारणबारे देशका सबैभन्दा उच्च गुप्तचर अधिकारीसँग सोधेपुछ गरेका छन्।

नेशनल इन्टेलिजेन्सका कार्यवाहक निर्देशक जोजेफ मग्वाएरले समितिसमक्ष भने, राष्ट्रपतिविरुद्धको उजुरी भए पनि कानुनअनुसार मैले सबभन्दा पहिले ह्वाइट हाउसलाई जानकारी गराउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्